INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई धम्की

मनास्लु डटकमका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य शहिद लखन गाउँपालिका–१ बक्राङ निवासी ३७ वर्षीय राजेन्द्र न्यौपानेलाई समाचार प्रकाशनको विषयलाई लिएर गोरखा नगरपालिका–५ सतिपिपलका २५ वर्षीय रचन परियारले मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासङ्घ गोरखा शाखाले मङ्सिर २१ गते विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार न्यौपानेले गोरखा अस्पतालका चिकित्सक माथि मङ्सिर २० गते एक समूहले गरेको दुर्व्यवहार घटनाको विषयमाथि समाचार लेख्नुभएको थियो ।

पत्रकार न्यौपानेले के भएको थियो गोरखा अस्पतालमा भन्ने शीर्षकमा समाचार प्रकाशन गर्नुभएको थियो ।

समाचारमा गोरखा अस्पतालमा भएको घटना र स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारबारे लेखिएको थियो ।

सोही समाचारलाई लिएर परियारले सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर मार्फत न्यौपानेलाई फोन गरी धम्क्याएको पीडितको आरोप छ ।

पत्रकार महासङ्घ गोरखा शाखाले जारी गरेको विज्ञप्तिमा समाजमा आतङ्क फैलाउँदै समाचार लेखेबापत धम्की दिने उपर तत्काल गिरफ्तार गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।

महासङ्घका अध्यक्ष किशाेर जङ्ग थापाले जिल्ला प्रहरी कार्यालय गोरखामा मङ्सिर २२ गते परियारविरुद्ध कारवाहीको माग गर्दै उजुरी दिनुभएको इन्स्पेक्टर धर्म अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

अन्य

भिडियो