नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ६०.७ प्रतिशत सङ्क्रमित उपचार पछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २९ गते जारी गरेको प्रतिवेदनका अनुसार १० हजार २ सय ९४ जना सङ्क्रमित निको भएका हुन् । नेपालमा १६ हजार ९ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । असार २९ गते १ सय ४४ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमण पुष्टि भएकामध्ये ६ हजार ६ सय १३ जनाको उपचार भइरहेको छ । ३८ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरू २४ जिल्लाका छन् ।
कोरोनाका कारण मृत्यु भएका सङ्ख्या र जिल्ला
क्रसं जिल्ला सङ्क्रमित डिस्चार्ज मृत्यु
१ रौतहट १४६८ ६१३ १
२ कैलाली ९०९ १०१ ४
३ दैलेख ८१४ ७२५ १
४ दाङ ६४८ ३१२ १
५ अछाम ६२५ १६४ १
६ बाजुरा ६१६ २ १
७ पाल्पा ५५४ ४३ १
८ सुर्खेत ४५८ ३२८ २
९ बाँके ३९२ ३७९ २
१० गुल्मी ३५९ १४८ ३
११ अर्घाखाँची ३३९ १३८ २
१२ रुपन्देही ३२१ २५८ १
१३ काठमाडौं २२६ ५६ ३
१४ बागलुङ २१९ ८९ १
१५ स्याङ्जा २०७ ५८ २
१६ पर्सा २०२ १६८ १
१७ बारा १२९ ११६ २
१८ गोरखा ११४ २९ १
१९ चितवन १०३ ३९ २
२० ललितपुर ६९ ५ १
२१ सिन्धुपाल्चोक ६२ ३१ २
२२ म्याग्दी २६ १० १
२३ दोलखा ९ ४ १
२४ डोल्पा ५ ० १
गण्डकी प्रदेश
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराले असार २९ गते पोखरा महानगरपालिका–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार गलकोट नगरपालिका–५ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयले कोरोना नियन्त्रण गर्न ध्यान नदिएको र विदेशबाट आएकालाई व्यवस्थापन नगरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । वडा अध्यक्षलगायत अन्य पदाधिकारीले वडावासीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय विपिन श्रीसले बताउनुभयो । वडा कार्यालयले विदेशबाट आएका नागरिकहरूको व्यवस्थापन नगरेको र उनीहरूमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय आक्रोशित हुँदै वडा कार्यालयमा तालाबन्दी गरेको श्रीसको भनाइ छ । वडा अध्यक्ष नारायणध्वज मल्लले तीन दिन अगाडि एक जना युवती दुवईबाट आएर होम क्वारेण्टाइनमा बसेको र उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय आक्रोशित भएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरी बडुका अनुसार इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार २९ गते पाटन नगरपालिकास्तरीय मानव अधिकार समूहमार्फत स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ । मानव अधिकार समूहका अध्यक्ष कृष्णसिंह महरालगायतको समूहले पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र उपप्रमुख सरस्वती कोलीलाई मेडिकल मास्क, साबुन, डिस्पोजल ग्लोब्स र सेनिटाइजर हस्तान्तरण गरेको इन्सेकका कार्यक्रम सहजकर्ता निशा भट्टले बताउनु भयो । इन्सेकले सहयोग गरेको स्वास्थ्य सामग्रीले नगरपालिकालाई राहत मिलेको र मानव अधिकार संरक्षण र संवद्र्धनमा आगामी दिनमा पनि इन्सेकसँग नगरपालिकाले सहकार्य गर्ने नगरप्रमुख केशवबहादुर चन्दले बताउनु भयो ।