बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुने उपनिर्वाचनमा कोभिड सङ्क्रमित मतदाताका लागि छुट्टै मतदानस्थलको व्यवस्था गरिएको छ ।
जेठ ६ गते हेटौँडाको भुटनदेवी माविमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख र कोभिड सङ्क्रमितका लागि छुट्टा छुट्टै तीन ओटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोग बागमती प्रदेश कार्यालयले जानकारी दिएको छ ।

निर्वाचनमा १३ जना काभिड सङ्क्रमित मतदाता रहेको हुँदा उहाँहरूलाई छुट्टै मतदानस्थलको व्यवस्था गरिएको कार्यालयले जनाएको हो ।
उपनिर्वाचनमा सम्पुर्ण स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गरेर तीन ओटा मतदान केन्द्रबाट मतदानको व्यवस्था गरिएको निर्वाचन अधिकृत गोबिन्दप्रसाद पौडेलले बताउनुभयो ।

बिहान ९ बजेदेखि सुरू हुने निर्वाचनमा वागमती प्रदेश सभामा १ सय ९ र १ सय १९ स्थानीय तहका २ सय ३८ प्रतिनिधि (प्रमुख–उपप्रमुख) मतदाता छन् ।
मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । अर्थात् १ सय ९ प्रदेश सांसदको ५ हजार २ सय ३२ र २ सय ३८ स्थानीय प्रतिनिधिको ४ हजार २ सय ८४ गरी प्रदेशमा ९ हजार ५ सय ६४ मतभार छ ।

उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस–माओवादीको गठबन्धनबाट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
बागमती प्रदेशमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा मत माग्ने काम भएको भन्दै आयोगले जेठ ५ गते विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको हो ।
