त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया बालिका कृशला चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सप्तरी, सुरुङ्गा नगरपालिका–१ का २७ वर्षीय उचितलाल सदा र सोही ठाउँका २३ वर्षीय विषे सदालाई साउन ३१ गते गिरफ्तार गरी ३२ गते सार्वजनिक गरेको छ ।
१६ वर्षीया कृशला चौधरी साउन १३ गतेदेखि बेपत्ता भएको अवस्थामा कृशलाको शव साउन १९ गते त्रियुगा नगरपालिका–६ स्थित राजदेवी सामुदायिक वन क्षेत्रको खहरे खोलामा सडिएको अवस्थामा फेला परेको थियो ।
साउन १९ गते घाँस दाउरा लिन सामुदायिक वनमा पुगेका स्थानीयले सडिएको अवस्थामा शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।
शव सडिएको अवस्थामा भएकाले प्रहरीले खनाखत गर्न सकेको थिएन । साउन २० गते कृशलाका बाबु ४४ वर्षीय प्रेमकुमार चौधरीले जिल्ला प्रहरी कार्यालयमा छोरी हराएको भन्दै निवेदन दिएपछि प्रहरीले प्रेमकुमार चौधरीलाई साउन २० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) को पोष्टमार्टम गृहमा राखिएको शव देखाएको थियो ।
प्रेमकुमार चौधरीले छोरीले देब्रे हातमा लगाएको डिजिटल घडी, घाँटीको मालाको बुटि, गोडाको डोरी, चप्पल र कपडाको टुक्राबाट साउन २० गते शवको पहिचान गरी सनाखत गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहराले बताउनु भयो । अनुसन्धानका क्रममा कृशलाले प्रयोग गरेको मोवाइल नम्बरका आधारमा आरोपितद्वयलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
आरोपित मध्येका उचितलालले कृशला र आफ्नी पत्नी साथीसाथी भएको र कृशलाले आफ्ना बारेमा पत्नीलाई गलत कुरा लगाएर पारिवारीक सम्बन्ध धुमिल बनाइ दिएपछि कृशलासँग बदला लिनका लागि साउन १३ गते त्रियुगा नगरपालिका–६ स्थित राजदेवी सामुदायिक वन क्षेत्रमा भेट्न बोलाएर छातीमा गोडाले कुल्चिएर मुक्काले हिर्काएर हत्या गरेको अनुसन्धानका क्रममा उचितलालले बयान दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले बताउनु भयो ।
अनुसन्धानका क्रममा आरोपित उचितलालले कृशलालाई दिउँसो ३ बजे भेट्न बोलाएर राति १० बजे हत्या गरेको प्रारम्भिक बयानका क्रममा बताएको डिएसपी गौतमले बताउनु भयो । आरोपित उचितलालले विषे सदालाई कृशलाको हत्याका लागि साथीका रूपमा ल्याएको अनुसन्धानका क्रममा खुलेको डिएसपी गौतमले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहराका अनुसार आरोपितले साउन १३ गते राति कृशलाको हत्या गरी त्रियुगा नगरपालिका–६ स्थित राजदेवी सामुदायिक वन क्षेत्रको रातमाटे खहरे खोलामा ढुङ्गाले पुरेर आफू घरतिर गएको घटनाको प्रकृतिबाट देखिएको बताउनु भयो ।
कृशलाका बाबु प्रेमकुमार चौधरीले आरोपितद्वयविरूद्ध बलात्कारपछि हत्या गरेको विषयमा उजुरी दिएपछि सो विषयमा अनुसन्धान भइरहेको तर, शव क्षतविक्षत भएकाले पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको हो वा होइन भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी बोहराले बताउनु भयो ।
बलात्कारपछि हत्या हो वा होइन भन्ने विषयमा फोरेन्सिक परीक्षणपछि मात्र यकिन हुने भएकाले फोरेन्सिक परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाण्डौँ परीक्षणका लागि पठाएको एसपी सुवास बोहराले बताउनु भएको छ ।
पीडित पक्षले कृशलाको शवको सनाखत साउन २० गते गरी सोही अनुसार अन्तिम संस्कार गरेको प्रहरीले जनाएको छ ।