लकडाउन उल्लङघन गर्दै ट्रयाक्टर चलाइरहेका खड्ग नगरपालिका–६ बीरपुरका नसिम अन्सारीलाई प्रहरीको कुटाइबाट जोगाउन खोज्दा उहाँकी आमा ६५ वर्षीया जैनब कुजर्नीको वैशाख १ गते मृत्यु भएको छ ।
नसिममाथि लाठी प्रहार गर्ने प्रहरीलाई रोक्न जानु भएकी उहाँकी आमा घटनास्थल जाँदै गरेका बेला धक्का लागेर लडेपछि बेहोस हुनु भएको एक प्रत्यक्षदर्शीले बताउनु भयो । उच्च रक्तचाप र दमको विरामी कुजर्नी बेहोस भएर ढलेपछि तत्कालै कल्याणपुरस्थित एड्भान्स अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको र चिकित्सकले मृत घोषणा गरेको मृतककी भाञ्जी खडक नपा–७ की जमिला खातुनले बताउनु भयो ।
हेल्मेट समेत नलगाएर खडक नगरपालिका–८ मा मोटरसाइकल चलाई रहेका तीन जनालाई रोक्दा चैत ३० गते साँझ ईलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत एक असई युवाहरुबाट कुटिएका थिए । कुटपिट गरेको आरोपमा दुई जना फरार भएपनि एक जना गिरफ्तार भएका छन् ।
कुटपिटमा संलग्न आरोपितहरूको खोजी गर्दै ईलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर धर्मराज मुडभरीको नेतृत्वमा पाँच जनाको टोली बिरपुर गाउँ खटिएको थियो ।
बिरपुर टोल पुगेको प्रहरीले गाउँटोलमा लकडाउन कार्यान्वयन भई नरहेको देखेपछि घरबाट बाहिर सडकमा समूह–समूहमा बसिरहेका मानिसहरुलाई घर पठाई रहेका बेला लकडाउन उल्लङ्घन गर्दै ट्रयाक्टर चलाइरहेका नसिम अन्सारीमाथि टोलीका एक प्रहरीले लाठी प्रहार गरे ।
नसिमलाई प्रहरीको कुटाईबाट जोगाउन गएकी आमा कुजर्नी धक्काले लडेर बेहोस भई ढलेको जेठा छोरा अब्दुला कमरले बताउनु भयो । कमरका अनुसार कान्छा भाई नसिम घर प्रयोगका लागि ट्रयाक्टरबाट बालुवा ल्याई रहेका थिए ।
मृतकको शरिरमा कुनै चोटपटक नलागेको बताएको अस्पतालका चिकित्सकहरुले कुजर्नीलाई मृत घोषणा गरेपछि शवको पोस्टमार्टम नगरी अन्तिम संस्कारका लागि छोराहरुले वैशाख १ गते अपरान्ह घर लगेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईले समेत कालगतिले मृत्यु भएका कारण पोस्टमार्टम जरुरी नभएको बताउनु भयो ।
लकडाउन उल्लघङ्न नगरी घरमा बस्न सम्झाई रहेका बेला रक्तचापका कारण कुजर्नी जमिनमा ढलेर बेहोस भएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले वैशाख १ गते प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।