नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तथ्याङक अनुसार गण्डकी प्रदेशमा हालसम्म कुल २२ हजार ८ सय ५० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सङ्क्रमणको दोस्रो लहरसँगै सङ्क्रमितहरूको सङ्ख्या बढन थालेपछि प्रदेशका स्थानीय तहहरूले सङ्क्रमण न्यूनिकरण र सङ्क्रमितहरूको उचित व्यवस्थापनको लागि आइसोलेसनहरूको निर्माण थालेका छन् ।
गोरखा प्रतिनिधि हरिराम उपे्रतिका अनुसार कोभिड–१९ सङ्क्रमणको दास्रो लहरको जोखिम बढ्दै गर्दा गोरखाको स्थानीय तहले आइसोलेसन निर्माण थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिकामा सात, गण्डकी गाँउपालिकामा १०, आरूघाट गाउँपालिकामा १५, पालुङटार नगरपालिकामा २०, र सिरानचोक गाँउपालिकामा पाँच बेड क्षमताका आइसोलेसन तयारी अवस्थामा छन् । यी स्थानीय तहमा ५७ बेड क्षमताको आइसोलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीले बताउनुभयो । पहिलो चरणको कोभिड–१९ सङ्क्रमणको बेला प्रयोग भएका आइसोलेसन नै अहिले तयारी अवस्थामा राखिएको हो । त्यस्तै पहिलो चरणको कोभिड–१९ सङ्क्रमणको बेला प्रयोग भएका ८६ बेड क्षमताका क्वारेण्टाइन पनि तयारी अवस्थामा रहेको र सामान्य सरसफाइ पश्चात ती क्वारेण्टाइन प्रयोग योग्य हुने सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको अवस्थामा कास्कीमा संस्थागत रूपमा क्वारेण्टाइन व्यवस्थापन गरिएको छैन । यद्यपी पहिलो चरणमा बनाइएका ९ सय ६० बेडलाई पुनः प्रयोगमा ल्याउन सकिने गरि राखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बताउनुभयो । जिल्लामा बाहिर बाट आउनेहरूका लागि क्वारेण्टाइन नभइ होम आइसोलेशनमै बस्न भनिएको र जटिल बिरामी भएमा मात्रै अस्पतालको आइसोलेशनमा राख्ने व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो । त्यस्तै जिल्लाका विभिन्न अस्पतालहरूमा आइसोलेशनको व्यवस्थापन गरिएको छ । जसमा पोखरा महानगरपालिकाले एक ओटा आइसोलेसन सेण्टर , पाचँ ओटा गाउँपालिकाका १५÷१५ ओटा बेडको आइसोलेसन तयार पारेका छन् । यसका साथै कास्कीमा नीजि तथा सरकारी अस्पतालहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० बेड र वैशाख २२ गतेदेखी ९५ बेड पुर्याउने गरी व्यवस्थापन भएको छ । यस्तै सरूवा तथा सङ्क्रामक रोग अस्पतालमा ५० वेड, मणिपाल शिक्षण अस्पतालमा ९५, गण्डकी मेडिकल कलेजमा १ सय २३, चरक अस्पतालमा २१,मेडिप्लस अस्पतालमा २५ र फिस्टेल अस्पतालमा २५ बेडको आइसोलेसन तयार रहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनु्भयो । कास्कीमा कुल १ सय ६३ जना कोभिड–१९ सङ्क्रमित आइसोलेशनमा रहेका छन् । जसमा २६ जना आइसियु र २ जना भेन्टिलेटर रहेका छन् । कास्कीमा पछिल्लो चरणको कोभिड सङ्क्रमणका क्रममा पोखरा महानगरपालिकाले सार्वजनिक सूचना मार्फत सचेतना कार्यक्रम गर्दै आइरहेको छ । भने नेपाल प्रहरीले तपाईको मास्क खै अभियान मार्फत सार्वजनिक यातायातमा र पैदल यात्रुहरूलाई मास्क वितरण गर्दै आएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी गरिने भएको छ । नगरपालिकामा वैशाख २१ गते बिहानदेखि जारी हुने गरी १० दिनका लागि वैशाख ३१ गतेसम्म निषेधाज्ञा हुने बागलुङ नगरपालिकाका मेयर जनराज पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञाको