INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई दिनदेखि जारी आमहड्तालका कारण जनजीवन प्रभावित

प्रदेश नं. ५ टुक्र्याउने गरी संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरुद्ध संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको तीन दिने आमहड्तालको दोस्रो दिन आज पनि विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार पुस २ गते बिहानैदेखि सार्वजनिक यातायातका साधन चलेनन् भने कलकारखाना पनि ठप्प रहे । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भालुवाङ-अमेलिया क्षेत्र, लमही-घोराही-तुलसीपुर र अमेलिया-सल्यान एवम् तुलसीपुर-सुर्खेत सडक दिनभर नै सुनसान रहे । घोराही, लमही, तुलसीपुर, भालुवाङलगायतका मुख्य बजार पनि खुलेनन् ।

बन्दकर्ताहरूले ठाउँठाउँमा अवरोध सिर्जना गरी यातायात चल्न दिएनन् । बन्दका क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले बताए । बन्दका कारण मङ्सिर ३० गतेदेखि घोराहीमा चलेको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवसमेत प्रभावित बनेको छ । बन्दकर्ताहरूले साँझ ५ बजे कोणसभा गरी रातभर यातायात चल्न दिने उद्घोष गरेका छन् ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार आम हडताल सफल पार्न आन्दोलनकारीहरू बिहानै पसल, उद्योग, कलकारखना, र यातायातका साधनहरू बन्द गराउँदै हिँडेका थिए । दिनभर जिल्ला ठप्प रह्यो भने नागरिकको जनजीवन प्रभावित भयो ।

बन्दका क्रममा प्रचण्ड सरकार राजिनामा देउ, प्रदेश टुक्र्याउन पाईँदैन, संशोधन प्रस्ताव फिर्ता लेउ भन्दै गीतको माध्यमबाट आन्दोलनकारीले माग गरेका छन् ।

बन्दमा आन्दोलनकारीबाट कुनै किसिमको क्षति नपुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार पुस १ गते जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरीले बल प्रयोग गरेको विषयप्रति प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले माफी मागेका छन् ।

photo20161217gulmi

प्रहरी र बन्दकर्ताबिच झडप हुँदा सदरमुकाम तम्घास पुस १ गते दिनभर तनावग्रस्त भएको थियो । झडपमा प्रहरी र आन्दोलनकारी गरी २५ जना घाइते भएका थिए । प्रहरीले अनावश्यक लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको भन्दै आन्दोलन परिचालन कमिटीले कडा आपत्ति जनाएपछि पुस २ गते छलफल भएको थियो ।

photo20161217gulmi1

पुस २ गते जिल्ला विकास समितिमा सुरक्षा समिति र आन्दोलन परिचालन कमिटीबिच भएको छलफलमा प्रजिअ ढुङ्गानाले आन्दोलनकारी र प्रहरीमासमेत केही अराजक व्यक्ति हुने भएकाले त्यस्तो परिस्थिति आएको बताए ।

photo20161217gulmi2

उनले भोलिका दिनमा प्रहरी र प्रशासनको तर्फबाट त्यस्तो गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेको परिचालन कमिटीले जनाएको छ । छलफलमा बहालवाला सांसदले मञ्चमा भाषण गरिरहेका बेला अश्रुग्यास हान्ने र सांसद नै घाइते हुनेगरी प्रहरीले लाठी हानेको भन्दै जिल्ला स्तरीय राजनीतिक दलका प्रमुखहरूले प्रजिअ ढुङ्गानाको कडा आलोचना गरेका थिए ।

सांसद कमला विकले व्यावस्थापिक संसद सदस्यले समेत कुटाई खाने गरी प्रहरीलाई लाठी चार्ज गर्न आदेश दिने प्रजिअ ढुङ्गानाको बारेमा संसदमासमेत कुरा उठाउने बताइन् । उनले ०६२/०६३ सालको जन आन्दोलनमा समेत लाठी चार्ज र अश्रुग्यास प्रयोग नभएको जिल्लामा शान्तिपूर्ण आन्दोलन हुँदा २५ जना घाइते हुने गरी लाठी चार्ज गर्ने र १५/१६ ओटा अश्रुग्यास प्रहार गर्ने काम निन्दनीय भएको औँल्याइन् ।

आन्दोलन परिचालन कमिटीका संयोजक भुवनप्रसाद श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्नु पर्ने आवश्यकता नै नभएको भन्दै दमन पनि अराजक भएको र परिस्थितिले जनतालाई उत्तेजित गर्ने काम गरेको बताए ।

आजको सर्वपक्षीय छलफलमा सुरक्षा निकायका अधिकारीहरू र आन्दोलनकारी दुवैको संयमता अपनाउने निर्णय भएको बताइएको छ । साथै घाइतेको उपचार खर्च स्थानीय प्रशासनले व्यहोर्ने र भौतिक सम्पति क्षतिको लगत राख्ने लगायतका विषयमा पनि निर्णय भएको आन्दोलन परिचालन कमिटीका संयोजक श्रेष्ठले बताए ।

हिजो भएको झडपमा नेकपा मालेकी सांसद कमला विकसहित आन्दोलनकारी र प्रहरी गरी २५ जना घाइते भएका थिए । जिविसका २ वटा गाडीमा आगजनी भएको थियो । आन्दोलनकारीले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयका झ्यालका सिसा फुटाएका थिए ।

सरकारले संविधान संशोधनमार्फत साविकको ५ नम्बर प्रदेशलाई विभाजन गर्न लागेको भन्दै १८ दिन देखिको बन्दले जनजीवन कष्टकर बनेको छ । तीन दिने आम हडतालको दोस्रो दिन जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, उद्योग व्यावसाय, कलकारखाना, यातयात सबै ठप्प भएका छन् ।

गुल्मीको आन्दोलनमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, नागरिक समाजलगायतको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्व आह्वा गरिएको आमहड्ताल अन्तर्गत पुस २ गते पनि जिल्लाको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ ।

संविधान संशोधन प्रस्तावमार्फत प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लाहरूलाई प्रदेश नं. ४ मा गाभ्न खोजेर तराई र पहाडलाई अलग्याउन खोजिएको भन्दै मङ्सिर १५ गते देखि संयुक्त सङ्घर्ष समिति पाल्पाको आयोजनामा पाल्पामा चरणबद्ध आन्दोलन हुँदै आएको छ ।

बन्दका कारण सडकमा सार्वजनिक सवारीका साधन चलेनन् । विद्यालय, कलकारखानासमेत ठप्प भए । बन्दका समयमा प्रेस, एम्बुलेन्स, मानव अधिकारकर्मीका सवारी साधन भने निर्वाध रूपमा चलेका थिए । बन्दका क्रममा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध आह्वान गरिएको तीन दिने आमहड्तालको दोस्रो दिन पुस २ गते जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताले बसपार्क रोडमा रहेको दिपा फेन्सी पसलमा बन्दको अवज्ञा गरेको आरोपमा तोडफोड गरेका छन् भने सुर्खेत रोडमा एउटा मोटरसाइकललाई क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार संविधान संशोधन प्रस्तावको रोल्पामा पुस २ गते कविताबाट विरोध गरिएको छ । संयुक्त सङ्घर्ष समितिको विरोध कार्यक्रम अन्तर्गत आज नेपाली लेखक सङ्घ रोल्पाले गरेको सडक कविता वाचन कार्यक्रममा साहित्यकारहरूले साहित्यमार्फत संशोधन प्रस्तावको विरोध गरेका थिए । कार्यक्रममा १२ जना भन्दा बढी साहित्यकारहरूले आफ्ना सृजनामार्फत सरकारको विरोध गरेका थिए ।

संविधान संशोधन प्रस्तावको विरोधमा आह्वान गरिएको बन्दका कारण रोल्पाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भए भने बजार, पसल, होटल, उद्योग कलकारखानासमेत पूर्ण रूपमा बन्द गरिएको थियो ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा आह्वान गरिएको आम हडतालको दोस्रो दिन पनि यस क्षेत्रको जनजीवन पूर्ण प्रभावित बनेको छ ।

photo20161217rupandehi

संयुक्त सङ्घर्ष समितिले गरेको आम हडतालका कारण पुस २ गते दिनभर पनि यस क्षेत्रमा लामो तथा छोटो दुरीका सवारी साधनहरू (रिक्सा समेत) चल्न सकेनन् ।

बन्दकर्ताहरूले बिहानैदेखि रुपन्देहीका मुख्य बजारहरू मिलनचोक, राजमार्ग चौराहा, योगीकुटी, गोलपार्क, अस्पताल लाईन, मणिग्राम, भैरहवाको देवकोटा चोक, बुद्धचोक, मिलनचोक, सालझण्डी, देवदहको खैरेनी लगायतका स्थानहरुमा जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । बन्दका कारण यस क्षेत्रका उद्योग धन्दा, कलकारखाना, औषधी पसल, शैक्षिक संस्थाहरु र वजार  पूर्ण रुपमा बन्द रहे ।

बन्दकर्ताले एम्बुलेन्स, विवाह, सञ्चार, मानव अधिकारकर्मीका गाडीहरू तथा दुधका गाडीहरूलाई भने चल्न दिएका थिए ।

बन्दका कारण कुनै किसिमको क्षति नभएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

 

अन्य

भिडियो