चार छोराछोरी सहित फागुन २४ गते बिहान घरबाट निस्किएकी दैलेखको आठबीस नगरपालिका –३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र तीन जना बालबालिकाको शव कर्णाली नदीमा फेला परेको परेको प्रहरीले जनाएको छ ।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार सुकी बडुवाल र १० वर्षीय छोरा ललित बडुवालको शव फागुन २५ गते दिउँसो कर्णालीको पल्लो किनारा अछामको पञ्चदेवल बिनायक नगरपालिका –४ बेलखेतमा फेला परेको हो ।
सुकीकी जेठी छोरी १५ वर्षीया कल्पना बडुवाल र माहिली छोरी १२ वर्षीया सरिता बडुवालको शव फागुन २४ गते अपरान्ह अछामको बेलखेत स्थित कर्णाली किनारमा फेला पारेपछि प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी कार्य सुरू गरेको डिएसपी श्रेष्ठले बताउनुभयो । सुकीको कान्छी छोरी रजनी बडुवाल अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
सुकीको ३८ वर्षीय श्रीमान मानसिंह बडुवालसँग अघिल्लो साँझ घरायसी विवाद भएको र भोलीपल्ट विहानै चार सन्तान सहित घरबाट निस्किएकोमा दिउँसो दुई छोरीको शव फेला परेपछि उनीहरूले कर्णाली नदीमा हामफाली आत्महत्या गरेको हुनसक्ने अनुमान गरी प्रहरीले खोजी थालेको हो ।
घरमा दिनहुँजसो कलह भइरहने गरेकोले सुकीले चार जना छोरा छोरी सहित आत्महत्याको निर्णय रोजेको हुनसक्ने आठबीस नगरपालिकाकी उपमेयर दीपा बोहोराले टिप्पणी गर्नुभयो ।
घटनाको प्रभावकारी अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआइजी बसन्तकुमार पन्त, दैलेखका डीएसपी अनुपम श्रेष्ठ फागुन २५ गते विहानै घटनास्थल पुगेको डिएसपी श्रेष्ठले बताउनुभयो ।
मृतकहरू दैलेखका बासिन्दा भए पनि अछामको क्षेत्रमा शव फेला परेको कारण पोष्टमार्टम गर्नको लागि अछाम लिने तयारी भएको उहाँले जानकारी दिनुभयो ।