साउन १९ गते २ हजार ४ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २ हजार ९७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १९ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ६ सय ३८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ६० हजार १ सय १६ जना निको भएका छन् । साउन १९ गते १ हजार ९ सय ९४ जना निको भएका छन् भने निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १९ गतेसम्म ९ हजार ९ सय २२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १९ गते २४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ हजार ५९ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बागलुङ, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोभिड–१९ को परीक्षणका लागि सप्तरीमा जडान गरिएको एक मात्र रियल टाइम पीसीआर मेसिन बिग्रँदा साउन १९ गतेदेखि परीक्षण बन्द भएको छ । सङ्क्रमितको सङ्ख्या पुनः बढिरहेका बेला गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा जडान भएको कोभिड परीक्षण मेसिन बन्द हुनाले सेवाग्राही मर्कामा परेका छन् । अस्पतालका अनुसार साउन १८ गते १४ जनाको पीसीआर परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो पटक पीसीआर मेसिनले फरक नतिजा दिन थालेपछि परीक्षण कार्य बन्द गरिएको ल्याब इन्चार्ज प्रकाश यादवले बताउनु भयो । अस्पतालका ल्याब इन्चार्ज यादवले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र खरिद गरी ल्याइएको जनकपुरस्थित ट्रेडर्समा यसबारे जानकारी गराइएको बताउनु भयो । एक साताअघि मात्र मर्मत गरी ल्याइएको मेसिनबाट पुनः परीक्षण कार्य सुचारु गरिएको थियो । प्रदेश सरकारले कोभिड–१९ को उपचार तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन पीसीआर मेसिन जनकपुरबाट खरिद गरेको थियो । यो मेसिन राजविराजमा ०७७ जेठ २५ गते जडान भई कोभिड–१९ भाइरसको परीक्षण सुरु भएको थियो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोभिडको उच्च जोखिम रहेकै अवस्थामा व्यास नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू साउन १८ गते सञ्चालन गरिएपछि जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयमा साउन १८ गते आयोजित बैठकले कोभिडको जोखिम कम नभएको हुँदा विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठनपाठन पुर्णरूपमा बन्द गर्ने निर्णय गरी विद्यालयहरूलाई सोही अनुसार निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालले बताउनुभयो । व्यास नगरपालिकाको शिक्षा शाखा, शिक्षक सङ्घ/सङ्गठन, प्याव्सन र एनप्याव्सनका प्रतिनिधिहरूसहित बसेको बैठकले जिल्लामा कोभिडको जोखिम कम नभएको हुँदा तत्काल विद्यालय सञ्चालन नगर्ने निर्णय गरिएको सहायक प्रजिअ बरालले बताउनु भयो । दमौलीका सामुदायिक तथा संस्थागत विद्यालयहरूले व्यास नगरपालिकाको अनुमति भएको भन्दै साउन १८ गते विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरू गरेका थिए । तर, व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्र रेग्मीले भने विद्यालय सञ्चालन गर्न नगरपालिकाले अनुमति नदिएको बताउनु भयो । केही विद्यालयका सञ्चालकले आफैँ विद्यालय खोल्यौँ भनेर नगरपालिकामा जानकारी दिएको तर नगरपालिकाले अनुमति नदिएको रेग्मीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेध आदेशको उल्लङ्घन गर्दै विद्यालय सञ्चालन गर्न नपाइने बताउनुभयो । जिल्लामा कोभिडको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णय र सिफारिस अनुसार साउन २० गतेसम्म निषेध आदेश जारी नै रहेको उहााले बताउनुभयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले साउन १८ गते सूचना प्रकाशन गरी जिल्लामा जारी रहेको निषेध आदेश साउन २७ गतेसम्म थप गरिएको जनाएको छ । यसअघि साउन ३ गते जारी रहेको निषेध आदेशका सबै सूचनाहरू यथावत राख्दै निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले एक सूचना प्रकाशन गरी जानकारी दिनु भएको छ ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड सङ्कट व्यवस्थापन समितिको साउन १९ गते बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रण नभएको भन्दै जिल्लामा जारी गरिएको निषेध आदेश साउन ३२ गतेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताउनु भयो । निषेध आदेशका क्रममा सबै प्रकारका गोष्ठी, सेमिनार, सभा, जुलुस, मेला, पर्व, खेलकुद, पार्टी प्यालेस, ब्युटिपार्लर, सैलुन र नाचघर पुर्ण रुपमा बन्द गरिएको छ । पसल र होटलहरू बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने, जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर १५ जना सहभागी हुने गरेर विवाह, व्रतबन्ध गर्न सकिने र सवारी साधन सिट क्षमता अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना पालना गरेका सञ्चालन गर्न सकिने जिल्ला प्रशासनले जनाएको छ ।