कोभिड–१९ को तेस्रो लहर पूर्व प्रतिकार्यका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरू गरेको छ ।
स्वास्थ्य विज्ञहरूले कोभिड–१९ को सङ्क्रमणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने भएको सुझाव दिएपछि प्रदेश सरकारले ठूला सरकारी अस्पतालमै बालबालिकाका लागि शिशु सघन उपचार कक्ष (एनआइसीयू) र बच्चा सघन उपचार कक्ष (पीआइसीयू) लगायतको पूर्वाधार व्यवस्थापनको तयारी शुरू गरिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा अहिले सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र कोरोना पोजेटिभ भएका बालबालिकाको उपचार हुने गरेको छ । प्रतिष्ठानमा पनि दुई ओटा बेडको पीआइसीयू छ । पीआइसीयू सधैँ बिरामी बालबालिकाले भरिने गरेको छ । साउन १३ गतेदेखि बालबालिकाका लागि छुट्ट्याइएका पीआइसीयू बेड खाली रहेको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार सरकारले भने अनुसार प्रतिष्ठानमा पनि थप १५ बेडको पीआइसीयू थप्ने कामका लागि टेण्डर आह्वान गरिएको छ ।
वीपीबाहेक विराटनगरमा रहेको कोशी अस्पताल, झापा रहेको मेची प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित बालबालिकाको उपचार गर्न छुट्टै भेण्टिलेटर र आइसीयूको व्यवस्था छैन । विराटनगरका नोबेल र विराट अस्पतालसहित झापाको बिएण्डसीमा पनि कोरोना पोजेटिभ भएका बालबालिकाको उपचारका लागि पीआइसीयूको सेवा अभाव छ । प्रादेशिक अस्पताल मेचीले कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि पहिलो चरणमा पाँच बेडको पीआइसीयू सञ्चालनको तयारी थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर टङ्कप्रसाद बाहृकोटीले बताउनु भएको छ ।
कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचार लक्षित गरी विराटनगरमा रहेको कोशी अस्पतालमा पनि १० बेडको पीआइसीयू बनाउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर चुमनलाल दासले बताउनु भएको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंले सरकारले तोके अनुरूप कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि अस्पतालहरूमा छुट्टै पीआइसीयू सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिनु भएको छ ।
प्रदेश १, सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ को तेस्रो लहरको पूर्व प्रतिकार्य तयारीमा जुट्न १४ ओटै जिल्ला समन्वय समितिका प्रमुखहरू, सदरमुकामका स्थानीय तहका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरूलाई निर्देशन दिइ सकिएको बताउनु भयो । प्रदेश सरकारले कोभिड–१९ को तेस्रो लहर पूर्व प्रतिकार्यका लागि आवश्यक तयारी गरेको मन्त्री राईले बताउनु भएको छ ।
प्रदेश १, मा साउन १४ गतेसम्म ९ हजार १ सय १६ जना बालबालिकालाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमण भएका मध्ये २१ जना बालबालिकाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले बताउनु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७८ जेठ २१ ग्ते विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई २० प्रतिशत बेड बालबालिकाका लागि छुट्टयाउन आग्रह गरेको छ ।