कोभिड–१९ को सङ्क्रमणबाट हुने जनधनको क्षति कम गर्न सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउन एक कार्यक्रमका सहभागीहरूले सरकारसँग माग गरेका छन् ।
पारस्परिक जवाफदेहिताका लागि स्वास्थ्य (कोभिड–१९) सम्बन्धी ०७७ असार २४ गते आयोजित भर्चुअल साझा सभा कार्यक्रमका सहभागीहरूले सो माग गरेका हुन् ।
अमेरिकी सहयोग नियोग युएसएडको आर्थिक सहयोग, डेक नेपालको संयोजन तथा नागरिक समाज मञ्च मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत फ्रण्डलाईनरसँगै उच्च जोखिममा रहेको गैरसरकारी संस्थाकर्मीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउँन पनि आग्रह गरिएको थियो ।
कोभिडको तेस्रो भेरियण्टको त्रास रहेकाले उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्य सेवा सहज बनाउनु पर्ने भन्दै कारागारमा रहेका कैदीबन्दी पनि मानव र नेपाली भएकाले खोपको व्यवस्था गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय उलङ्घन गर्दा जनस्वास्थ्यमा असर पार्ने भएकाले निर्णयलाई सबै नागरिकले कर्तव्य सम्झेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
माग अनुसार खोप सहज रूपमा उपलब्ध गराउन आफूले पहल गर्ने बताउँदै उहाँले सार्वजनिक यातायात सञ्चालन लगायतका विषयमा पनि छलफल भइहेको बताउनुभयो ।
नागरिक समाज मञ्च मकवानपुरकी संयोजक रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी आरती पाठकले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईँ, हेटौंडा अस्पतालका आइशोलेशन इन्चार्ज डा. सागर काफ्ले र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले स्वास्थ्य सेवा र कोभिड १९ बारे प्रस्तुतिकरण गर्नुभएको थियो ।