कोभिड–१९ को सङ्क्रमण तथा जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले साउन २४ गते सम्मका लागि जिल्लाभर निषेध आदेश जारी गरेको अवस्थामा चिचिला गाउँपालिकाले अनुमति बिनै साउन १७ गतेदेखि विद्यालयमा पठनपाठन सुचारू गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय बमोजिम साउन २४ गते सम्म जिल्लाभर निषेध आदेश जारी भएको अवस्थामा गाउँपालिकाले अनुमति बिनै भौतिक उपस्थितीमा पठनपाठन सुचारू गरेको कोभिड सङ्कट व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भएको छ ।
भौतिक रूपमा उपस्थित भएर विद्यालय खोल्न सीसीएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पौडेलले बालबालिका भौतिक रूपमा उपस्थित भएर विद्यालय सञ्चालन गर्न कुनै पनि स्थानीय तहलाई अनुमति नदिइएको बताउनु भएको छ ।
गाउँपालिकाको साउन १५ गतेको निर्णयपछि विद्यार्थीहरूको उपस्थिती मै विद्यालय सुचारू गरिएको चिचिला गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले बताउनु भयो । स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाउँदै साउन १७ गतेदेखि पठनपाठन सुरू गरिएको प्रशासकीय अधिकृत राईको भनाइ छ ।
कोभिड–१९ को सङ्क्रमण जोखिम कामयै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन २४ गते सम्मलाई निषेध जारी गरेको छ । तर गाउँपालिकाले प्रशासनको आदेश विपरित विद्यालय सुचारू गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाहृकोटीले बताउनु भयो । उहाँले कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यालय सञ्चालन गर्नु बालबालिका माथि खतरा भएको बताउनु भयो । प्रशासनको अनुमित बिना अहिलेको अवस्थामा विद्यालय सञ्चालन गर्नु उपयुक्त नभएको प्रमुख बाहृकोटीको भनाइ छ । चिचिला गाउँपालिकामा आधारभूत र माध्यमिक गरी २१ ओटा विद्यालय छन् ।
जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ५७ पुगेको छ । जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ३२ छ । साउन १९ गते सम्मको अवधिमा जिल्लामा कोभिड–१९ सङ्क्रमणका कारण १० जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोभिड–१९ को तेस्रो लहर आउने र त्यसले बालबालिका सबैभन्दा प्रभावित हुने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ११ गते सातै प्रदेशलाई परिपत्र गरी कोेभिड–१९ को प्रतिकार्यमा जुट्न आग्रह गरेको छ ।