अवधिमा खाद्य सामग्री, एम्बुलेन्स, दमकल, दुध, गेडागुडीजन्य उत्पादन, माछा मासु, बीउ विजन, प्रेस पास वाहक तथा स्वास्थ्यकर्मीले प्रयोग गरेका सवारी सधान, निर्माण सामग्री बोकेका साधानहरू बाहेक अरू पूर्ण रूपमा बन्द हुने बताइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको वैशाख १९ गते बसेको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । त्यस्तै कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण देखिएपछि यातायात व्यवस्था कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका एक कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि वैशाख २१ गतेसम्मका लागि सेवा बन्द गरिएको कार्यालयका प्रमुख पारसिङ्ग थापा मगरले जानकारी दिनुभयो । सङ्क्रमितको सम्पर्कमा आएका कार्यालयका अन्य कर्मचारीको स्वाब परीक्षणको लागि पठाइएकोले रिपोर्ट आएपछि सेवा सुचारू गर्ने उहाँले बताउनुभयो । फ्रन्टलाईनमा खटिने पत्रकारहरू कोभिड–१९ को उच्च जोखिममा रहेको भन्दै पत्रकार महासङ्घ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्षको निर्माण गरेको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको महासङ्घका शाखा अध्यक्ष नरेश कँडेलले बताउनुभयो । आइसोलेशनलाई अक्सिजन सहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरी अस्पतालले सहयोग गर्ने र नगरपालिकाले स्वास्थ्यकर्मी खटाउन धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोभिड–१९ को दोश्रो लहर सुरू हुँदा धेरैको ध्यान स्वास्थ्य संस्थामा रहेको अक्सिजन प्रति गएको छ । अक्सिजनको पर्याप्ततामा स्वास्थ्यकर्मी मात्र नभइ सर्वसाधरणले पनि चासो दिन थालेका छन् । विभिन्न जिल्लामा कोभिडका बिरामीको उपचारकोलागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा तनहँुमा भने अक्सिजन भण्डारण र प्लान्ट स्थापना प्रति सरोकारवाला निकायको खासै ध्यान गएको छैन । तनहँु जिल्लाका कोभिडको उपचार गर्ने तीन ओटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्जात रहेको छ । यसैबिच गण्डकी प्रदेश सरकारले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न ७५ लाख रुपियाँ विनियोजन गरिसकेको भएपनि अहिलेसम्म प्लान्ट स्थापना हुन सकेको छैन । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले वैशाख २२ गतेसम्म प्लान्ट तयार गरिने भनेपनि कामदार नआएपछि कार्य सम्पादन हुननसकेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहले आइसोलेसन बेड बनाउने निर्णय भएपनि अहिलेसम्म कुनै पनि स्थानीय तहले आईसोलेशन बेड बनाएका छैनन । दमौली अस्पतालमा भने सात आईसियु र चार भेण्टिलेटर सहितको बेड तयार गरिएको छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेसँगै स्याङजा जिल्ला प्रशासन कार्यालयको वैशाख १९ गते बसेको बैठकले स्याङजा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमणबाट जोगिनुपर्ने भएकाले वैशाख २१ गते देखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेक कुनै पनि पसल, व्यवसाय सञ्चालन गर्न नपाइने तर औषधी पसल भने खुल्ला रहने भएको छ । जिल्लामा हाल धेरै जस्तो सङ्क्रमितहरू होम आइसोलेशनमा बस्ने गरेका छन् भने जिल्लामा १० बेडको आइसोलेसन तयार गरिएको