INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाका नेता–कार्यकर्तालाई झुठा मुद्दामा गिरफ्तार नगर्न सर्वोच्चको आदेश

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता–कार्यकर्तालाई बिना कारण झुठा मुद्दामा गिरफ्तार नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नेकपाका लमजुङ जिल्ला इन्चार्ज जङ्गबहादुर भण्डारीसहित तीन जना जिल्ला नेताको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्दै सर्वोच्चले बिना कारण गिरफ्तार नगर्न पुस १४ गते आदेश गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र ईश्वर खतिवडाको इजलासले जङ्गबहादुरसहित तीनै जनालाई रिहा गर्दै ‘बहानाबाजी गरेर पुनः गिरफ्तार नगर्न’ गृह प्रशासनलाई आदेश दिएको छ ।

तनहुँको आवुखैरेनीबाट नेकपाका लमजुङ इन्चार्ज भण्डारी, जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ र जिल्ला समिति सदस्य रवीन्द्र नखोलालाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको थियो । उनीहरूलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीले अभद्र व्यवहार मुद्दामा थुनामा राखेको थियो  ।

बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्चले पुस १२ गते ‘थुनुवा झिकाउने’ आदेश गरेको थियो । सो रिटको सुनुवाइ गर्दै न्यायाधीश केसी र खतिवडाको ईजलाशले उनीहरूलाई छाड्ने आदेशसँगै थप आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो ।

सर्वोच्चको आदेशबाट छुटेपछि उनीहरूलाई गिरफ्तार गर्न प्रहरी परिचालन गरिएको सूचनाका आधारमा सर्वोच्चले पुनः गिरफ्तार गरेमा गृह–सचिव र प्रहरी प्रमुखलाई नै कारबाही गर्ने लिखित आदेश भएको हो ।

अन्य

भिडियो