देशैभर माघ १४ गतेबाट कोभिड–१९, विरूद्धको खोप लगाउने कार्यको थालनी गरिएको छ । माघ १४ गते प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमती प्रदेशमा २ हजार ६ सय ९४, गण्डकी प्रदेशमा १ हजार ८ सय ४३, लुम्बिनी प्रदेशमा ७ सय ३३, कर्णाली प्रदेशमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जना गरी ९ हजार ८४ जनालाई खोप दिइएको छ ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा कोभिड–१९ विरूद्धको खोप लगाउन सुरू गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई माघ १४ गते खोप लगाएर खोप अभियान सुरू भएको छ । प्रदेश १ का ८ जिल्लाका १९ ओटा खोप केन्द्रमा पहिलो दिन खोप लगाइएको छ । पहिलो दिन झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेहृथुमका २८ हजार ५ सय ६ जनालाई खोप लगाइएको छ । मोरङमा पाँच, सुनसरीमा चार, झापा र इलाममा तीनतीन र अन्य जिल्लामा एक–एक ओटा केन्द्र निर्धारण गरिएको छ । प्रदेश १ मा खोप अभियानको सुरूआत गर्दै आन्तरिक मामिला तथा कानुन एवम् सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड–१९ विरूद्धको खोपको अभियान सुरू भएको बताउनु भयो । प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मीसहित ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउने सरकारी तयारी छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जिल्ला अस्पतालका प्रमुख डाक्टर पवित्रा श्रेष्ठलाई कोभिड–१९ विरूद्धको खोप कार्ड हस्तान्तरण गरी खोप अभियानको सुरूआत गर्नु भएको छ । माघ १४ गते १ सय २८ जनाले कोभिड–१९ विरूद्धको खोप लगाएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्रकुमार बुढाथोकीले जानकारी दिनु भयो । जिल्लामा १ हजार ३ सय ३५ जनालाई खोप लगाउने लक्ष्य रहेको सूचना अधिकारी बुढाथोकीले बताउनु भयो । पहिलो खोप दिएको एक महिनापछि पुन दोस्रो मात्रा दिइने छ । जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वयम सेविका, सरसफाईकर्मी, सहयोगी कर्मचारी, एम्वुलेन्सका चालकहरूलाई पहिलो चरणमा खोप लगाइने छ । भोजपुरमा माघ १४ गतेबाट अगामी २३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार जिल्ला अस्पतालमा ५० जना कर्मचारीलाई कोभिड–१९ को खोप लगाइएको छ । जिल्ला अस्पतालका ४७ जना कर्मचारी, सवारी चालक दुई जना र अस्पतालका सुरक्षा गार्ड एक जना गरी ५० जनालाई कोभिड–१९ खोप लगाइएको कोभिड–१९ खोप निरीक्षक तारकेश्वर सिंहले बताउनु भयो । माघ १७ गतेसम्म सञ्चालन हुने खोप सेवामा जिल्ला स्वास्थ्य कार्यालय तेहृथुमबाट २० जना, म्याङलुङ नगरपालिका भित्रका स्वास्थ्यकर्मी, स्वयमसेविका गरी ९४ जना, मेन्छ्यायेम गाउँपालिकाबाट ६५ जना, फेदाप गाउँपालिकाबाट १ सय ६ जना, आठराई गाउँपालिकाबाट १ सय ४६ जना, लालीगुराँस नगरपालिकाबाट १ सय ७ जना, छथरगाउँपालिकाबाट १ सय २७ जना, जिल्ला अस्पतालबाट ५१ जना र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका ७ जना गरी यो चरणमा जम्मा ७ सय २३ जनालाई कोभिड–१८ विरूद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय तेहृथुमका खोप निरीक्षक तार्केश्वर सिंहले बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार एम्बुलेन्स चालक नारायण मण्डललाई माघ १४ गते कोभिड–१९ को खोप लगाइएको छ । इनरूवा अस्पतालमा स्थापना गरिएको खोप केन्द्रमा पुगेर ४७ वर्षीय मण्डलले कोभिड–१९ को विरूद्धको पहिलो डोज खोप लगाइएको हो । एम्बुलेन्स चालकलाई पहिलो डोज लगाएसँगै जिल्लामा कोरोना विरूद्धको खोप अभियानको औपचारिक सुरूआत भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, स्वास्थ्य प्रमुख सागर प्रसाई सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थितीमा इनरूवा अस्पतालबाट खोप अभियानको औपचारिक सुरूआत गरिएको हो । स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा कुल १२ हजार डोज खोप प्राप्त भएको छ ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार प्रदेश २ मा कोभिड–१९ विरुद्धको खोप आज पहिलो दिन ७ सय ३३ जनाले लगाएका छन् । प्रदेशको आठ ओटै जिल्लाको नौ वटा केन्द्र र १४ वटा वुथबाट ७ सय ३३ जनाले कोभिड विरुद्धको खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक बिजयकुमार झाले बताउनु भयो । पहिलो चरणमा अग्रपङ्क्तिमा खटेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मीहरूलाई खोप लगाइएको हो ।
