INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट (वैशाख  २४ गते)

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोभिड–१९ सङ्क्रमितको उपचारको लागि तनहुँ जिल्लाभर ८७ आइसोलेशन कक्ष तयार गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार ति आइसोलेशन कक्षमा अक्सिजन जडान र एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीका अनुसार तनहुँमा सबैभन्दा धेरै आइसोलेशन शुक्लागण्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा रहेको छ । उक्त उपचार केन्द्रमा ३० बेडको आइसोलेशन तयार गरिएको छ । सबै बेडमा अक्सिजनको व्यवस्था गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । सो आइसोलेशन कक्षमा १२ ठुलो र २० सानो अक्सिजन सिलिन्डर र पाँच ओटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । त्यस्तै बन्दिपुर अस्पतालमा १० ओटा अक्सिजन सिलिन्डर सहित २० बेडको आइसोलेशन तयारी गरिएको छ । त्यस्तै आबुँखैरेनीमा दुई ओटा सिलिन्डर र तीन ओटा एम्बुलेन्स सहित १२ बेडको आइसोलेशन कक्ष तयार गरिएको छ । भानु नगरपालिकामा आठ ओटा अक्सिजन र एक ओटा एम्बुलेन्स सहित पाँच ओटा आइसोलेशन कक्ष तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनु भयो । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा १० अक्सिजन सिलिन्डर, एक एम्बुलेन्स सहित पाँच बेडको आइसोलेशन तयार बनाइएको छ । म्याग्दे गाउँपालिकामा दुई अक्सिजन सिलिन्डर, दुई एम्बुलेन्स सहित पाँच आइसोलेशन, ऋषिङमा तीन सिलिन्डर, एक एम्बुलेन्स सहित पाँच बेडको आइसोलेशन, घिरिङमा एक अक्सिजन, एक एम्बुलेन्स सहित पाँच बेडको आइसोलेशन तयार गरिएको छ भने देवघाट गाउँपालिकामा आठ ओटा अक्सिजन र एक ओटा एम्बुलेन्स सहित पाँच ओटा आइसोलेशन कक्ष तयारी गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले जानकारी दिनु भयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सबै स्थानीय तहमा कम्तीमा पाँच बेडको आइसोलेशन बनाउने निर्णय गरेको थियो । उक्त आइसोलेशनमा अक्सिजनको र एम्बुलेन्सको व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनु भयो ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गाउँपालिका अध्यक्ष सहित सात जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजार सिल गरिएको छ । गाउँपालिकाले वैशाख २४ गते एक सूचना प्रकाशित गर्दै गाउँपालिकाको केन्द्र माछाखोला सिल गरिएको जानकारी गराएको हो । उच्च जोखिमको अवस्थालाई मध्यनजर गरी गाउँपालिकाको कार्यालय, वडा कार्यलय, बैङ्क तथा वित्तिय संस्थाहरु बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । औषधी र मेडिकल २४ सै घण्टा खोल्न सकिने र खाद्यान्नका पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ६ बजेसम्म खोल्न सकिने गाउँपालिकाको सूचनामा उल्लेख छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय गोरखाले निषेध आदेशको समयमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा बिरामी र बिरामी कुरुवा बाहेकका व्यक्ति नचढाउन आग्रह गरेको छ । यसअघि एम्बुलेन्सले बिरामी र बिरामी कुरुवा बाहेकका व्यक्ति पनि बोक्न थालेपछि कडाइ गरिएको हो । निर्देशन विपरितका गतिविधि भए पाइए एम्बुलेन्स सञ्चालक, चालक तथा बिरामी र (बिरामी कुरुवा बाहेक) सवार व्यक्तिलाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कैद तथा जरिवाना हुने प्रशासन कार्यलयका अधिकृत हर्क रोकाले बताउनुभयो ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्लाका लागि आवश्यक पर्ने अक्सिजन बेनी अस्पतालमा पर्याप्त रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट जितेन्द्र कँडेलले जानकारी दिनुभएको छ । बेनी अस्पतालमा ३४ ओटा ठूला, चार ओटा मध्यम र चार ओटा साना अक्सिजनका सिलिण्डर छन् । दैनिक बेनी अस्पतालमा भएको अक्सिजन प्लान्टबाट २४ सिलिण्डर उत्पादन हुन्छ भने १६ सिलिण्डर फिलिङ क्षमता रहेको छ । यस्तै अस्पतालका सबै बेडमा अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन पाइप लाइन मार्फत पुगेका छन् भने सिलिण्डर पनि अस्पतालमा रहेकोले श्वासप्रश्वास सम्बन्धी बिरामीलाई समस्या नहुने अस्पतालले जनाएको छ ।

अन्य

भिडियो