हरिनगर गाँउपालिकाले ०७७ वैशाख ९ गतेदेखि वैशाख १६ गतेसम्म राहत स्वरूप वितरण गरेको चामल गुणस्तरीय भएको दाबी गरेको छ ।
गाँउपालिकाले वैशाख १७ गते पत्रकार सम्मेलन गरी राहतमा वितरण गरिएको चामल गुणस्तरयुक्त भएको दाबी गरेको हो ।
वैशाख १६ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबमा परीक्षण गर्दा चामल गुणस्तरयुक्त भएको नतिजा आएको गाँउपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।
गाँउपालिकाले खाद्य संस्थान विराटनगरबाट चामल खरिद गरी वितरण गरेको र राहतमा चामल बुझेकाहरूले भने जस्तो चामलमा प्लाष्टिकको अंश ल्याब परीक्षणमा क्रममा नभेटिएको गाँउपालिकाका प्रशासकीय अधिकृत कृष्णबहादुर कासीले बताउनुभयो ।
गाँउपालिकाले ४ हजार ७ सय व्यक्तिलाई राहत स्वरूप सात सय क्विण्टल चामल वितरण गरेको थियो ।
चामल सेवन गरेका अधिकांशमा पेट दुख्ने र झाडाको समस्या देखिएपछि राहत बुझेकाहरूले वैशाख १५ गते चामल गुणस्तरहीन भएको र स्वास्थ्य समस्या निम्त्याएको भन्दै गाँउपालिकालाई चामल फिर्ता गरेका थिए ।




