पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ११ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख १४ गते अभिभावकको जिम्मा दिने गरी फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको वैशाख १४ गतेको इजलासले अभिभावकको जिम्मा दिने गरी आदेश दिएको अदालतका श्रेष्तेदार रामाकान्त यादवले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले वैशाख ४ गते हाडनाता करणी गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित बालकलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
बालकविरूद्ध प्रहरीले मुद्दा दर्ता गरी प्रहरी निगरानी कक्षमा राख्दै आएको थियो ।
कानुनी प्रक्रियामा जान बाध्य भए पनि कानुनतः बालबालिकालाई हिरासत तथा प्रहरीको सामु राख्न नमिल्ने भएकाले जति सक्दो चाँडो प्रक्रिया टुङ्गयाउनुपर्ने आवश्यकता रहने सरकारी वकिल रमेश भट्टराइले बताउनु भयो । बालबालिकालाई हत्कडी पनि लगाउन नमिल्ने भएकोले सोही बमोजिम कानुनी कारबाही अघि बढाई अदालतले अभिभावकको जिम्मामा रहने गरी आदेश दिएको भट्टराईले बताउनु भयो ।
आरोपित बालकलाई अभिभावकको जिम्मा दिएपनि अभिभावक तारिखमा आउनुपर्ने वकिल भट्टराईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ४ गते गरिएको थियो ।