INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट (वैशाख  २५ गते)

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङको बडिगाड गाउँपालिकामा सङ्क्रमितको दर बढ्दै गएपछि बडिगाड डोजोको कभर्ड हलमा अक्सिनसहित १० बेडको  आइसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि कँडेलले बताउनुभयो । अहिले बडिगाडमा ४९ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये तीन जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ भने अन्य होम आइसोलेशनमा रहेको कँडेलले बताउनुभयो । बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । भीमसेन प्राथमिक विद्यालयको भवनमा आवश्यक पूर्वाधार निर्माण गरेर १० बेडको अस्थायी अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र लामाले बताउनुभयो । गाउँपालिकाले अस्थायी अस्पतालमा तीन जना नर्स, एक जना जनस्वास्थ्य अधिकृत र एक जना कार्यालय सहयोगी अस्पतालमा खटाएको छ ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीमा सङ्क्रमितका सङ्ख्या बढेसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको गण्डकी अस्पताल र गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सरुवा रोग तथा सङक्रामक अस्पतालमा सङ्क्रमितहरु अस्पतालमा बेड भरिएका छन् । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख डा अर्जुन आचार्यका अनुसार अस्पताल भर्ना भएकामध्ये ९० प्रतिशत बिरामीको स्वास्थ्य अवस्था नाजुक रहेको छ  । अब गण्डकी अस्पतालमा जटिल अवस्थाका बिरामी आए पनि राख्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । यस्तै  गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सरुवा रोग तथा सङ्क्रामक अस्पताल शिशुवाका निर्देशक विकास गौचनका अनुसार उक्त अस्पतालमा पनि थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । दुवै अस्पतालमा गरी १ सय ५० बढी सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशबाट मात्रै नभएर बुटवल, दाङदेखि बेड खोज्दै कोभिड–१९ का बिरामी आइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुग्ने गरेका छन् ।

अन्य

भिडियो