तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार व्यास नगरपालिका–१२ स्थित घाँसिकुवा स्वास्थ्य चौकी अन्तरगतको सेवा केन्द्र छिर्कनमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण भएपछि उक्त सेवा केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवा बन्द गरिएको छ । स्वास्थ्य चौकीको सेवा कार्यालयले वैशाख २३ गते सूचना प्रकाशन गरी दुई जना स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण भएको र बाँकी दुई जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गरिएको हुँदा पिसिआरको रिर्पाेट नआउँदा सम्मकोलागि स्वास्थ्य सेवा कार्यालयले प्रदान गर्ने सबै सेवा बन्द गरिएको जनाएको छ । व्यास नपाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले उक्त स्वास्थ्य चौकीमा चार जना स्वास्थ्यकर्मी कार्यरत रहेको र दुई जनामा सङ्क्रमण भएपछि बाँकी दुई जनाको पिसिआर गरिएको र रिपोर्ट नआउँदासम्म सबै सेवा बन्द गर्नु परेको बताउनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिकाले अक्सिजन सहितको ३५ बेडको आइसोलेशन निर्माण गरेको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएपछि नगरपालिकाको पुरानो कार्यालयमा आइसोलेशन निर्माण गरेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । धौलागिरी अस्पतालमा सङ्क्रमितको चाप बढ्दै गएपछि बागलुङ नगरपालिका–३ रातमाटामा नगरपालिकाको पुरानो कार्यालय रहेको भवनमा आइसोलेशन निर्माण गरिएको खनालले बताउनुभयो । २५ जना कोभिड–१९ सङ्क्रमितको उपचार गर्ने क्षमता रहेको धौलागिरी अस्पतालमा हाल २३ जना सङ्क्रमितको उपचार भइरहेको छ । ‘केहि दिनमै अस्पतालले बिरामीको उपचार गर्न सक्ने अवस्था रहदैन’, –खनालले भन्नुभयो– ‘त्यसैले नगरपालिकाले आइसोलेशनको निर्माण गरेको हो ।’ बागलुङको काठेखोला गाउँपालिकाले समुदाय स्तरमा कोभिड १९ सङ्क्रमण बढ्दै गएपछि वैशाख २३ गते राति १२ बजे देखि लागु हुने गरी गाउँपालिकामा वैशाख ३१ गते सम्मको लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष अमर थापाले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ रोकथाम तथा व्यवस्थापनको लागि निषेध आदेश गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यालय, वडा र विषयगत सेवा केन्द्रका कार्यालयहरु बन्द हुने भएका छन् । गाउँपालिकाभित्र समुदाय स्तरमा कोभिड १९ सङ्क्रमण फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको सात ओटै वडा र सेवा केन्द्रका कार्यालयको अत्यावश्यक बाहेकका सेवाहरु गाउँपालिकाले वैशाख २३ देखि अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभएको छ ।
स्याङजा जिल्ला प्रतिनिधि तिलकुमारी थापाका अनुसार स्याङ्जाको फेदिखोला गाउँपालिकामा अक्सिजन सहितको आइसोलेशन कक्षको व्यवस्था गरिएको छ । कोभिड १९ को सङ्क्रमण तिब्र रुपमा बढ्दै गएको र यसको नियन्त्रण तथा व्यवस्थापनका लागी गाउँपालिकाले अक्सिजन सहितको सुविधा सम्पन्न २० बेडको आइसोलेशन कक्ष तयार पारेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । पहिलो चरणमा २० बेडको आइसोलेशन तयारी अवस्थामा राखिएको र सङ्क्रमणको अवस्था हेरेर थप आइसोलेशन व्यवस्थापन गरिने उहाँले बताउनुभयो । फेदीखोला–३ को भाटखोला स्वास्थ्य चौकीमा २० बेडको आइसोलेशन र बिरामीको सहजताका लागि एम्बुलेन्स सेवालाई समेत तयारी अवस्थामा राखिएको अध्यक्ष सुवेदीले बताउनुभयो । त्यस्तै वालिङ नगरपालिका १ धरमपानी गाउँमा वैशाख २२ गते गरिएको एन्टिजिन परिक्षणमा १९ जनामा कोभिड –१९ सङ्क्रमण पुष्टि भएको छ । गाउँमा वैशाख १४ गते भएको चौरासी पूजामा सहभागी भएकाहरुमा लक्षण देखिएपछि नमूना परिक्षण गरेका सबैमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण परिवारहरुमा पनि सर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको नगर प्रमुख दिलिपप्रताप खाँणले बताउनुभयो । गाउँभरी सङ्क्रमित देखिएपछि तत्कालकालागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी सिल गरिएको उहाँले बताउनुभयो ।