मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य पुस ६ गतेबाट नै स्थगित गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले इन्सेक अनलाइनसँग कुरा गर्दै निर्वाचनको मिति घोषणा भएकै दिनदेखि तोकिएको निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘निर्वाचन आयोग ऐनमा नै निर्वाचनको मिति तोकिएकै दिनदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गर्नपर्ने व्यवस्था छ ।’
उहाँले निर्वाचनको घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचनको तयारीका अन्य कामहरू थालिसकेको पनि बताउनु भयो ।
अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूची तयार पारिने पनि उहाँले बताउनु भयो ।
सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ ।