१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नपा–५ मोहनपुर घर भई शम्भुनाथ नपा–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका ४० वर्षीय गेनाइ राम चमारलाई जिल्ला अदालतले मङ्सिर २८ गते आठ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले रामलाई आठ वर्ष कैद सजायका साथै १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिनु भयो ।
पीडित बालिकालाई रामले पटक–पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा ०७४ फागुन २० गते उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७४ फागुन २१ गते गरिएको थियो ।
प्रहरीले ०७४ फागुन २२ गते रामलाई गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशमा ०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राखिएको प्रहरीले जनायो ।