२४ वर्षीया महिलाले आफूले न्याय नपाएको भन्दै फागुन ५ गते काठमाडौँको रिपोटर्स क्लबमा पत्रकार सम्मेलनमार्फत् आफूलाई बलात्कार गरेका आरोपितले जिल्ला अदालतबाट सफाई भएको घटनामा न्याय नपाएको र न्याय किनबेच भएको गुनासो व्यक्त गर्नु भएको छ ।
पीडित महिला कोभिड १९ को महामारीका कारण काठमाडौँमा निषेधाज्ञा भएको अवस्थामा निर्माण सामग्री लिएर आएको ट्रिपरमा घर जाने क्रममा धादिङको थाक्रे गाविसको सडक किनारमा ट्रिपरका मालिक २८ वर्षीय निरोज रिजालले भदौ २६ गते बिहान बलात्कार गरेको भन्दै पीडितले धादिङमा रहेको इलाका प्रहरी कार्यालय गजुरीमा सोही दिन उजुरी दिनु भएको थियो ।
आरोपित रिजाललाई प्रहरीले सोही दिन गिरफ्तार गरी असोज ४ गते अदालत पेस गरेकोमा अदालतको आदेशमा सोही दिन पुर्पक्षका लागि धुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते धादिङ अस्पतालमा भएको थियो ।
राति ४ बजे एकान्त सडकमा गाडी रोकेर बलात्कार गरेका रिजालले कसैलाई भने मारिदिने धम्की दिएकोले सो समय प्रतिकार गर्न नसकेको पीडितले बताउनु भएको छ ।
जिल्ला अदालत धादिङले माघ १५ गते पीडितले रक्षार्थ स्वरुप प्रतिकार नगरेको भन्दै आरोपितलाई सफाई दिइसकेको छ ।
यस घटनालाई लिएर पीडितले पुनरावेदन गर्ने बताउँदै पत्रकार सम्मेलनमार्फत न्यायका लागि पत्रकार, नागरिक समाज, मानव अधिकारकर्मीसँग अपिल गर्नु भएको छ ।