INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  २१ गते)

कोभिड–१९ बाट सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जान थालेपछि तनहुँको दमौली अस्पतालले सात आइसियु र चार ओटा भेन्टिलेटर बेडको व्यवस्था गरेको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा दमौली अस्पतालले आइसियु र भेन्टिलेटर बेडको व्यवस्थापन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले बताउनुभयो । उक्त आईसियु र भेन्टिलेटर व्यवस्थापनको लागि मन्त्रालयले दमौली अस्पताललाई २ करोड रुपियाँ उपलब्ध गराएको थियो । आइसियु र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनु नपर्ने दमौली अस्पतालका प्रमुख डा. शुनिल पौड्यालले बताउनुभयो । नयाँ उपकरणको जडान गरिएको भएपनि जनशक्ति भने साविककै दरबन्दीबाट मिलाउनु परेको डा. पौड्यालले बताउनुभयो ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरी निषेधाज्ञा जारी गरेको छ । जिल्लामा वैशाख २१ गते रातिदेखि जेठ ४ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी भएको छ । सङ्क्रमण बढ्दै गएपछि वैशाख २० गते बसेका कोभिड–१९ विपद व्यवस्थापन समितिको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरे बमोजिम निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो ।

गोरखा प्रतिनिधि हरिराम उपे्रतिका अनुसार वैशाख २१ गते वसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आरुघाट गाउँपालिकामा वैशाख २१ गते राति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो । कोभिड –१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर आरुघाट गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभयो  ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङको ताराखोला गाउँपालिकाले समुदाय स्तरमा कोभिड–१९ सङ्क्रमण फैलिएको भन्दै वैशाख ३१ गते सम्म गाउँपालिकाका अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । यसअघि बैशाख १७ गते बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाबाट दिइने सेवा वैशाख २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको भएपनि वैशाख २१ गते कोभिड–१९ सङ्क्रमणको कारण कार्यपालिका सदस्यको मृत्यु भएपछि सूचना जारी गर्दै सेवा बन्द गर्ने समय अवधिथप गरेको गाउँपालिका प्रमुख प्रकाश घर्तीले जानकारी दिनुभयो । गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिका क्षेत्रमा कोभिड–१९ सङ्क्रमणको पहिचान र नियन्त्रणको लागि स्वाब सङ्कलन र परीक्षण गर्ने काम अगाडि बढाएको भन्दै अति आवश्यकनपरे सम्म सर्वसाधारणलाई समेत घरबाहिर ननिस्कन आग्रह गरिएको छ । त्यसैगरी जिल्लाको ढोरपाटन नगरपालिकामा नगरपालिकाका उपप्रमुख करमतीपुनको अध्यक्षतामा इलाका प्रशासन, इलाका प्रहरी, स्वास्थ्य संस्थाका प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरुको वैशाख २१ गते बसेको बैठकले वैशाख २२ गते राति १२ बजेदेखि लागु हुने गरी जेठ ५ गते सम्मको लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । नगरपालिकामा बढ्दै गएको कोभिड–१९ रोकथाम, व्यवस्थापन र अन्य तयारीको लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको उपप्रमुख करमती पुनले बताउनुभयो ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पर्वतले आफ्नो कार्यालय रहेको भवनमा पाँच बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड–१९ सङ्क्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा बेडको अभाव हुने अवस्थामा उक्त बेड प्रयोग गर्न मिल्ने गरी आइसोलेशन कक्षको निर्माण गरिएको पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिए । थापाका अनुसार महासङ्घको कार्यालय रहेको कुश्मा पाँच बडागाउँमा उक्त आइसोलेशन कक्षको निर्माण गरिएको हो । उक्त बेडमा पहिलो प्राथमिकतामा पत्रकारहरु रहनेछन् । सङ्क्रमण पुष्टि भएर आइसोलेशन कक्षमा बस्नुपर्ने पत्रकारले अस्पतालमा बेड नपाएको खण्डमा उक्त कक्षमा राखिने व्यवस्था रहेको अध्यक्ष थापाको भनाइ छ । आइसोलेशन कक्षमा आवश्यक पर्ने अक्सिजन सहितका अन्य उपकरणको लागि भने स्वास्थ्य कार्यालय र पर्वत अस्पताल तथा स्थानीयतहहरुसँग समन्वय गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार बेनी नगरपालिकामा वैशाख २२ गते राति १२ बजे देखि वैशाख ३१ गते राति १२ बजे सम्म निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र म्याग्दीको वैशाख २१ गते बिहान बसेको बैठकले बेनी नगरपालिकाको सिफारिसका आधारमा १० दिनका लागि निशेधाज्ञा लागु गर्ने निर्णय गरेको हो । निशेधाज्ञाको समयमा सार्वजनिक वा निजि यात्रु तथा मालवाहक साधन मोटर साइकल समेत सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताउनुभयो ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार हरिनास गाउँपालिकामा कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको उच्च जोखिम रेहेकोले यसलाई फैलिन नदिन गाउँपालिकालाई वैशाख २१ गते राति १२ बजे देखि २५ गते राति १२ बजे सम्म शिल गरिने भएको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरी सो कुराको जानकारी दिएको छ । डिसीसीएमसीको निर्णयको आधारमा २१ गतेदेखि गाउँपालिका शिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर ले जानकारी दिदै निर्णयको कार्यान्वयन गर्न गाउँपालिका अध्यक्ष मानन्धरले सङ्घ संस्था एवंम सम्पूर्ण गाउँपालिका बासिलाई आग्रह गर्नुभएको छ ।

अन्य

भिडियो