INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  १७ गते)

प्रदेशमा कोभिड–१९ सङ्क्रमण बढेसगै गण्डकी प्रदेश मातहतका जिल्लाहरुको स्थानीय तहले सेवा बन्द गरेका छन् ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कोभिड–१९ को नयाँ भेरियन्ट सहितको सङ्क्रमणबाट पर्वतको कुश्मा नगरपालिका स्थित कुश्मा बजार जोखिमयुक्त क्षेत्र भएको घोषणा गर्दै एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड –१९ सङक्रमण व्यवस्थापनका लागि बनेको समितिको वैशाख १७ गते बसेको बैठकले वैशाख १८ गते राति १२ बजेदेखि लागु हुने गरी वैशाख २५ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको जिल्ला कोभिड –१९ सङ्क्रमण व्यवस्थापन समिति सदस्य सचिव विमल गौतमले बताउनुभयो ।  समितिको बैठकले भने कुश्मा नगरपालिकाको बजार क्षेत्रमा रहेका वडा नम्बर ४, ५, ६ र ७ उच्च जोखिम भएको भन्दै १८ गतेदेखि लागु हुने गरी बन्द गर्ने निर्णय गरेको हो । बन्दका क्रममा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन निषेध गर्ने, एम्बुलेन्स, दम्कल, शववाहन, खाद्य सामग्री तथा पशुंपक्षीका दाना, तरकारी, फलफुल, दुध डेरी जन्य उत्पादन, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, सञ्चारकर्मी लगायतका अत्यावश्यक सवारीसाधनलाई परिचयपत्रका आधारमा स्वास्थ्य मापदण्ड अप्नाएर सञ्चालन गर्न दिने समेत निर्णय गरेको छ ।  बैठकले खाद्यसामग्री तथा अत्यावश्यक सेवाका पसलहरुलाई बैशाख १९ गते विहान देखि लागु हुने गरी विहान ७ बजेदेखि १० बजे सम्म र साँझ ४ देखि ७ बजेसम्म सामाजिक दुरी कायम गरेर मात्रै सञ्चालनमा ल्याउने गरी निर्णय गरेको छ भने औषधी जन्य पसलहरु भने पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् ।  पर्वतमा वैशाख १७ गते  दिउँसोसम्म ३४ जना कोभिड–१९ का विरामीहरु सक्रिय रहेका छन् । वैशाख १७ गते मात्रै ६ जनाको एटिजेण्ट परीक्षण गरिएकोमा ४ जना सङ्क्रमित रहेको पाइएपछि यस्तो निर्णय भएको हो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिकाको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएको र थप केही कर्मचारी कन्ट्रयाक टेसिङमा परेको हुँदा वैशाख १९ गतेदेखि २४ गतेसम्म नगरपालिका तथा मातहतका वडाहरुबाट सञ्चालन हुने सेवा बन्द गरिने भएको छ । वैशाख १७ गते बसेको अत्यावश्यक विपद व्यवस्थापन कार्यदलको बैठकले पाँच दिन नगरपालिकाबाट प्रवाह हुने सेवा बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै मन्त्री परिषद्बाट निर्णय भएको दश महिनापछिे धौलागिरी अस्पताल बागलुङमा पिसिआर परीक्षण सुरु भएको छ । गत हप्ता मात्रै अस्पतालमा मेसिन जडान भएको थियो । हप्ता दिन अगाडि मेसिन जडानको काम सकिए पनि स्वाब परीक्षण गर्न सुरु भएको थिएन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति नपाउँदा रोकिएको स्वाब परीक्षण वैशाख ११ गते देखि सुरु गरेको धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । बागलुङसहित धौलागिरीका चार जिल्ला मुस्ताङ, म्याग्दी र पर्वतका नागरिकहरुको पनि स्वाब परीक्षण बागलुङमै हुनेछ ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार मध्यबिन्दु नगरपालिका विपद व्यवस्थापन समितिको वैशाख १७ गते बसेको बैठकले बैशाख मसान्तसम्म सम्पूर्ण शैक्षिक संस्था र अर्को सूचना नहुँदासम्म हाट बजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाको नगर प्रमुख चन्द्रबहादुर राणाले बताउनुभयो ।

 

अन्य

भिडियो