INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

छिन्नमस्ता गाउँपालिका–१ बरही विरपुरका १७ वर्षीय सञ्जिवकुमार साहलाई अपहरण गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय भोलेन्द्रप्रसाद यादवलाई सप्तरी प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ ।

साहको अपहरणको आरोपमा यादवलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले बताउनु भयो ।

छठ पर्व मनाइरहेकै बेला ०६७ कात्तिक २६ गते बरही विरपुरस्थित मिश्र पोखरीको डिलबाट अपहरणमा परेका बालक साहको अवस्था अझैसम्म अज्ञात छ ।

गाउँकै भोलेन्द्रप्रसाद यादव, धर्मदेव यादव, गुलाव शर्मा, राजगढ गाउँपालिका–६ फकिराका अशोक यादव र कृष्णदेव यादवविरुद्ध बालकका दाजु रञ्जित साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गराउनु भएको थियो ।

अपहरण मुद्दामा भोलेन्द्र जिल्ला अदालतको आदेशले ०६८ सालदेखि र अशोक पुनरावेदन अदालतको आदेशले ०६९ मङ्सिरदेखि सप्तरी कारागारमा थुनामा रहेका प्रहरीले जनाएको छ ।

सप्तरी जिल्ला अदालतले अपहरणका सबै आरोपितहरूलाई ०७० मङ्सिर २८ गते सफाई दिएपछि जिल्ला अदालतको फैसला बेरितको भएको भन्दै परेको पुनरावेदनमा उच्च अदालत जनकपुर, राजविराज इजलासले २०७३ भदौ १५ गते आरोपितहरूलाई नौ वर्ष कैद, २५ हजार रुपियाँ जरिबाना र १० लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अपहरित बालकका दाजु रञ्जित साहले बताउनु भयो ।

अन्य

भिडियो