निर्देशक झाले अभियानको पहिलो दिन सबैभन्दा बढी सप्तरीमा १ सय ४६, सर्लाहीमा १ सय २९, पर्सामा १ सय १३, सिरहामा १ सय १०, धनुषामा १ सय २, बारामा ७० र महोत्तरीमा ३७ जनाले खोप लगाइएको जानकारी दिनु भयो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकास मन्त्री नवल किशोर साह सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजबाट अभियानको औपचारिक सुरुवात गर्नु भएको थियो ।
कोभिड अस्पतालका प्रमुख एवम् राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. जामुन सिंहले खोप उत्कृष्ट र पूर्ण सुरक्षित रहेको जानकारी दिनु भयो । डा. सिंहले पहिलो चरणमा यो खोप बालबालिका र गर्भवती महिला लगायतलाई नदिइने जानकारी दिनु भयो ।
पहिलो चरणको लागि प्रदेश २ मा ३४ हजार ८ सय ४ डोज कोरोना भ्याक्सिन आएकोमा हालसम्म ३१ हजार भन्दा बढीको नाम संकलन गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक बिजय झाले बताउनु भयो । पहिलो चरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरूको नाम दर्ता गरिएको छ ।
सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै ७ हजार २७ महिला स्वयंसेवीका र १ हजार २ सय ४ जना सरसफाइकर्मीको नाम खोप लिनेको नाम दर्ता गरिएको झाले बताउनु भयो ।
प्रदेश सरकारले सबभन्दा बढी धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट गौरव महतोलाई प्रथम खोप लगाएर माघ १४ गते कोभिड–१९ विरुद्धको खोप जिल्लामा शुभारम्भ गरिएको छ अग्रपङ्क्तिमा रहेका चिकित्सक, अहेव, अनमि, स्टाप नर्स, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरि प्रथम दिनमा ७० जनालाई खोप दिएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बताउनु भयो । उहाँले माघ १४ गतेदेखि १८ गतेसम्म १६ ओटा स्थानिय तहमा अग्रपङ्क्तिमा रहेका २ हजार ३ सय जनालाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कोभिड १९ बिरुद्धको खोप अभियानको आज बीरगंजबाट शुभारम्भ गर्दै कोभिड १९ विरुद्ध लड्नका लागि थप साहस मिलेको बताउनु भयो । सरोरकारवाला सबैको सहयोगमा प्रदेशमा कोभिड १९ सङ्क्रमणलाई नियन्त्रण गर्न सकिएको मुख्यमन्त्री राउतले बताउनु भयो ।
वीरगंजको नारायणी अस्पतालमा कोभिड १९ विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै मुख्यमंत्री राउतले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मी, सुरक्षकर्मी, सफाइकर्मी तथा संचारकर्मीले प्रर्दशन गरेको हिम्मतको प्रशंसा गर्नु भयो ।
नारायणी अस्पतालले आज पहिलो दिन १ सय १३ जनाले खोप लगाएको मेसु डा. संजय ठाकुरले बताउनु भयो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र वीरगंजस्थित भारतीय महाबाणिज्य दुतावासका महाबाणिज्य दुत नितिश कुमार लगायतको उपस्थिति रहेको थियो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार कोभिड १९ विरुद्धको खोप सुरु गरिएको छ । आज १ सय २९ जनालाई खोप लगाइएको जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । स्वास्थ्यकर्मी ४३, कार्यालय सहयोगी, भान्से, सरसफाइका कर्मचारी गरी २६, महिला स्वयम्सेविका २०, एम्बुलेन्स चालक एक र सुरक्षा निकायका कर्मचारी ३९ जनालाई खोप लगाइएको छ ।
जिल्ला अस्पताल मलंगवाका प्रमुख डा. संजिवकुमार सिंह, स्वास्थ्य कार्यालयका प्रमुख श्रवन कुमार नायक र सरकारी वकिलको कार्यालय प्रमुखलाई जिल्ला अस्पताल मलंगवामा कोभिड १९ विरुद्धको खोप दिएर उदघाटन गरिएको जिल्ला अस्पतालका प्रमुख डा.संजिवकुमार सिंहले जानकारी दिनु भयो ।
पहिलो चरणमा ५ हजार ३ सय डोज खोप १० दिनमा लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
पहिलो चरणको खोप लगाए पश्चात चार हप्ता पछि ७० प्रतिशत जनसङ्ख्यालाई खोप दिने सरकारको नीति अनुसार १८ वर्ष वा सो भन्दा माथिको अन्य व्यक्तिलाई पनि खोप दिइने प्रमुख डा. सिंहले बताउनु भयो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार कोभिड १९ महामारीको समयमा अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, शव व्यवस्थापनमा खटिनु भएका सुरक्षाकर्मी, सरसफाइकर्मी गरी १ सय १० जनाले माघ १४ गते खोप लगाएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनु भयो ।
