वीरगंज महानगरपालिका–८ लिङ्क रोडमा अवस्थित भवानी अस्पतालले जिउँदो मान्छेलाई मृत घोषित गरेको भन्दै एक समूहको आक्रमण परी वीरगंज महानगरपालिका–१५ निवासी ३२ वर्षीया नर्स कविता चौधरी र वीरगंज महानगरपालिका–१३ निवासी २७ वर्षीय चिकित्सक विजय महतो घाइते हुनु भएको छ । उहाँहरूको उपचार अस्पतालमै भएको छ ।
मृतकका आफन्त र गाउँलेहरूले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेको अस्पतालका प्रवन्ध निर्देशक रामराज श्रेष्ठले बताउनु भयो ।
अस्पतालका निर्देशक श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमिता देवीलाई उपचारका लागि साउन १७ गते बिहान अस्पताल ल्याइएको थियो । उहाँका अनुसार चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर, दिउँसो १ बजे रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै तोडफोड गरेको आरोप छ ।
मृत महिलालाई अन्तिम संस्कारका लागि वीरगंज महानगरपालिका–२० मा रहेको मनियारी लगिएको थियो ।
संस्कार पूर्व स्नान गराउने प्रचल छ । त्यही बेलामा मुख चलेको जस्तो लागेपछि आफन्तले महिलालाई पुनः अस्पताल पुर्याएको थिए ।
अस्पतालले फेरि पनि सबै परीक्षण गरेर मृत घोषणा गरेको थियो । मृतकका परिवारले कुरा बुझेका थिए तर मलामी जान तयार भएका व्यक्तिहरूको भिडले कुरा नबुझी अस्पतालमा तोडफोड गरेको अस्पतालका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिनु भयो ।
प्रहरी समयमै आएर स्थितिलाई नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको निर्देशक श्रेष्ठको भनाइ छ ।
अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबिच केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितरबितर पारेको थियो ।
अस्पतालमा आक्रमण गरेको घटनाको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–२० का ३२ वर्षीय राकेश राम, ४४ वर्षीय सुरेश राम, २२ वर्षीय अक्षय राम र बारा जिल्ला परवानीपुर गाउँपालिका–१ का २८ वर्षीय भीम रामलाई साउन १७ गते गिरफ्तार गरेको छ ।
आरोपित चारै जनासँग आवश्यक सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।