INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १४ गते)

कात्तिक १४ गते ३ हजार ५ सय १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक १४ गतेसम्म ९ सय २० जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक १४ गते थप १६ जना सङ्क्रमितको मृत्यु भएको हो । सङ्क्रमितमध्ये १ लाख २८ हजार ९ सय ५८ जना निको भएका छन् । कात्तिक १४ गते ४ हजार ९६ जना निको भएका छन् भने निको हुनेको दर ७६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३८ हजार ३ सय ७५ जनाको उपचार भइरहेको छ ।

गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै आएपछि जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कात्तिक १४ गते राति १२ बजेदेखि कुश्मा बजार बन्द गर्ने निर्णय गरेको छ । कात्तिक १३ गते प्रमुख जिल्ला अधिकारी, जिल्लाका स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि र अन्य सरोकारवाला सहितको बैठकले कात्तिक १४ गते राति १२ बजेदेखि सात दिन सम्मका लागि साविकको जिल्ला सदरमुकाम कुश्मा बजारबाट हुँदै आएका सेवा सुविधा बन्द गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विमल गौतमले दिनु भएको जानकारी अनुसार कुश्मा नगरपालिकाको कार्यालयसँगै मातहतका वडा कार्यालय ४, ५ ,६ र ७ बाट हुँदै आएका सेवा सात दिनसम्म बन्द गर्ने र अत्यावश्यक बाहेकका व्यवसायहरू पनि बन्द गर्ने निर्णय भएको छ । कुश्मा बजारभित्र व्यवसाय सञ्चालन गरी बस्ने केही व्यक्तिहरूमा समेत कोभिड–१९ पुष्टि भएपछि यस्तो निर्णय गरिएको गौतमले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमणलाई न्यूनीकरण गर्नका लागि प्रहरीले कुश्मा बजार र जिल्लाका अन्य शहरी क्षेत्रमा मास्क लगाउने अभियानलाई कडाई गर्दै आइरहेको छ ।

कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार तातोपानी गाउँपालिकाले पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएपनि मेडिकल अधिकृत पाएको छैन । गाउँपालिकाले ५ नम्बर वडाको ऐरेनीमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेका अनुसार आवश्यक सुविधा थप्दै जाने गरी अहिले आइसोलेशनमा रहनेका लागि शैया मात्र राखिएको छ । ‘आइसीयू, भेण्टिलेटरसहितका उपकरण थप्ने तयारी छ ।’–उहाँले भन्नुभयो । गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृत कसैको आवेदन नपरेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताउनुभयो । हाल दुई जना स्टाफ नर्स र एक कार्यालय सहयोगी कार्यरत छन् ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । कोभिड–१९ को जोखिम बढेकाले कात्तिक ११ गतेबाट नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनु भयो । बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिनका लागि बन्द गरिएको हो । हुम्लामा अहिलेसम्म २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने १४ जना निको भएका छन् ।

अन्य

भिडियो