कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सूचना जारी गर्दै वैशाख १५ गते बिहानदेखि जिल्लामा एक साता सम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभएको छ । वैशाख १५ गते देखि वैशाख २१ गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधिमा जिल्लाभित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्न निर्देशन दिइएको छ । यस अवधिमा स्वास्थ्य बाहेकका अन्य अत्यावश्यक सेवाहरु निश्चित समयमा मात्र खोल्न पाउने निर्णय भएको छ । सूचना अनुसार सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथ पसलहरु बन्द रहनेछन् । त्यस्तै दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ भने अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द रहनेछन् ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको वैशाख १५ गते बसेको वैठकले जिल्लामा कोभिड १९ सङ्क्रमण फैलिन नदिन ले वैशाख १६ गते देखि जिल्लामा सञ्चालन हुँदै आएका कभर्डहल, पार्टी प्यालेस, सैलुन, व्युटिपार्लर, समुहमा हुने खेलकुद लगायतका कार्य वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ भने जिल्ला भरका विद्यालयहरु पूर्ण रुपमा बन्द गर्ने र पठनपाठन कार्यलाई भर्चुअल माध्यामबाट सञ्चालन गर्न गराउन समेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिका सदस्य सचिव विमल गौतमले जानकारी दिनुभयो । जिल्लामा कोभिड –१९ को सङ्क्रमणलाई रोक्नका लागि जिल्लाका स्थानीय तहहरुलाई आइसोलेसन तथा क्वारेण्टाइनको सङ्ख्या व्यवस्थापन गर्न समेत समितिले निर्णय गरेको छ । पर्वत अस्तालमा सघन उपचार कक्षलाई व्यवस्थित गराउन प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाको टोलीले आवश्यक अनुगमन पश्चात् व्यवस्थापन समेत गरेको छ । महाशाखाका प्रमुख शम्भु ज्ञवालीले जिल्ला अस्पतालमा सङ्क्रमितको उपचारका लागि आर्थिक व्यवस्थापन सहित सेवा प्रवाह सम्बन्धि सम्झौता भएको बताउनुभयो ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार वालिङ नगरपालिका कोभिड–१९ क्राईसिस म्यानेजमेण्ट सेण्टरका अध्यक्ष एवमं नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा वैशाख १४ गते बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिदै गइरहेको नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमणको जोखिम वालिङ नगरपालिकामा पनि बढेर गएको हुँदा सोको रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै वैशाख १५ गतेबाट अर्को सूचना नभएसम्मकालागि नगरपालिकाभित्रका सबै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । विद्यालय तथा क्याम्पसमा भौतिक उपस्थितिमा गरिने पठन पाठन कार्य नगरी अनलाइन माध्यमबाट पठनपाठन सूचारु गर्न पनि बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।