INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दिबास घटनाका सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको चासो

महोत्तरी जिल्लाको बर्दिवासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाप्रति संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कर्यालयले गम्भीर चासो व्यक्त गरेको छ ।

नेपाली सञ्चार माध्यममा प्रकाशित समाचारलाई आधार मानेर मङ्सिर ११ गते प्रेस विज्ञप्ति जारी गरी संयुक्त राष्ट्रसङ्घले उक्त घटनाको कडा शब्दमा निन्दा गरेको छ ।

विज्ञप्तिमार्फत रास्ट्रसङ्घको नेपालस्थित कार्यलयले कानुनी प्रक्रियाको सुनिश्चितता गरी अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारवाही गर्न आग्रह गरेको छ ।

प्रदर्शनकारीलाई आफ्ना माग कानुनी परिधिभित्रै रहेर राख्न तथा सुरक्षा बललाई परिस्थितिको सही आँकलन गरी संयमता अपनाउन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

बर्दिबास नपा–१४ शुभम् बस्तीबाट मङ्सिर ७ गते हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्या गरिएको अवस्थामा मङ्सिर ८ गते राति शव फेला परेको छ ।

मङ्सिर ७ गते साँझदेखि बस्तीबाटै हराएकी बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईँले बताउनु भयो । बालिकालाई हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव फेला परेको उहाँले बताउनु भयो ।

हत्याका आरोपितलाई कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्गस्थित बर्दिवासमा मङ्सिर ९ गते गरिएको विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका थिए ।

घाइते हुनुभएका बर्दिबास नपा–१ का सञ्जय भनिने ३२ वर्षीय बुद्धिराज न्यौपानेको उपचारको क्रममा मङ्सिर ९ गते राति काठमाडौँमा मृत्यु भएको छ ।

बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले मङ्सिर ११ गते समिति गठन गरेको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको मन्त्रालयले जनाएको हो ।

प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोस् 

अन्य

भिडियो