जिल्ला अस्पतालको तिन ठाउँमा खोप केन्द्र राखेर प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, जिल्ला अस्पतालका मेसु डा. नागेन्द्र यादव र खोप अधिकृत रामस्वरुप यादवले पहिले खोप लगाएर उद्घाटन गरीएको थियो ।
सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलका अनुसार कोभिड–१९ सङ्क्रमण विरुद्धको खोप लगाउन माघ १४ गतेदेखि सप्तरीमा सुरु गरिएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै व्यानर पढेर अभियानको शुभारम्भ गर्नु भएको हो । उद्घाटनका क्रममा मन्त्री साहले खोप परीक्षण गरेर ल्याइएकोले सुरक्षित र प्रभावकारी भएको बताउँदै डर नमानी ढुक्क भएर खोप लगाउन आग्रह गर्नु भयो ।
राजविराजस्थित अस्पताल र रुपनी गाउँपालिकास्थित पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाको देवी–जोगेन्द्र भगत) मा खोप लगाइने स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो । पहिलो चरणमा स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप लगाइने र दोस्रो चरणमा सर्वसाधारण समेतलाई लगाउने योजना रहेको उहाँले बताउनु भयो । जिल्लाका लागि आएको ८ सय ३३ भायल कोरोना भ्याक्सिनले ३ हजार ७ सय ५४ जनालाई लगाउन सकिने स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले जानकारी दिनु भयो । खोप लगाउनेलाई खोप लगाएको प्रमाणका रूपमा परिचयपत्र वितरण गरिदैछ । परिचयपत्रमा खोप लगाउने व्यक्तिको नाम, उमेर, ठेगाना, सम्पर्क नम्बर, खोप लगाएको मिति, खोपको नाम, खोपको ब्याच नम्बर तथा खोप लगाइदिने स्वास्थ्यकर्मीको नाम उल्लेख हुन्छ ।
अस्पतालका अनुसार खोपको पहिलो डोज लगाएको चार सातापछि दोस्रो पटक लगाउनुपर्ने हुन्छ । दोस्रोपटक खोप लगाउँदा कार्ड अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम बनाइएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजीतकुमार झाका अनुसार गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिला, गम्भिर विरामी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप अभियानमा सहभागी गराइने छैन् । खोप लगाउँदा कसै–कसैलाई जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, डाबर देखिने, कमजोरी महसुस हुने भए पनि खतरा नरहेको डा. झाले बताए । ‘केही असर देखा परेर औषधि आवश्यक देखिए त्यस्का लागि अस्पतालले टिम तयार राखेको छ ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौंडा अस्पतालमा आयोजित खोप शुभारम्भ कार्यक्रममा प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोभिड बिरुद्धको खोप अभियानको शुभारम्भ गर्नुभएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप लगाउने बताउँदै मूख्यमन्त्री पौडेलले अभियानबाट कोरोनालाई पराजित गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले विश्वका धेरै मुलुकमा अहिले खोप नपुगेको समयमा नेपालमा आएको बताउनुभयो । नेपाल सरकारले खोप ल्याउन सक्छ कि सक्दैन भन्ने भ्रम पनि यसले चिरेको भन्दै कोरोना नियन्त्रण गर्न सरकार लागिपरेको बताउनुभयो ।
बागमती प्रदेशका ३५ ओटा केन्द्रबाट आज १३ जिल्लामा खोप लगाउन सुरु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताउनुभयो । अहिलेसम्म खोप लगाउनका लागि बागमती प्रदेशमा ७६ हजार भाइल खोप प्राप्त भएको र ६४ हजार स्वास्थ्यकर्मीको तथ्यांक संकलन भएको मन्त्रालयका प्रवक्ता डा. सेढाईले बताउनुभयो । हेटौंडास्थित स्टोरबाट प्रदेश २ का महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि खोप पठाईने बताइएको छ ।
ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियानको पहिलो दिन ललितपुरका तीन ओटा खोप केन्द्रमा ५ सय ८९ जना व्यक्तिले खोप लगाएका छन् ।
जिल्लाका ३ खोप केन्द्रहरु पाटन अस्पतालमा ३ सय ६२ जना, किष्ट अस्पतालमा १ सय ७० जना र आनन्दवन अस्पतालमा ५७ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएको स्वास्थ्य स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले बताए ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा परेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै देशैभर खोप लगाउन सुरू गरिएको हो ।
अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिहरुको सहभागिता उल्लेख्य रहेको भन्दै मन्त्रालयले स्वतस्फूर्त सहभागिताका लागि धन्यवाद समेत दिएको छ । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेलेकोमा सबैप्रति स्वास्थ्य कार्यालयले धन्यवाद समेत दिएको छ ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार रसुवामा कोभिड १९ विरुद्ध खोप शुभारम्भ भएको छ । स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठले खोप लगाएर रसुवामा खोप प्रारम्भ भयो । पहिलो डोज ५ सय जनाको लागि प्राप्त भएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि खोप लगाउने बहाँले बताउनुभयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड–१९ विरुद्धको खोप नुवाकोटमा पहिलो दिन १ सय ४१ जनाले लगाएका छन् । त्रिशूली जिल्ला अस्पतालमा अस्पताल प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले माघ १४ गते खोप लगाएर सेवा शुभारम्भ गराउनु भएको थियो । डा. पाण्डेले खोप लगाएपछि भन्नुयो ‘यो सुरक्षित खोप हो । अरुले लगाउँदा डराउन पर्दैन ।’ पहिलो दिन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकालाई गरी एक सय ४१ जनालाई खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले जानकारी दिनुभयो । जिल्लाका २ नगरपालिका र १० वटा गाउँपालिकाका २ हजार ४२१ जना स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरसफाईकर्मी तथा एम्वुलेन्स चालकहरुलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयले जनाएको छ । त्रिशुली अस्पताल र खरानीटार अस्पतालहरुमा कोरोना भाइरस विरुद्ध लगाउने खोप सेवा सञ्चालन गएिको छ । खरानीटारमा माघ १६ गतेबाट सेवा सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप जिल्लामा तीन स्थानलाई केन्द्र मानेर दिन थालिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल र वघौडा अस्पताल माडीमा केन्द्र तोकिएको छ । १२ गते साँझ ४ हजार १ सय डोज खोप चितवन आइपुगेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताउनुभयो ।
खोप अभियानको पहिलो दिन भरतपुर अस्पतालमा १ सय २० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । रत्ननगरमा १ सय १९ र बघौडा अस्पतालमा ४० जनाले खोप लगाएका छन् । जिल्लामा पहिलो चरणमा ६ हजारलाई खोप दिइने तयारी भएको छ । जसमा स्वास्थ्यकर्मी, स्वयमसेविका सफाई कर्मचारी, एम्बुलेन्स चालक र कोरोना शव व्यवस्थापनमा जुट्नेहरुका लागि लगाउन थालिएको प्रमुख तिवारीले बताउनुभयो ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत जिल्लामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स चालकहरुलाई लगाइएको छ । खोप अभियानको पहिलो दिनमा ९० जना स्वास्थ्यकर्मीलाई खोप लगाइएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भुवन पौडेलले बताउनुभएको छ । धादिङबेसी स्थित धादिङ अस्पतालको एमसिएच क्लिनिकमा खोप केन्द्र तोकिएको छ । धादिङ स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेल, धादिङ अस्पतालका प्रमुख डा. त्रिभुवनचन्द्र झाले खोप लगाएर सुरुवात गर्नुभएको थियो ।
धादिङमा रहेका २ नगरपालिका र ११ गाउँपालिकालाई भिन्दाभिन्दै दिन समय निर्धारण गरि माघ २० गतेसम्म खोप लगाइने व्यवस्था मिलाइएको र छुटेकाहरुलाई माघ २४ गते खोप लगाउने योजना स्वास्थ्य कार्यालयले बनाएको छ । कोभिसिल्ड नामक सो भ्याक्सिन १ हजार ३ सय ४० भायल धादिङमा आएको र १ हजार ३ सय ३४ जनालाई खोप लगाउनेरु रहेको बताइएको छ ।
रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियानको पहिलो दिन जिल्लामा ३९ जनाले खोप लगाएका छन् । मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स चालक र सफाईकर्मी गरी ३९ जनालाई खोेप लगाइएको हो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार पहिलो चरणमा जिल्लाका १ हजार ४ सय ७७ जनालाई खोप लगाइने छ । थापाका अनुसार जिल्लामा ५ सय ५४ जना सरकारी सेवाका स्वास्थ्यकर्मी, ७० जना निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र ७ सय ५२ जना महिला स्वास्थ्य स्वयम्सेविका, ३५ जना एम्बुलेन्स चालक, ४५ जना सुरक्षाकर्मी र २१ जना सफाईकर्मीलाई खोप लगाईँदै छ । बाग्मती प्रदेश सरकारले रामेछापका लागि १ सय ५९ भाइल खोप पठाएको छ । जसबाट १ हजार ५ सय ९० जनालाई खोप लगाइने छ ।
सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार जिल्लामा कोभिड–१९ को विरुघको खोप लगाउन सुरु गरिएको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेललाई खोप लगाएर जिल्लामा खोप अभियान सुरु गरिएको छ । जिल्लाका नौ ओटै स्थानीय तहका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविका, एम्बुलेन्स चालकहरु, सरसफाई कर्मचारी शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी सहित १ हजार ५ सय जनालाई खोप लगाइने भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्रकुमार शाहले बताउनु भयो ।
स्वास्थ्य कार्यालयले तीन जना खोप कर्मचारी खटाएर दैनिक ३ सय जनालाई खोप लगाउने गरी पाँच दिनको कार्य तालिका बनाएको छ । जिल्ला खोप समितिको माघ १३ गते बसेको बैठकको निर्णय प्रमुख शाहका अनुसार पहिलो चरणमा खोप लगाउनका लागि जिल्लामा १ हजार ६ सय ९२ जनाको सूचि तयार गरिएको छ । खोप लगाउँदा समस्या आउन सक्ने भएकाले आधाघण्टा स्वास्थ्यकर्मीकै निगरानीमा बस्नका लागि आराम कक्षको समेत व्यवस्था गरिएको छ । कसैलाई समस्या आएमा निःशुल्क उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था समेत गरिएको छ । कोभिडको खोप लगाईसकेपछि अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले नडराएर खोप लगाउन आग्रह गरेका छन । नयाँ खोप भएकाले मनमा डर हुन सक्छ भन्ने लागेर आफूले पहिले खोप लगाएको उहाँले बताउनु भयो । जिल्ला खोप व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले परीक्षण सफल भई लगाउन थालिएको भएकाले नडराई लगाउन सबैलाई खोप आग्रह गर्नु भएको छ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले माघ १४ गते बिहान १०ः३० बजे कोभिड–१९ विरुद्धको खोप पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका निर्देशक डा अर्जुन आचार्यलाई हस्तान्तरण गरेपछि प्रदेशका ११ ओटै जिल्लामा खोप अभियान शुरुआत भएको घोषणा गरिएको थियो । मुख्यमन्त्री गुरुङले खोपको शुुरुआत भएबाट कोभिड–१९ विरुद्धको लडाइमा ठूलो सफलता हासिल भएको बताउनुभयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्लामा पहिलो खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा बुद्धिबहादुर थापाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगाउनुभएको थियो । कास्कीमा क्षेत्रीय अस्पतालसहित मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र सङ्क्रामक रोग नियन्त्रण अस्पताल लेखनाथ गरी चार ओटा खोप केन्द्र तोकिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पहिलो चरणमा ५ हजार ६ सय ७१ जनालाई खोप लगाइने छ भने पहिलो दिन माघ १४ गते कास्कीका ५ सय ७६ जनालाई खोप लगाइएकोे छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यका अनुसार प्रतिष्ठानका २ हजार जनाले पहिलो चरणको खोप लिनेछन् भने अस्पतालमा खोप लगाउने जनशक्ति अभाव नरहेको डाक्टर आचार्यले बताउनुभयो ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक लगायतका व्यक्तिहरुलाई खोप लगाउन आह्वान गरेपनि पहिलो दिनमा नै खोप अभियानमा स्वास्थ्यकर्मीको न्यून सहभागिता देखिएको छ ।
पहिलोचरणका कार्यक्रम अन्तरगत कुश्मा नगरपालिका कार्यक्षेत्र भएका ३५ जना, पर्वत अस्पतालमा कार्यरत २ जना, स्वास्थ्य कार्यालयमा कार्यरत १२ जना स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र शव व्यवस्थापनमा खटिएका चार जना सुरक्षाकर्मी गरी १ सय ३३ जनालाई माघ १४ गते खोप लगाउने तयारी गरिएपनि ६८ जनाले मात्रै खोप लगाए । जस अन्तर्गत सरसफाइकर्मी, सवारी तथा एम्बुलेन्स चालकहरुको सहभागिता राम्रै देखिएपनि जिल्ला भित्र कार्यरत स्वास्थ्यकर्मीहरु नै खोप लगाउन हिच्किचाएको एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा बताए । पहिलो दिन भएका कारणले पनि स्वतस्फुर्त आउन नसकेको स्वीकार्दै अभियानको अन्तिम दिनसम्म लक्षित सवै स्वास्थ्यकर्मीहरु खोप अभियानमा सहभागी हुने अपेक्षा राखिएको पर्वत अस्पतालका डाक्टर शिशिर देवकोटाले बताए ।
