६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित पीडितका सहोदर काका २५ वर्षीय काका फेला नपरेपछि जिल्ला अदालतले फागुन १२ गते सो मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उक्त मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।
पीडितलाई उनकै काकाले ०७५ असार ३० गते बलात्कार गरेको भन्दै पीडितका ३१ वर्षीय बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा ०७५ साउन ४ गते उजुरी दिएका थिए ।
कञ्चनरुप नपा–४ स्थित बहालको घरभाडामा बसेका आरोपितले आफ्नै कोठामा बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालयमा दिएको उजुरी ०७५ साउन ५ गते दर्ता भएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७५ साउन ५ गते गरिएको थियो ।
आरोपित गिरफ्तार नभएपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ०७५ माघ २ गते अदालतमा मुद्दा अभियोजन गरेको थियो ।
जिल्ला अदालतले ०७५ माघ २ गते नै म्यादपुर्जी सहित वारेण्ट जारी गरे पनि हालसम्म आरोपित हाजिर नभएकाले मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतले जनाएको छ ।