प्रतिबन्धित नेकपाका सेती महाकाली ब्युरो इन्चार्ज लम्कीचुहा नगरपालिका—१ का ४६ वर्षीय गणेशप्रसाद ढकाललाई प्रहरीले पुस १३ गते जिल्ला प्रशासन परिसरबाट पुनःगिरफ्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, कैलालीले ढकाललाई पुस १३ गते साधारण तारेखमा रिहा गरेको भएपनि प्रहरीले जिल्ला प्रशासन कार्यालयकै परिसरबाट पुनःगिरफ्तार गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, कैलालीले सार्वजनिक मुद्धा अन्तर्गत ढकाललाई साधारण तारिखमा रिहा गरेको भएपनि ढकालमाथि चन्दा असुली र सङ्गठन बिस्तारको मुद्दामा जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने भएकोले पुनःगिरफ्तार गर्नु परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
ढकालविरुद्ध सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय, कैलालीमा बहस हुँदा जिल्ला प्रशासन कार्यालयले साधारण तारिखमा रिहा गर्ने आदेश दिएको जिल्ला प्रशासन कार्यालय, कैलाली मुद्दा फाँटका प्रमुख इश्वरी जोशीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीबाट गएको प्रहरी टोलीले प्रतिबन्धित नेकपाका व्युरो इन्चार्ज ढकाललाई पुस १ गते घरबाट गिरफ्तार गरीे जिल्ला प्रशासन कार्यालय, कैलालीमा सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेको थियो ।
अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएका ढकालको स्वास्थ्यमा समस्या देखिएपछि उहाँको पुस ८ गते सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा कोभिड सङ्क्रमणसमेत पुष्टि भएको थियो ।
ढकाललाई कोभिड सङ्क्मण पुष्टि भएकोले हाल जिल्ला प्रहरी कार्यालय, कैलालीको आइसोलेशनमा राखिएको डिएसपी विष्टले बताउनु भयो ।