कैलालीको गौरीफण्टा नाका हुँदै अवैध रूपमा विदेश जान लागेका तीन महिलाको साउन २५ गते धनगढी उपमनपा ̵ २ बाट उद्दार गरिएको छ ।
नाकामा चेकजाँच गर्ने क्रममा ती महिलाले आफूहरू दिल्ली जान लागेको बताएपछि उनीहरूलाई उद्दार गरिएको शान्ति पुनःस्थापना गृह कैलालीकी फिल्ड सुपरभाइजर कैलाशु रानाले बताइन् ।
उनीहरूले सुरूमा गौरीफण्टा बजारमा किनमेल गर्न जान लागेको बताए पनि सोधपुछ जारी भैरहेपछि मात्रै ओमान र कुवेत जान लागेको बताएको पुनःस्थापना गृहले जनायो ।
उद्दार गरिएका महिलाहरूलाई शान्ति पुनःस्थापना गृहको सेफहाउसमा राखिने र प्रहरीकहाँ बयान दिएपछि परिवारको जिम्मा लगाइने शान्ति पुनःस्थापना गृहले जनाएको छ ।
पछिल्लो समयमा कैलालीका नाका हुँदै अवैध रूपमा विदेश पठाउने क्रम तीव्र भएको छ । दुई सातामा कैलालीका विभिन्न नाकाहरूबाट अवैध रूपमा विदेश जान लागेका १४ महिलाको उद्दार गरएको जिल्ला प्रहरी कार्यलय, कैलालीस्थित महिला सेलकी इन्स्पेक्टर शैलेश्वरी बोहराले जानकारी दिइन् ।