स्वास्थ्य कार्यालय स्याङजाका सूचना अधिकारी विष्णु सुवेदीले जानकारी दिनुभयो ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) र भारतबिच रहेको विनयी त्रिवेणी गाउँपालिका ३ को नाका बन्द गरिएको छ । हाल बाहिरी जिल्ला वा विदेशबाट आउनेहरू होम क्वारेण्टाइन बस्ने गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमितहरू राख्नको लागि ९५ बेडको आइसोलेसन तयार गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । कोभिड–१९ फैलिएसगै दिर्घरोगी र अन्य स्वास्थ्य सम्बन्धी सेवागा्रहीलाई समस्या हुन नदिन जिल्ला प्रशासन कार्यालय नवलपुरले वैशाख १९ गते एम्बुलेन्स चालक र स्वास्थ्य संस्थाहरूका सञ्चालकहरूसँग छलफल गरी एम्बुलेन्स सञ्चालनलाई प्रभावकारी बनाउने र दिर्घरोगी तथा अन्य बिरामीहरूको उपचारको व्यवस्थापन सहि ढङ्गबाट गर्ने निर्णय भएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा गत वर्ष देखि कोभिड–१९ का बिरामीको उपचारका लागि तयार गर्ने भनिएका अत्यावश्यक उपकरण र जनशक्ति अझैसम्म पनि परिचालित हुन सकिरहेका छैनन् । जिल्लामा ठूलो सरकारी अस्पतालको रूपमा रहेको पर्वत अस्पताल यति बेला कोभिड–१९ बिरामीको प्राथमिक उपचार केन्द्र मात्र बन्ने भएको छ । अस्पतालका निमित्त प्रमुख डा. ढुण्डिराज पौडेलका अनुसार अहिले अस्पतालमा आइसियू र भेन्टिलेटर सञ्चालनमा छैन । आइसियूमा खटिने र भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा यी सेवाहरू सञ्चालन हुन सकेका छैनन् । अस्पतालमा पाँच बेडको आइसियू र तीन बेडको भेण्टिलेटर राख्ने गरी उपकरणहरू खरिद गरे पनि सेवा सञ्चालन हुन सक्ने अवस्थामा छैन् । कोभिड–१९ का बिरामीमध्ये सामान्य अक्सिजन दिनपर्नेलाई बाहेक जटिल अवस्था भएका बिरामीलाई सिधै रिफर गर्ने गरिएको प्रमुख डा. पौडेलले बताउनुभयो । होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूको स्वास्थ्य अवस्था जटिल बन्दा अस्पतालले उपचार गर्न नसक्ने अस्पताल प्रमुखको भनाइ छ । अस्पतालमा अहिले १० बेडको आइसोलेसन निर्माण गरिएको छ । पर्वत अस्पतालमा सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा दुई महिना अघि स्थापना गरिएको अक्सिजन प्लान्ट वैशाख १७ गते देखि सञ्चालनमा आएकोे जिल्ला अस्पतालका डाक्टर डिबि अधिकारीले जानकारी दिनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार सदरमुकाम बेनीको कालिपुलमा होल्डीङ सेण्टर सञ्चालनमा ल्याइएको छ । विदेश तथा बाहिरी जिल्लाबाट जिल्ला प्रवेश गर्नेहरूलाई सम्बन्धित स्थानीयतहको जिम्मा लगाउन सजिलो होस भनेर होल्डीङ सेण्टर सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार होल्डीङ सेन्टरमा जिल्लाका सबै स्थानीयतहका कर्मचारीहरू रहने र आ–आफ्नो स्थानीयतहमा समन्वय गरेर जिल्ला प्रवेश गर्ने नागरिकको व्यवस्थापन गर्ने गरिएको छ । जिल्लामा कोभिड–१९ को बिरामीहरूको उपचारका लागि बेनी अस्पतालमा २० बेडको कोभिड अस्पतालको निमार्ण सुरू गरिएको छ । त्यस्तै मुस्ताङ जिल्लामा कोभिड–१९ को सङ्क्रमण न्यूनिकरणकोलागि २७ बेडको आइसोलेसन तयार गरिएको छ ।
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमितहरूकोलागि ६५ ओटा आइसोलेसन बेड तयार गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो ।