नियमित पठन–पाठन नभएको, अतिरिक्त क्रियाकलाप अन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहुँदा पठनपाठनमा समस्या भएको भन्दै माघ १८ गते प्रर्दशन गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा चक्र जनता सहिद गङ्गा माध्यमिक विद्यालयका तीन जना विद्यार्थी घाइते भएका छन् ।
प्रहरीको लाठी चार्जबाट बरहथवा नपा–४ का १४ वर्षीय अभिशेक यादव, बरहथवाका १६ वर्षीया रविना महतो र सोही ठाउँका १५ वर्षीय रामनरेश राय यादव घाइते भएका कक्षा ११ मा अध्ययनरत राकेश राय यादवले बताउनु भयो ।
घाइतेहरूको उपचार बरहथवा क्लिनिकमा गरिएको र घाइतेमध्ये रविना महतोलाई थप उपचारका लागी बीरगंज लगिएको विद्यार्थी यादवले जानकारी दिनु भयो ।

विद्यार्थीहरूले माघ १२ गतेदेखि नै तालाबन्दी गरेको तर माग सुनुवाइ नभएपछि विद्यालयको विषयमा ध्यानाकर्षण गर्न बरहथवा नगरपालिका कार्यालयमा पुगेका बेला प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरी दमन गरेको विद्यार्थीहरूको आरोप छ ।
विद्यालय प्रशासन र नगरपालिकामा समेत पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेको चक्र जना सहिद गङ्गा माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थी १७ वर्षीय रामनारायण महतोले बताउनु भयो ।
बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खिमबहादुर भुजेल र चक्र सहिद गङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवसमेतको सल्लाहमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको कक्षा ९ मा अध्ययरत सरकेश रायले आरोप लगाउनु भयो ।
यसअघि पनि समस्या राख्दा प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने भन्दै धम्की दिएको कक्षा ११ मा अध्यनरत विद्यार्थी ललिता शर्माको आरोप छ ।

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरूले माघ १८ गते नगरपालिका कार्यालय र विद्यालयमा तोडफोडसमेत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापकलागयत प्रमुख प्रशासकीय अधिकृत सहित विद्यालयका बारेमा छलफल भइरहेको बेला विद्यार्थीहरुले नाराबाजी गर्दै ढुङ्गामुढा गर्दा नगरपालिकाको दराज, गेट, झ्यालको सिसा र नगरपालिकाको प्रशासन शाखा प्रमुख कमलप्रसाद पौडेलको बा २० च ९३३७ नम्बरको कारको सिसामा क्षति भएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले जानकारी दिनु भयो ।
विद्यार्थीहरूको माग सम्बोधन गर्ने तयारी भइरहँदा केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थीहरूलाई परिचालन गरेको र विद्यार्थीको नाममा घुसपैठ भएको विद्यालयका प्रधानाध्यापक यादवले बताउनु भयो ।
विद्यार्थीहरूको भीड उत्तेजित भएकाले सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धव सिंह भाटले जानकारी दिनु भयो ।