INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम : स्वास्थ्यमा प्राथमिकता

गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले जेठ ३१ गते प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुदै पूर्ण खोपयुक्त प्रदेशलाई दिगो राख्न सबै बालबालिकालाई खोप सेवा कार्यक्रम प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण, सामग्री तथा औषधिको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोभिड–१९ सङ्क्रमणका कारण बाबु वा आमा गुमाएका बालबालिकाहरूलाई नगद राहतको व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ ।

यस्तै कोभिड–१९ को सङ्क्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका आम नागरिकका परिवारलाई नगद राहत उपलब्ध गराउने, कोभिड– १९ को महामारीको नियन्त्रणका लागि अग्रपङ्क्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई “कोरोना फ्रन्टीयर सर्वोत्कृष्ट सेवा पुरस्कार” को व्यवस्था यसवर्षको नीति तथा कार्यक्रममा समेटिएका छन् ।

अति दुर्गम र दुर्गम क्षेत्रका जटिलतामा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुको जीवन रक्षाको लागि एयर लिफ्टिङ सेवालाई यस वर्षपनि निरन्तरता दिइएको छ । भने जटिल अवस्थामा रहेका गर्भवतीको जीवन रक्षाका लागि प्रदेशका सबै अस्पतालमा मातृ प्रतीक्षा कक्ष (मेटरनल वेटिङ रूम) स्थापना गर्ने नयाँ कार्यक्रम यस वर्षको नीति तथा कार्यक्रममा  समेटिएको छ ।

यस्तै स्थानीय तहसँगको साझेदारीमा गर्भवती र सुत्केरीको घर घरमा दक्ष स्वास्थ्यकर्मी सेवा बिस्तार गरिने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले बालबालिका, किशोरी र महिलाहरूको पोषण स्थितिमा सुधार ल्याउन नेपाल सरकार र स्थानीयतहसँगको साझेदारीमा सञ्चालित बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम सबै स्थानीयतहमा बिस्तार गरिने उल्लेख छ ।

प्रदेशमा रहेको ५० शैयाका सबै अस्पतालमा आँखा उपचार सेवा र जेष्ठ नागरिक उपचार वार्ड निर्माण गर्ने, ‘स्वास्थ्य बीमा सरकारको जिम्मा’ अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविका र निलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य बिमामा आबद्ध गराउने कार्यक्रमको सुरूवात गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी नीति तथा कार्यक्रमले हिंसामा परेका किशोरी तथा बालिका लक्षित गरी प्रदेशका सबै स्थानीयतहहरूमा मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने र  बलात्कार वा अन्य प्रकृतिका यौन हिंसामा परेका बालिका तथा किशोरीहरूलाई उनीहरूको क्षमता र चाहना अनुसारको व्यवसायिक शिक्षा तथा उच्चशिक्षा निःशुल्क उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

लैङ्गिक हिंसामा परेका तथा विपदमा परेर घाइते र बिरामी व्यक्तिहरूलाई प्रभावकारी स्वास्थ्य सेवाप्रदान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

कार्यक्रममा महिलाको स्तन, पाठेघर क्यान्सर तथा आङ खस्ने समस्या भएकाहरूको तथ्याङ्क सङ्कलन गरी निशुल्क उपचारको व्यवस्था गरिने जनाइएको छ ।

मिर्गौला पीडित बिरामीहरूलाई लक्षित गरी डायलाइसिस सेवालाई नवलपुरको मध्यबिन्दु अस्पताल र लमजुङ जिल्ला अस्पतालमा विस्तार गरिने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ ।

यसैगरी एम्बुलेन्स नभएका स्थानीय तहमा लागत साझेदारीमा एक एम्बुलेन्सको व्यवस्था गरिने कार्यक्रम प्रदेश सरकारको रहेको छ ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम २०७८/०७९ पढ्नका लागि यहाँ क्लिक गर्नु होला

अन्य

भिडियो