INSEC Online

📅 २०८३ जेष्ठ २१

संविधान संशोधनको विरोधमा आज पनि प्रदर्शन

सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर ३० गते अर्घाखाँचीमा सबै पार्टीका नेताहरूले अन्तिम सम्म उक्त प्रस्तावका विरुद्धमा लडाईँ लड्ने प्रतिबद्धता व्याक्ति गरेका छन् ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार संयुक्त सङ्घर्ष समितिको आह्वानमा सभाको आयोजना गरिएको थियो ।

photo20161215arghakhanchi

सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले जनताको भावना विपरित आएको सरकारको प्रस्तावविरुद्ध अन्तिमसम्म लडाईँ लड्ने बताए । उनले यो आन्दोलनमा जनताले अन्तिमसम्म नेतालाई साथ दिन आग्रहसमेत गरे । कार्यक्रममा नेपाली काङ्ग्रेसका चन्द्र भण्डारी, नेकपा एमालेका दलबहादुर राना र सभासद दुर्गा शार्माले सम्बोधन गरेका थिए ।

सयुक्त सङ्घर्ष समितिले पुस १ गतेदेखि ३ गतेसम्म सबै शैक्षिक संस्थासहित आम हड्ताल र जिल्ला बन्दको घोषणसमेत गरेको छ ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार सरकारले संसदमा संविधान संशोधन प्रस्ताव पेश गरेको विरोधमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले संयुक्त रूपमा आह्वान गरेको बन्दले मङ्सिर ३० गते प्यूठान जिल्लाको जनजीवन प्रभावित भएको छ ।

संविधान संशोधनमार्फत ५ नम्वर प्रदेशलाई टुक्र्याउने गरी सरकारले संसदमा प्रस्ताव गरेको विरोधमा प्यूठान जिल्ला बन्द गरिएको आन्दोलनरत दलहरूले जनाएका छन् । बन्दका कारण जिल्लाबाट बाहिरिने यातायातका साधन र जिल्ला भित्र चल्ने यातायातका साधन बिहानैदेखि चल्न सकेनन् । यातायातका साधन नचल्दा गन्तव्यमा हिडेका सर्वसाधारण बिच बाटोमा अलपत्र परेका थिए । प्रहरी, पत्रकार र एम्बुलेन्सका साधन भने चलेका थिए ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि मानवकुमार वलीका अनुसार ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरू टुक्र्याउन लागेको विरोधमा रोल्पा, प्यूठान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको चार दिने बन्दको पहिलो दिन मङ्सिर ३० गते रोल्पामा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ ।

photo20161215rolpa

नेपाल मगर सङ्घ जिल्ला शाखा रोल्पाले ४ बजेसम्म गर्ने भनेको कार्यक्रम साँढे चार बजेसम्म लम्बिएकोमा कोणसभाका लागि स्टेज खाली गराउनुपर्ने अनुरोध गर्दा सशस्त्र प्रहरीले नेपाली काङ्ग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री ‘तोराबोरा’लाई लाठी प्रहार गरेपछि झडप सुरु भएको आन्दोलनकारीले जानकारी दिएका छन् ।

झडपमा परी १२ जना आन्दोलनकारी र डीएसपी रामप्रसाद घर्तीसहित तीन जना प्रहरी घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले नौ राउण्ड अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।

आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी प्रहार गरी दमन गरेको नेपाली काङ्ग्रेस रोल्पाका सभापति एवम् सांसद् अमरसिङ पुनले बताए ।

राजतन्त्र अन्त्य गर्दाको आन्दोलनमा पनि प्रहरीले दमन गरेको भएता पनि जनताको आन्दोलन सफल भएको स्मरण गर्दै सांसद पुनले प्रहरीले आन्दोलन दबाउन प्रयास गरेपनि जनताको आन्दोलन सफल हुने दावी गरे ।

समाचार सङ्कलनमा झडप भएको क्षेत्रमा पुगेका सञ्चारकर्मीहरूलाई पनि प्रहरीले लाठी प्रहार गरी आफ्नो स्वतन्त्र पेशा माथि दमन गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रोल्पाले खेद प्रकट गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत आज रोल्पा र प्यूठान बन्द गरिएको थियो । रोल्पामा आज साँझ राँके जुलुस समेत प्रदर्शन गरिएको छ । भोलिदेखि आगामी पुस ३ गतेसम्म ५ नम्बर प्रदेशका १२ ओटा पहाडी जिल्लाहरू बन्दको घोषणा गरिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार ५ नम्बर प्रदेशलाई अलग्याने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनको विरोधमा संयुक्त युवा विद्यार्थी सङ्घर्ष समितिले मङ्सिर ३० गते नमुना जनमत सङग्रह गरेको छ ।

photo20161215gulmi

सङ्घर्ष समितिले प्रदेश नं ५ टुक्र्याउने र नटुक्र्याउने विषयमा गुल्मेली जनताको विचार बुझ्न सो जनमत सङ्ग्रह गरिएको समितिका सदस्य विद्यार्थी नेता शोभाखर गिरीले बताए ।

जनमत संङग्रह अन्तरगत आज भएको मतदानमा करिव ५ हजार गुल्मेलीले आफ्नो मत खसालेको र मत गणना गरी पुस १ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाउने तयारी रहेको गिरीले बताए ।

मङ्सिर १४ गतेदेखि आन्दोलन र जिल्ला बन्द जारी छ । १६ दिन सम्मको जिल्ला बन्दले दैनिक जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ ।

photo20161215gulmi1

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार संविधान संशोधनको प्रस्ताव फिर्ता नलिएको भन्दै ५ नं प्रदेशका जनताले आन्दोलनलाई थप शसक्त पार्दै लगेका छन् ।

संयुक्त सङ्घर्ष आन्दोलन समिति कपिलवस्तुले मङ्सिर ३० गते जिल्लाका विभिन्न नौ स्थानमा मसाल जुलुश प्रदर्शन गरेको छ ।

प्रेमनगर भटेनी, चन्द्रौटा, इमिलिया, गोरुसिङ्गे, वनगाई, पिपरा, ओदारी, कोपवा, तौलिहवालगायतका स्थानमा साँझ ५ बजे एकै साथ मसाल जुलुस प्रदर्शन गर्दै संविधान संशोधन प्रस्तावको विरुद्ध विरोध सभा समेत सम्पन्न गरेका छन् ।

अन्य

भिडियो