नागरिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारसमक्ष पोखराका मानव अधिकारकर्मीले जेठ १५ गते विज्ञप्ति जारी गर्दै स्वास्थ्यसम्बन्धी हकका साथै जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तीनै तहका सरकार समक्ष माग गरेका छन्।
‘विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरका कारण सिर्जित जटिल परिस्थितिमा आमनागरिकको स्वास्थ्योपचारको पहुँचमा कमी आउन नदिन सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउँछौँ ‘- जारी विज्ञप्तिमा उल्लेख छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जेठ १३ गतेको राति हाइफ्लो अक्सिजनको अभावमा बिरामीको ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
पोखराको क्षेत्रीय अस्पतालमा ०७८ जेठ १३ गते राति अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो अक्सिजन दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा एक जना सुत्केरी सहित ६ जनाको अक्सिजन अभावमा मृत्यु भएको थियो ।
गण्डकी प्रदेशमा सङक्रमितको सङ्ख्या दैनिक बढ्दै गएको र मृत्युको दरसमेत थपिँदै आएको सन्दर्भमा आवश्यक उपकरण, स्वास्थ्यकर्मी तथा अक्सिजनको सहज आपूर्ति तथा भण्डारणको व्यवस्था मिलाउनतथा अस्पताल र अक्सिजन उत्पादन गर्ने कारखानामा बिना अवरोध विद्युत आपूर्ति गर्ने व्यवस्था गर्न मिलाउन माग गरिएको छ ।
द्रुत प्रतिकार्य समूह, गण्डकी प्रदेशकी संयोजक विना सिलवाल, शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक, विष्णुप्रसाद बराल, इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक, शिवप्रसाद खकुरेल र मानवअधिकार एलाइन्स कास्कीका अध्यक्ष रामचन्द्र बरालले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
