धनकुटा नगरपालिका–६ स्थित धनकुटा बहुमुखी क्याम्पसमा गत फागुन ११ गतेदेखि तालाबन्दी हुँदा २४ दिनयता पठनपाठनलगायत प्रशासनिक काम प्रभावित भएको छ ।
फागुन १० गतेदेखि सञ्चालित स्नातक तह तेस्रो वर्षको परीक्षा सञ्चालनका क्रममा क्याम्पसमा संलग्न परीक्षार्थीको वस्तुगत प्रश्नको उत्तरपुस्तिका क्याम्पसका मानविकी संकायका सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोख्रेलले फेरबदल गरेको आरोपमा फागुन १३ गते नेपाल विद्यार्थी संघले र १४ गतेदेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले ताला लगाएको थियो ।
क्याम्पस प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले र क्याम्पस प्रमुख र सहायक क्याम्पसको कार्यकक्षमा तालाबन्दी गरेको अनेरास्ववियूले ताला लगाएपछि पठनपाठनसँगै क्याम्पसको नियमित कार्य प्रभावित भएको छ ।
फागुन १३ गतेदेखि लगाएको ताला नखोलिँदा पठनपाठन, विद्यार्थी भर्ना अभियान र परीक्षका कार्यक्रम प्रभावित भएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले बताउनु भयो ।
स्नातक र स्नातकोत्तर तह सञ्चालनमा रहेको क्याम्पसमा अध्ययनरत १ हजार ५ सय विद्यार्थीको पठनपाठन सञ्चालनमा समस्या हुनुका साथै परीक्षाका कार्यक्रम प्रभावित भएको क्याम्पस प्रमुख होम बहादुर बस्नेतले बताउनु भयो ।
क्याम्पसकै प्रतिष्ठामा आँच आउने र क्याम्पसमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड भएपछि आन्दोलनमा उत्रिएको अनेरास्ववियू धनकुटा बहुमुखी क्याम्पसका इकाइ समिति संयोजक सञ्जीव लिम्बूले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने लिम्बूको भनाइ छ ।
नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाइ समितिले पनि मानविकी संकायका सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोखे्रललाई तत्काल निलम्बन गरी कारबाहीको माग गर्दै आन्दोलन गरेको इकाइ सभापति करुणा कटुवालले बताउनु भयो ।
क्याम्पस प्रमुख होमबहादुर बस्नेतले अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालय परीक्षा सञ्चालन बोर्डको टोली गत फागुन १६ गते क्याम्पस आएर क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र परीक्षा सञ्चालनमा खटिएका कर्मचारीसँग छुट्टाछुट्टै कुराकानी गरेको थियो ।
अनुसन्धान जारी रहेकाले सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोख्रेल र घटना भएको दिनको परीक्षा इञ्चार्ज सरीता भण्डारीलाई अनुसन्धानभरका लागि परीक्षाका कुनै पनि गतिविधिमा संलग्न नगराउने निर्णय भएको क्याम्पस प्रमुख बस्नेतले बताउनु भयो ।
