१८ वर्षीया युवतीलाई ०७७ जेठ २३ गते बेलुका पानी भर्न गएको समयमा सिगास गाउँपालिका–२ का २२ वर्षीया युवक दिपक धामीले बलात्कार गरेको घटना एक तोला सुनमा मिलापत्र गराएको रहस्य खुलेको छ ।
अहिले मिलापत्र गरिएको कागजमा उललेख गरिएको सुन नदिएर पीडितका दाइलाई कुटपिट गरेपछि उक्त घटना र मिलापत्र भएको कुरा सार्वजनिक भएको हो ।
पीडित युवतीका आफन्त र गाउँले मिलेर उक्त घटना ०७७ असार १४ गते आरोपितले एक तोला सुन दिने शर्तमा कागज गरी मिलापत्र गरिएको पीडित युवतीले बताइन् । मिलापत्र गरिएको कागजमा पीडित र आरोपितबिच झै झगडा भएको उल्लेख गरिएको छ ।
परिवार र गाउँलेहरूको दबाबमा मिलापत्र भएको भन्दै उक्त घटनाकी पीडित युवती अहिले न्यायको खोजीमा सदरमुकाम आइपुगेकी छन् ।
डरत्रास देखाएर घटना मिलापत्र गराएपछि आरोपित भने भारत गएको पनि पीडित पक्षले आरोप लगाएको छ ।
दाजुले घटना मिलापत्र गराएको पीडितकी दिदीलाई थाहा थिएन तर अहिले पीडितकी दिदीले उक्त कुरा थाहा पाएपछि बहिनीको न्यायका लागि बहिनीसँगै दिदी पनि सदरमुकाम आइपुगेकी छिन् ।
‘जेठ २३ गते दुई घण्टा हिँडेर पानी भर्न जाँदा ज्यान मार्ने धम्की दिएर बलात्कार गर्यो । उक्त घटनालाई गाँउमै मिलाएर बलात्कार गर्नेलाई गाउँलेले नै जोगाउन खोजे ।’–पीडितले भनिन् ।
पीडित युवती र उनका आफन्तहरू न्यायको खोजीका लागि सदरमुकाम आइपुगे लगत्तै मङ्सिर १० गते साँझ इन्सेक प्रतिनिधिसँग भेटेर न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण अधिकारीसँग उक्त घटनाको न्यायका लागि छलफलसमेत गरेका छन् ।
छलफलका क्रममा डिएसपी नारायण अधिकारीले पीडित युवतीलाई छिटै जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरेका छन् । पीडित युवती जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा छन् ।