आठवीसकोट नगरपालिका –९ जालदैनकी २६ वर्षीया अनिता आग्रीले २९ वर्षिय पति उदय आग्रीबिरूद्ध घरेलु हिंसा गरेको भन्दै ०७७ चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
पतिले आफूलाई सँधै कुटपिट गर्ने गरेको र पछिल्लो पटक चैत ५ गते फलामको रड र बीयरको बोतलले शरिरका विभिन्न भागमा मरनासन्न हुनेगरी कुटपिट गरेपछि ८ दिनसम्म थला परेको पीडितले दुःखेसो पोख्नुभयो ।
कुटपिटबाट घाइते भएपछि ८ दिनसम्म छिमेकीले हेरचाह गरेको र ९ दिनपछि कानुनी उपचारको लागि आफन्तको सहयोगमा सदरमुकाम खलङ्गगा आएकी अनिता अझै सम्म हिड्न नसक्ने बताउनुहुन्छ ।
स्वाभिमान लघुबित्त संस्था खजुरा बाँकेमा कार्यरत पतिले चैत ५ गते घर आएर बिना कारण आफूलाई कुटपिट गरी दुईजना छोराबाट समेत अलग गराउँदा आफू धेरै पीडामा रहेको अनिताको गुनासो छ ।
स्वास्थ्य उपचार र कानुनी सहयोग गरिदिन भन्दै चैत १३ गते इन्सेकमा निवेदन दिएपछि इन्सेक प्रतिनिधिकै पहलमा प्रहरीमा उजुरी दर्ता गरिएको थियो ।
उजुरीपछि आरोपितलाई छलफलमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कपिल शाहीको भनाई छ ।
पीडितको स्वास्थ्य उपचार जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा भएको अस्पतालका डाक्टर राजकुमार भुजेलले जानकारी दिनुभयो ।