पर्वतमा १४ माघदेखि १८ गते सम्म सञ्चालन हुने पहिलोचरणको अभियान अन्तर्गत जिल्ला भरका स्वास्थ्य संस्थामा कार्यरत १ हजार २ सय ३१ स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाउने तयारी गरिएको छ भने कोभिड १९ को सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनका लागि खटिएका चार जना नेपाली सेनाका सुरक्षाकर्मीहरु गरी १ हजार २ सय ३५ जनालाई पनि खोप दिने भएको छ । खोप अभियान अन्तरगत पर्वतमा १ हजार ३ सय ८० डोज कोभिशिल्ड खोप पर्वतमा भित्रिएको छ ।
खोपका कारण कुनै व्यक्तिमा समस्या देखिएमा तत्काल समस्याको समाधान गर्ने गरी स्वास्थ्यकर्मी तैनाथ राखिएको अस्पताल पर्वतका प्रमुख डा. शिशिर देवकोटाले बताए । खोप पूर्ण रुपमा सुरक्षित छ भन्दा भन्दै पनि कुनै समस्या आइपर्न सक्ने भवितव्यलाई मध्यनजर गर्दै तयारी अवस्थामा बसेको डा. देवकोटाले बताए ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार तनहुँमा माघ १४ गते स्वास्थ्यकर्मी, सरसफाइकर्मी र महिला स्वास्थ्य स्वयम्सेविका १ सय ४ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ । जिल्लामा कुल १ हजार ८ सय ९० खोप भित्राइको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबावु अधिकारीले जानकारी दिनु भयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख डाक्टर दिवाकर पराजुलीलाई खोप लगाएर माघ १४ गते बागलुङमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बागलुङमा खोप लगाउने कार्य माघ २४ गते सम्म सञ्चालन हुने छ । खोप लगाइसकेपछि त्यसको असर के कस्तो रहन्छ भन्ने बारे खोप प्रापकलाई न्यूनतम आधा घण्टा निगरानीमा राख्नको लागि अस्पतालमा निगरानी कक्ष तयार गरिएको छ ।
माघ १४ गते धौलागिरी अस्पताल बागलुङमा अस्पतालका ७५ जना र बागलुङ नगरपालिकाका ७५ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप लगाइएको छ । कार्यक्रममा स्वास्थ्य कार्यलय बागलुङका प्रमुख सुरज गुरौले बागलुङ जिल्लामा पहिलो चरणमा १ हजार ८ सय ६१ जनालाई खोप लगाइने बताउनु भयो । उहाँले माघ १५ गते बागलुङ नगरपालिकाका १ सय जना, काठेखोला गाउँपालिकाका ५० जना र धौलागिरी अस्पतालका ५० जनालाई, १६ गते काठेखोेला गाउँपालिकाका ५० जना बागलुङ नगरपालिकाका १ सय र धौलागिरी अस्पतालका ५५ जनालाई, १७ गते जैमिनी नगरपालिकाका ५०, काठेखोला गाउँपालिकाका ४५, बागलुङ नगरपालिकाका ५० र बडिगाड गाउँपालिकाका ४० जना, १८ गते काठेखोला गाउँपालिकाका ४५, गल्कोट नगरपालिकाका ५०, जैमिनी नगरपालिकाका ५० र ढोरपाटन नगरपालिकाका ५० जनालाई, १९ गते ताराखोला गाउँपालिकाका ५०, गल्कोट नगरपालिकाका ५० र निसीखोला गाउँपालिकाका ५० जनालाई, २० गते बडिगाड गाउँपालिकाका ५०, तमानखोला गाउँपालिकाका ४०, गल्कोट नगरपालिकाका ५० जना र बरेङ गाउँपालिकाका ५० जनालाई, २१ गते जैमिनी नगरपालिकाका ६३, बडिगाड गाउँपालिकाका ४०, गल्कोट नगरपालिकाका ५० र ताराखोला गाउँपालिकाका ४४ जनालाई, २२ गते निसीखोला गाउँपालिकाका ५०, ढोरपाटन नगरपालिकाका ५० र गल्कोट नगरपालिकाका २६ जनालाई, २३ गते बरेङ गाउँपालिकाका ५५, तमानखोला गाउँपालिकाका ३४ र बडिगाड गाउँपालिकाका ४० जनालाई र अन्तिम दिन २४ गते बडिगाड गाउँपालिकाका ३८, ढोरपाटन नगरपालिकाका ५५ जना र निसीखोला गाउँपालिकाका ४१ जनालाई खोप लगाईने बताउनुभयो । खोप लागाउनका लागि बागलुङ नगरपालिकाका छ जना र धौलागिरी अस्पतालका छ जना गरी १२ जना स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिई तयार गरिएको छ । खोप लगाएपछि शरिर दुख्ने, ज्वँरो आउने, खोप लगाएको ठाउँमा रातो हुने जस्ता सामान्य लक्षण देखिन सक्ने भन्दै गुरौले नआत्तिन समेत सुझाव दिनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतिका अनुसार गोरखामा माघ १४ गते १ सय १६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । जसमध्ये ८९ महिला र २७ पुरुष रहेका छन् । स्वास्थ्यकर्मी ५८ जना महिला स्वास्थ्य स्वंयसेविका ५१ जना र कार्यालय सहयोगी पाच जना र दुइ जना