INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २ गते)

साउन २ गते १ हजार ३ सय १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २ गते परीक्षण गरिएकामध्ये १९.१० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ८ सय ५८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ३० हजार ४ सय ७ जना निको भएका छन् । साउन २ गते २ हजार १ सय ६४ जना निको भएका छन् भने निको हुनेको दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २ गतेसम्म ९ हजार ५ सय २७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २ गते २१ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ९ सय ५२ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona_Infographics_20210717

बागमती प्रदेश

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले पुनः एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले साउन १ गते जारी गरेको निषेध आदेशमा साउन १० गते गते राति १२ बजेसम्म रहने जानकारी दिनु भयो । साउन २ गतेको तथ्याङ्कअनुसार जिल्लामा ५ सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा ३७ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको साउन १ गते बसेको बैठकले साउन १० गतेसम्मका लागि निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको अवधिमा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकाद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेरलगायतका भिडभाड हुने कार्य नगर्ने/नगराउने र कोभिडको लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ । आदेशको अवेज्ञा गरी कार्य गरे वा गराइएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र कोभिड–१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८ बमोजिम कारबाही गरिने बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेश

प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको असार ३१ गते बसेको बैठकले साउन १० गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । बैठकले अर्को सूचना नभएसम्म शिक्षण संस्था सञ्चालन नगर्ने, पसल तथा सवारी साधन प्रयोग गर्दा स्वास्थ्य मापदण्ड प्रयोग गर्ने निर्णय गरिएको प्रजिअ भुसालले जानकारी दिनु भयो । जिल्लामा हालसम्म १ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् भने दोस्रो चरणमा कोभिड सङ्क्रमणबाट ६० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत पुष्कल श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो