INSEC Online

📅 २०८३ जेष्ठ २१

एक कार्यक्रमको आयोजना गरी परियोजना सकिएको जानकारी

इन्सेकको नेतृत्वमा जागरण नेपाल, नेपाल अपाङ्ग समाज, दलित सेवा सङ्घको सहकार्यमा २०१५ जनवरीबाट सञ्चालित नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढिकरण नामक दुई वर्षे परियोजनाको एक कार्यक्रमका बिच समापन भएको जानकारी दिइएको छ ।

ललितपुरमा पुस १२ गते आयोजित कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले परियोजना सकिए पनि अभियान भने जारी रहेको बताए । उनले भने-‘परियोजनाका नाममा खातापाता बन्द गरिएको हो । तर, विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा हाम्रो अभियान भने जारी छ ।’ उनले यो परियोजनाले सफलता हासिल गरेको जानकारी दिँदै काम गरेर व्यवहारमा स्थापित गरेपछि त्यसपछि गरिने दावा पनि दरिलो हुने बताए ।

कार्यक्रममा जागरण नेपालकी संस्थापक अध्यक्ष शर्मिला कार्कीले सेवाप्रदायक र सेवाग्राहीबिच भएको सञ्चारको कमीलाई निमिट्यान्न पार्न सके सेवाग्राही लाभान्वित हुने बताइन् । उनले भनिन्-‘मूलतः कार्यक्रम सञ्चालित क्षेत्रका नागरिकको सशक्तिकरण गर्ने काम यो परियोजनाले गरेको छ ।’

दलित सेवा सङ्घका अध्यक्ष चक्रमान विकले दलित समुदायको विकासका लागि जातीय विभेदको अन्त्य गर्नु पर्ने विचार राखे । उनले भने-‘राज्यको लगानी विना नै दलितको सिपलाई प्रयोग गर्न सकिन्छ । उनीहरूको सिपको प्रवर्धन अहिलेको आवश्यकता हो ।’

नेपाल अपाङ्ग समाजकी अध्यक्ष तेजकुमारी तिवारीले यो परियोजनाका कारण अपाङ्गता भएका व्यक्तिका अधिकारका सवाललाई समाजको तल्लो तहसम्म पुर्‍याउन सकिएको बताइन् । उनले भनिन्-‘अपाङ्गता भएकाले दलितको सवाल, दलितले महिलाका सवाल, महिलाले दलितका सवाल अर्थात अन्तरसम्बन्धित सवाललाई उठाउन सक्ने भएका छौँ । यसले सकारात्मक सन्देश पनि बोकेको छ ।’

दुई वर्षको अवधिमा गरिएका कामबाट प्राप्त मुख्य उपलब्धिलाई परियोजना संयोजक सारा न्यौपानेले जानकारी दिएकी थिइन् ।

कार्यक्रममा परियोजना सञ्चालित सुनसरी, सिरहा र सप्तरी जिल्लाका सहजकर्ता तथा अन्य सहभागीले परियोजनाको समीक्षा गरेका थिए । सो अवसरमा परियोजनाका कारण प्राप्त सफलताका कथाहरू सम्मिलित पुस्तक ‘आशाका पाइलाहरू’ सार्वजनिक गरिएको थियो ।

0

0

0

0

0

0

0

0

0

0

0

0

0

0

0

0

0

0
सबै फोटोः बिमलचन्द्र शर्मा

अन्य

भिडियो