INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट (वैशाख  २२ गते)

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोभिड– १९ सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेध आदेशको सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वैशाख २१ गते साँझ सूचना प्रकाशन गरी वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको बताउनुभयो । नेपाल सरकार सङ्घीय मन्त्रीपरिषदको वैशाख ६ गतेको निर्णय र जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २१ गतेको निर्णय अनुसार सङ्क्रामक रोग ऐन, २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी घिरिङ गाउँपालिकाको सम्पुर्ण क्षेत्र र ऋषिङ गाउँपालिकाको वडा नम्बर २,३,४,५,६,७ र ८ बाहेकका सम्पुर्ण क्षेत्रमा निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । निषेध आदेशको अवधिमा अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका कार्यालयहरुले सेवा प्रवाह बन्द गरी आन्तरिक कार्य मात्र गराउने, जिल्ला भित्र र बाहिर सञ्चालन हुने निजी तथा सार्वजानिक सवारी साधनहरु सवारी पास बिना सञ्चालन गर्न नपाइने, बैङ्क तथा वित्तीय संस्थाका सेवाहरु जनस्वास्थ्यका सबै मापदण्ड पालना गरी न्यूनतम कर्मचारीको उपस्थितिमा मात्र सञ्चालन गर्न पाइने, सार्वजानिक निर्माण कार्यमा खटिने जनशक्तिलाई निर्माण स्थलमा नै खाने बस्ने प्रबन्ध गर्नुपर्ने र भारत लगायत तेश्रो मुलुकबाट आउनेहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको निषेध आदेशको सूचनामा उल्लेख छ ।

गोरखा प्रतिनिधि हरिराम उपे्रतिका अनुसार वैशाख २२ गते राति १२ बजेबाट वैशाख ३१ गते सम्म गोरखा जिल्लामा निषेध आदेश जारी गरिएको छ । वैशाख २२ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिले जिल्ला भर निषेध आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताउनुभयो । निषेध आदेश अवधिभर अनावश्यक काममा हिँडडुल नगर्न स्थानीयलाई प्रशासनले आग्रह गरेको र यस समयमा सङ्क्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिने अधिकृत रोकाले बताउनुभयो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार समुदाय स्तरमा कोभिड १९ सङ्क्रमण फैलिन थालेपछि बागलुङको बरे गाउँपालिकाले वैशाख २२ गते राति १२ बजे देखि वैशाख ३१ गते सम्मको लागि निषेध आदेश दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको गाउँपालिका कोभिड–१९ बिपद व्यवस्थापन समितीको वैशाख २२ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिमा सरकारी कार्यालयले अत्यावश्यक सेवा मात्र अनलाइन प्रवाहगर्ने र अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएको हो । वित्तीय सङ्घ संस्था तथा सहकारीहरुले समेत अत्यावश्यक सरकारी कामको लागि हप्ताको दुई दिन सोमबार र बिहीबार मात्र कार्यालय सञ्चालन गर्ने बताइएको छ । त्यसैगरी जैमिनी नगरपालिकाले सात दिनको लागि निषेध आदेश थप गरेको छ । यस अगाडि नगरप्रमुख सहित राजनितिक दल र सरोकारवालाको बैठकले वैशाख २२ गतेसम्म नगरपालिकाका अति आवश्यक बाहेकका सेवा बन्द गर्ने र सवारी साधनमा जोर विजोर प्रणाली लागुगर्ने निर्णय गरेको थियो तर कोभिड १९ सङ्क्रमितको सङ्ख्या बढ्दै समुदाय स्तरमै सङ्क्रमण देखिन थालेपछि वैशाख २२ गते बसेको सरोकारवालाको बैठकले वैशाख २९ गते राति सम्पूर्ण रुपमा निषेध आदेश गर्ने निर्णय गरेको छ ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि वालिङमा अक्सिजनसहितको ६ बेड तयार पारिएको छ । वालिङ नगरपालिकाले गह्रौ प्राथमिक अस्पतालमा तत्कालका लागि अक्सिजन र नेबुलाईजर सहितको सुविधा सम्पन्न ६ बेड तयार पारेको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । पहिलो चरणको कोभिड १९ को सङ्क्रमणको जोखिम रोकथाम तथा नियन्त्रणमा राम्रो काम गरी पुरस्कृत भएको नगरपालिकाले यसपटक वालिङमै सुविधा सम्पन्न बेड तयारीलाई तिव्रता दिएको हो ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्य चौकीको सेवा वैशाख २१ गतेदेखि बन्द भएको छ ।  स्वास्थ्यचौकी इञ्चार्ज शिवबहादुर केसीका अनुसार स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो । उहाँले  सङ्क्रमण पुष्टि भएपछि कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेण्टाइनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिनुभयो । यस्तै सङ्मण तिव्र गतिमा फैलिरहेको भन्दै माछापुच्छ्रे गाउँपालिका कोभिड–१९ व्यवस्थापन समितिको निर्णय अनुसार गाउँपालिका तथा नौ ओटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

अन्य

भिडियो