ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ०७७ असोज महिनामा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म पनि नपाएको गुनासो गरेका छन् ।
जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो सेवा–सुविधा समयमै लिने तर आफूहरूले ८ महिनादेखीको भत्ता नपाएकोमा कसैले पनि चासो नदिएको उनीहरूको गुनासो छ ।
‘दशैं तिहारमा दिन्छन भन्ने आशा थियो, अहिले आठ महिनासम्म पनि भत्ता पाइएन’ चन्दननाथ नगरपालिका –३ जुम्लाका ७६ वर्षीय दुर्गबहादुर खत्रीले दुःखेसो पोख्नुभयो ‘भत्ता खाउँला भन्दा भन्दै कोहि बुढा बुढीको निधन भइसक्यो ।’
चन्दननाथ नगरपालिकामा ७ सय २० जना ज्येष्ठ नागरिक छन । एकल महिला ३ सय ४५, बालबालिका १ हजार ३ सय ७३ जना र अपाङ्गता भएका व्यक्तिको संख्या १ सय ६६ रहेको छ ।
६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई महिनामा २ हजार रूपियाँ भत्ता तथा ७० वर्ष माथिकालाई २ हजार रूपियाँ भत्तासँगै १ हजार रूपियाँ उपचार खर्च दिने व्यवस्था छ । त्यस्तै, एकल महिलालाई महिनामा २ हजार रूपियाँ र बालबालिकालाई प्रति महिना ४ सय रूपियाँ दिने गरिएको छ ।
चन्दननाथ नगरपालिका सामाजिक सुरक्षा शाखा प्रमुख राजेन्द्र भण्डारीका अनुसार मन्त्रालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम अपुग आएकोले वितरण गर्न ढिलो भएको हो । मन्त्रालयमा रकम माग गरेको र प्राप्त भए लगत्तै वितरण गर्ने उहाँले बताउनुभयो ।