माघ १४ गते २ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४ हजार ३ सय ८२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६५ हजार ७९ जना निको भएका छन् ।
माघ १४ गते २ सय ४६ जना निको भएका छन् भने निको हुनेको दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १४ गतेसम्म २ हजार २० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
३ हजार २ सय ८६ जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार ४ सय १० जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ३९ जनाको उपचार आइसीयूमा र २३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गतेबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको हो ।
नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । माघ १४ गते ९ हजार ८४ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।