१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–६ का १८ वर्षीय सन्देश बुढाथोकी र सोही ठाउँका १८ वर्षीय मानदेव बुढाथोकीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सुर्यप्रकास सुवेदीले जानकारी दिनुभयो ।
पीडित बालिकालाई आरोपितहरूले ०७६ साउन २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ भदौ २६ गते पाँच जना आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिए ।
घटनाका अन्य तीन जना आरोपित सर्केगाड गाउँपालिका–६ का २२ वर्षीय रत्न बुढाथोकी, सोही ठाउँका २० वर्षीय ठामा बुढाथोकी र १७ वर्षीय एक बालकलाई ०७६ भदौ २६ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
घटना लगत्तै पक्राउ परेका दुइजना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एकजना नाबालक भएकोले बालसुधार गृह बाँकेमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ भदौ २६ गते जिल्ला अस्पताल हुम्लामा गरिएको प्रहरीले जनायो ।