एम्वुलेन्स चालकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत २ हजार १० डोज खोप आएकोे जसमध्ये १७ सय ८७ जनालाई पहिलो चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजु रमण न्यौपानेले बताउनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्लामा कोभिड १९ विरुद्धको खोप लगाउने क्रममा पहिलो चरणमा माघ १४ गते १ सय ३० जनाले खोप लगाएका छन् । जसमध्ये ९७ जना महिला र ३३ जना पुरुष रहेका छन् । जिल्लालाई पहिलो चरणमा ८ सय २१ जनालाई खोप लगाउने लक्ष लिएको र माघ १८ गते सम्म लक्षित सबैलाई लगाइने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । त्यसैगरी हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो दिन ३९ जनाले खोप लगाएका छन् । मुस्ताङमा २ सय ४० डोज आएको र पहिलो दिनमा ३९ जनालाई लगाइएको स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीले बताउनुभयो । पहिलो चरणको खोप कार्यक्रम १८ माघ सम्म जोमसोममा रहनेछ ।
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार लमजुङ जिल्लामा कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप १ हजार ५ सय ७० जनाको लागि १ हजार ६ सय खोप ल्याइएको जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । आठ ओटा स्थानिय तह रहेको लमजुङ जिल्लामा पहिलो पहिलो चरणको खोपको लागि माघ १४ गते ३ सय जनालाई खोप लगाइएको प्रमुख श्रेष्ठको भनाइ छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्लामा १ हजार ७ सय १० जनालाई खोप लगाउन लक्ष्य लिइएको छ भने माघ १४ गते १ सय ९४ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय प्रमुख विष्णु सुवेदीले बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा माघ १४ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनाललाई पहिलो खोप लगाउदै खोप अभियानको सुरू गरिएको हो । पहिलो दिन नवलपुरमा २ सय जनालाई कोभिड– १९ विरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार १ सय २९ जना महिला ७१ जना पुरुष गरी कुल २ सय जनालाई खोप लगाइएको हो । जिल्लामा माघ १७ गते सम्म खोप लगाइने उहाँले बताउनुभयो । नवलपुरका लागि पहिलो चरणमा १ हजार १ सय ७० डोज खोप आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । खोप प्रयोगका क्रममा १० प्रतिशतको हाराहारीमा नष्ट हुन सक्ने भएकाले प्राप्त खोपबाट करिब एक हजार ५० जनालाई लगाउन सकिने प्रमुख चापागाईले बताउनुभयो ।
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार जिल्लामा कोरोना भाइरस विरूद्धको खोप अभियान माघ १४ गते १० बजेबाट सुरू भएको छ । खोप अभियान अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सरसफाईकर्मी लगायतलाई खोप लगाइने भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताउनु भयो । उहाँले खोप लगाएर अभियानको सुरूवात गरेको बताउँदै खोप अभियान सुरू भएको पहिलो दिन १ सय २० जनामा कोरोना खोप लगाइसकेको बताउनु भयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज वलीले माघ २४ गतेसम्म चल्ने खोप अभियानमा ७ हजार ५ सय जनालाई कोभिड १९ विरूद्धको खोप दिइने बताउनु भयो । उहाँले बाँकेमा भेरी अस्पताल नेपालगञ्ज, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर मेडिकल कलेज र अन्य निजी अस्पतालहरूमा खोप अभियान सञ्चालन हुने बताउनु भयो ।
रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी लगायतका प्रतिनिधिहरूका अनुसार कोरोना भाइरस विरूद्धको खोप अभियान १७ गतेबाट सुरू गरिने भएको छ । यसैगरी पाल्पामा माघ १६ गतेबाट खोप दिइने भएको छ ।
कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती अचार्यका अनुसार तौलिहवामा माघ १४ गते देखि कोरोना विरूद्धको पहिलो चरणको खोप अभियान सुरू भएको छ । तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा राखिएको खोप केन्द्रमा प्रमुख जिल्ला अधिकारी एवं कोरोना खोप समन्वय तथा अनुगमन समितिका संयोजक दिर्घनारायण पौडेलले अभियानको शुभारम्भ गर्नु भयो । भने पहिलो खोप कपिलवस्तु अस्पतालमा मेसु किशोर बन्जाडेले लगाउनु भएको हो । यस्तै दोश्रो खोप स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले लगाउनु भयो । पहिलो दिन कपिलवस्तु अस्पतालका ५४ जना र स्वास्थ्य कार्यालयका ६ जना गरी ६० जनाले खोप सेवा लिएका छन् ।
