असार १६ गते १ हजार ८ सय ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३८ हजार ८ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १६ गते परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १६ गते २० वर्ष मुनिका २ सय ४२ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार १ सय ८७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ९६ हजार १ सय ३२ जना निको भएका छन् । असार १६ गते ३ हजार ५ सय ९७ जना निको भएका छन् भने निको हुनेको दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १६ गतेसम्म ९ हजार १ सय १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १६ गते ४१ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ६१ देखाइएको छ ।


धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायम रहेको भन्दै सार्वजनिक सवारी साधनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय सहित असार १६ गतेदेखि लागु हुने गरी एक साता निषेध आदेश थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको असार १५ गतेको बैठकले जारी निषेध आदेश असार २२ गतेसम्म थप गर्दै जारी सार्वजनिक सवारी साधान सञ्चालन गर्न दिने निर्णय गरेको हो । सार्वजनिक यात्रुबहक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी स्वीकृत सीट क्षमताभन्दा बढी सङ्ख्यामा यात्रु नराख्ने गरी आलोपालो प्रणालीमा संचालन गर्न पाउने व्यवस्था गरिएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्लामा जारी निषेध आदेश असार २४ गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले असार १५ गते सूचना प्रकाशन गरी निषेध आदेशको अवधि असार १६ गते राति १२ बजेदेखि असार २४ गते राति १२ बजेसम्म थप गरिएको जानकारी दिनुभयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १५ गते बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कम नभएको र समुदायस्तरमा व्यापक फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालले बताउनुभयो ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्लामा निषेध आदेशको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असार १५ गते एक सूचना जारी गर्दै असार १५ गतेदेखि असार २५ गतेसम्म निषेध आदेशको अवधि थप गरिएको जनाएको छ ।
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १५ गते बसेको बैठकले असार १६ गतेदेखि २२ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनु भयो । बैठकले कोभिड जोखिम कायमै रहेकाले चिया, खाजा पसल, होटेल, सिनेमा घर, सैलुन बाहेक अन्य बजार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी, सार्वजनिक यातायात पनि जिल्लाभित्र सिट क्षमता भन्दा बढी यात्रु नबोक्ने र अनिवार्य मास्कको प्रयोग गरेर सञ्चालन गर्न दिने निर्णय भएको छ ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको असार १५ गते बसेको बैठकले असार १६ गतेदेखि असार २२ गतेसम्म निषेध आदेश थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो एक सातामा २ सय ५० जना सङ्क्रमित थपिएपछि जोखिम बढ्न सक्ने अवस्था भएकोले निषेध आदेशमा कडाइ गरिएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १६ गतेसम्म १३ हजार ५ सय ६४ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १६ गते)