सरकारले एक गाँउ एक कृषि प्राविधिक राख्ने अवधारण लागु गरेको भएपनि आफूहरुले कृषि प्राविधिक सेवा नपाएकै कारण कृषिजन्य बालिमा रोग लागेर नोक्सानी बेहोर्नु परेको दिपायल सिलगढी नगरपालिकाका कृषकहरुले गुनासो गर्नु भएको छ ।
दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडाका कबिता भण्डारीले आफूले लगाएको तरकारी बालिमा रोग लागेको भएपनि कृषि प्राविधिकबाट सल्लाह पाउन नसक्दा तरकारीहरु बारीमा नै कुहिन लागेको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– समयमै प्राविधिक सल्लाह पाउन सकिएको छैन् । जसका कारण टामाटर खेती नै नष्ट भएको छ । जिविकोपार्जनमा समस्या हुने भएको छ ।
दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी कृषक जमुना साउदले कृषि प्राविधिकहरु कार्यालयमा मात्रै सिमित हुँने र गाँउमा नआउने गरेका कारण आफूहरुले लगाएको तरकारीबाली नष्ट भएको दुखेसो पोख्नु भयो । के रोग लागेको हो र कस्तो प्रकारको किटनासक औषधि प्रयोग गर्ने भन्ने बारेमा आफूहरुलाई ज्ञान नभएकोले कृषि खेतिबाट लाभ लिन नसकिएको उहाँको भनाइ छ ।
उहाँले भन्नु भयो– कृषि प्राविधिकहरु कहिल्यै पनि किसानको खेतबारीमा आउने गरेका छैनन । प्राविधिकहरु न आएकै कारण आफूहरुले सुरु गरेको व्यवसायीक कृषि खेती नष्ट भएको छ ।
बिभिन्न जातका साग तरकारी तथा बिउ लगाउँदा बिउमा रोग लागि कुहिएको र नगरपालिका कृषि शाखामा जानकारी गराउँदा कुनै सुनवाइ नभएको दिपायल सिलगढी नगरपालिका–४ दिपायलका कृषक जगत माझिले दुखेसो पोख्नु भयो ।
कृषक महासङ्घ जिल्ला अध्यक्ष भरत बोहराले कृषि प्रविधिक गाँउमा नजाने गरेको कारण किसानहरुले समस्या झेल्दै आएको बताउँदै यसका लागि आफूले सम्बन्धीत निकाएको ध्यानाकर्षण गराने बताउनु भयो ।
दिपायल सिलगडी नगरपालिकाका कृषि शेवा केन्द्रका प्रमुख हिक्मत साउदले भौगोलिक क्षेत्र ठुलो भएको र कृषि सेवा केन्द्रमा कर्मचारी कम भएकै कारण किसानको खेतबारीमा समयमै पुग्न नसकेको बताउँदै आगामी दिनमा कृषकहरुको समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो ।
केन्द्र तथा प्रदेश सरकारले दरबन्दी अनुसार कर्मचारी नपठाउँदा समस्या भएको बताउँदै कृषकहरुको समस्या समाधानका लागि आफूले पहल गर्ने दिपायत सिलगडी नगरपालिकाका उपप्रमुख शिबराज खड्काले बताउनु भयो ।