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसर दाङमा दुई ओटा खोपकेन्द्रबाट कोभिड विरूद्धको खोप दिन सुरू गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट खोप सुरू गरिएको हो । माघ १४ गते २ सय ११ जना चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको छ । घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सागर पन्थी र राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरका मेसु डा. विनोद सिंहले खोप लगाएर उद्घाटन गर्नु भएको थियो ।
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार पहिलो दिन १४ पुरुष र ६ महिला स्वास्थ्यकर्मीहरुलाई कोरोना बिरूद्धको खोप लगाइएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन आफूले अस्पतामा हुने कार्यक्रममा पहिलो खोप लगाएको उहाँले बताउनुभयो । दैलेखमा पहिलो चरणमा चार हजार चार सय असी जना सूचीकृत गरिएका जनाइएको छ । आपत्कालिन सेवाका लागि जगेडा समेत आठ हजार आठ सय भाइल खोप आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार कोरोना विरुद्धको खोप अभियान अन्तरगत माघ १४ गते सल्यानमा ३० जनाले खोप लगाएका छन् । पहिलो दिन स्वास्थ्य सेवा कार्यालय सल्यानमा कार्यरत स्वास्थ्यकर्मी र कार्यालय सहयोगी गरि ३० जनालाइ कोरोना बिरूद्धको खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले भ्याक्सीन स्वास्थ्य सेवा कार्यालयलाइ हस्तान्तर गरे लगतै पहिलो खोप डाक्टर केशव महतले लगाउनु भएको हो । सो अवसरमा स्वास्थ्य सेवा कर्यालय सल्यानका डाक्टर दिक्षान्त मल्लले भ्याक्सीनको प्रयोगको बारेमा जानकारी दिनुभयो ।
रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार पहिलो चरणमा चौरजहारी मिसन अस्पतालबाट ३१ जना र जिल्ला अस्पताल सल्लेबाट ३० जना गरेर ६१ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मि, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईमा खटिने कर्मचारीलाई लगाउने कार्यक्रम रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकिले जानकारी दिनुभयो ।
पहिलो चरणमा सातसय ५० जनाले कोभिड १९ बिरुद्धको खोप लगाउने कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । हाल जिल्लामा दुईसय ३८ भाईल खोप आएको उहाँले बताउनुभयो । जसमध्य २५ भाईल खोप चौरजहारी अस्पतालमा पठाएको र बाँकी खोप स्वाास्थ्य सेवा कार्यालयमा नै राखिएको छ ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार पहिलो दिन कोरोनाविरुद्धको खोप १ सय २२ जनाले लगाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्थापना गरिएको खोप केन्द्र खोप लगाएका हुन् । ५६ जना महिला, ६६ पुरुषले खोप लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताउनुभयो । यसमा ८३ जना स्वास्थ्यकर्मी सरसफाईकर्मी, एम्बुलेन्स चालक गरी ३९ जना रहेका छन् । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार चन्दननाथ नगरपालिका ५१० जना, पातारासी ११५ जना, गुठीचौर ८४ जना, कनकासुन्दरी १५२ जना, सिंजा १०० जना, हिमा १४३ जना, तिला ११८ जना, तातोपानी गाउँपालिका ११४ जना र ६३ थना थप गरी १ हजार ४ सय जना खोप दिइने छ ।
जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार जाजरकोट जिल्लामा ८१० जना स्वास्थ्यकर्मी र महिला स्वयम् सेविकाको लागि आएको कोरोना भाइरस बिरूद्धको भ्याक्सीन मध्य पहिलो दिन जिल्ला स्वास्थ्य सेवा कार्यालयका १८ जना महिला र २२ जना पुरूष स्वास्थ्यकर्मीलाई लगाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटका मेडिकल अधिकृत डाक्टर औसरसिं राठौरले बताउनु भयो ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार पहिलो दिन २९ जना स्वास्थ्यकर्मीलाई कोरोना बिरूद्दको खोप लगाइएको जिल्ला अस्पताल हुम्लाका सुचना अधिकारी भक्ति फडेराले बताउनु भएको छ । माघ १५ गतेदेखि सातवटै गाउँपालिकाका कर्मचारीलाई समेत लगाइने फडेराले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले हुम्लाका लागि करीब १ हजार ९ सय खोप उपलब्ध गराएको छ ।