INSEC Online

📅 २०८३ जेष्ठ २१

व्यवस्थापन समितिका अध्यक्षद्वारा शिक्षकमाथि कुटपिट, घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका निमित्त प्रधानाध्यापक ३५ वर्षीय भुपेन्द्रकुमार साहलाई विद्यालय व्यवस्थापन समितिका ३१ वर्षीय अध्यक्ष चितरञ्जन यादव र ३० वर्षीय सदस्य सञ्जीवकुमार यादवले गालीगलौज, कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले असोज ३० गते अभद्र व्यवहारको उजुरी दर्ता गरेको छ ।

विद्यालय परिसरमा असोज २९ गते आरोपितहरूले कुटपिट, गालीगलौज गरेको भन्दै निमित्त प्रधानाध्यापक साहले दिएको अभद्र व्यवहारको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

निमित्त प्रअ साहसहित शिक्षक ४५ वर्षीय रामनारायण यादव र लेखापाल ४५ वर्षीय रामलखन यादवमाथि दुव्र्यवहार गरेको र बचाउ गर्न आएका शिक्षकहरू भुवनेश्वरी साह र शिखा देवलाई पनि हातपात गरेको निमित्त प्रअ साहले आरोप लगाउनु भयो ।

प्रअ साहले राजविराजस्थित निजी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई समेत मनोमानी ढङ्गले विपन्न लक्षित छात्रवृत्ति वितरण गरेको विषयमा विवाद हुँदा धक्काधुक्की भएको तर कुटपिट नगरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक सुर्यनारायण यादवको गत भदौ ७ गते हृदयघातबाट निधन भएपछि साह निमित्त प्रधानाध्यापक हुनु भएको हो ।

छात्रवृत्ति वितरणको विषय बहाना मात्रै भएको बताउँदै निमित्त प्रअ साहले विष्णुपुर गाउँपालिका–१ खुरहुरीयामै घर भएका कटैया फत्तेपुर माविका प्रधानाध्यापक विरेन्द्रकुमार यादवलाई सरुवा गरेर ल्याउने योजनामा सहयोग नगर्दा कुटपिट र दुर्‍व्यवहार भएको दावी गर्नुभयो ।

घटनाप्रति घोर भत्र्सना गर्दै नेपाल शिक्षक महासङ्घ र सङ्घीय शिक्षक फोरम नेपालले असोज ३० गते र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले कात्तिक १ गते छुट्टा–छुट्टै विज्ञप्ति जारी गरी निमित्त प्रअ र शिक्षकहरूलाई गालीगलौज र कुटपिट गर्नेहरूलाई कारवाही गर्न माग गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिकी सदस्य रेणुदेवी यादवले जिल्ला प्रहरी कार्यालयमा असोज ३० गते नै अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेको आरोप लगाउँदै निमित्त प्रअ साह, शिक्षकहरू रामनारायण यादव, महेश यादव र लेखापाल रामलखन यादवविरूद्ध अभद्र व्यवहारको उजुरी दिनुभएको छ ।

अन्य

भिडियो