INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ०७६ चैत २५ गतेसम्ममा कोरोना भाइरससँग लड्न ४ हजार १ सय १५ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ । प्रदेशभरी ४ सय ३२ वटा आइसोलेशन बेडको व्यवस्था गरिएको छ । मोरङ सुन्दरहरैचा प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको नौ ओटा वेड मापदण्ड अनुसार नभएकाले बन्द गरिएको छ । प्रदेशभरी चैत २५ गतेसम्म ५ सय ७४ थान पीपीई (पर्सनल प्रोटेक्सन एक्युप्मेण्ट) व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ । प्रदेश १ मा यस अवधिमा ९० जनाको स्वाब परीक्षण गरिएको छ । जसमा ८५ जनाको रिपोर्ट नेगेटिभ र पाँच जनाको रिपोर्ट आउन बाँकी छ । चैत २५ गतेसम्म प्रदेश १ मा ५ सय ६६ जना पुरुष र ४७ जना महिला गरी ६ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा २ हजार ३ सय ४५ जना पुरुष र ५ सय ४० जना महिला गरी २ हजार ८ सय ८५ जनालाई राखिएको छ । प्रदेश १ मा ४ सय ३२ वटा आइसोलेसन वेडको निर्माण गरिएको छ । प्रदेशभरीमा ५ जना महिला र १० जना पुरुष गरी १५ जना आइसोलेशनमा भर्ना भएका छन् । चैत २५ गतेसम्म आठ जना महिला र १३ जना पुरुष गरी २१ जना डिस्चार्ज भएका छन् ।

मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत २५ गतेसम्म मोरङमा १ सय ३८ जना पुरुष र ६ जना महिला गरी १ सय ४४ जनालाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरीले जनाएको छ । त्यसैगरी ९ सय ९० जना पुरुष र २ सय १७ जना महिला गरी १ हजार २ सय ७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा चैत २५ गते सम्म ७५ ओटा फिवर क्लिनिक मार्फत ६ सय २३ जना महिला र ६ सय ८० जना पुरुष गरी १ हजार ३ सय ३ जनाको जरो मापन गरिएको छ । मोरङमा १५ जनाको स्वाब परीक्षण गरिएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ र चार जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेश १ सरकारले स्थापना गरेको कोभिड-१९ उपचार केन्द्र कोशी अस्पताललाई प्रदेशमा कार्यरत आठ ओटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले चैत २५ गते १३ लाख ३० हजार ७ सय १५ रुपियाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । गैरसरकारी संस्थाहरूको प्रतिनिधित्व गर्ने सेभ द चिल्ड्रेन प्रदेश १ का वरिष्ठ परियोजना प्रबन्धक हरिवोल बजगाईले स्वास्थ्य सामग्रीहरू सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गर्नुभयो । मन्त्री घिमिरेलाई ७ लाख ७६ हजार १ सय ७३ रुपियाँ बराबरको ३० थान वेड, ४ लाख ६४ हजार ५ सय ४२ रुपियाँ बराबरको व्यक्तिगत सुरक्षा उपकरण, ६० हजार रुपियाँ बराबरको कार्डिक मोनिटर, ३० हजार रुपियाँ बरारबरको पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ ।

विराटनगरका युवाहरूले कोरोना भाइरस सङ्क्रमणको शङ्कास्पद बिरामीको परीक्षणका लागि कोरोना टेस्टिङ बुथ तयार गरेका छन् । विराटनगर महानगरपालिकाको आग्रहमा युवाहरूले दुई ओटा टेस्टिङ बुथ तयार गरेका हुन् । टेस्टिङ बुथ महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गर्नेछ । दुई दिन समय लगाएर बुथ तयार गरिएको निर्माणका खटिएका युवा रिसभ आचार्यले जानकारी दिनुभयो ।

राहत वितरणका नाममा सामाजिक सञ्जालमा तस्विर हाल्ने क्रम बढेपछि कानेपोखरी गाउँपालिकाले राहत वितरणको फोटो सार्वजनिक नगर्न अनुरोध गरेको छ । चैत २५ गते सूचना जारी गर्दै गाउँपालिकाले राहत वितरण गर्दा खिचिएको फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रचार नगर्न आग्रह गरेको हो । गाउँपालिकाले राहत वितरण गर्दा खिचिएका फोटो तथा भिडियोलाई संस्थागत प्रयोगमा मात्र ल्याउन आग्रह गरेको छ ।

रङ्गेलीनगर प्याव्सनले रङ्गेली नगरपालिकाको विपद् कोषमा १ लाख रुपियाँ रकम जम्मा गरेको छ । प्याव्सन रङ्गेली नगर संयोजक जीवन खनाल र प्याव्सन मोरङ उपाध्यक्ष भक्तराज सुब्बाले रङ्गेली नगरपालिका प्रमुख दिलिप बगडियालाई १ लाख ५ हजार रुपियाँ उपलब्ध गराउनु भएको छ ।

विराटनगर महानगरपालिकाले वडा -१६ का विपन्न समुदायका १ हजार ५ परिवारलाई राहत वितरण गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुली, उपमेयर इन्दिरा कार्की, वडाध्यक्ष मनोज सुब्बालगायतले राहत हस्तान्तरण गर्नुभएको थियो । प्रतिपरिवार १२ किलो चामल, डेढ किलो दाल, दुई किलो आलु, एक किलो नून, आधा लिटर खाने तेल र हात धुने साबुन वितरण गरेको वडाध्यक्ष मनोज सुब्बाले जानकारी दिनु भयो ।

जहदा गाउँपालिका-४ का लकडाउन प्रभावित ५ सय २ परिवारलाई चैत २५ गते १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ केजी नुन र दुई प्याकेट दूधसहित साबुन वितरण गरिएको वडाध्यक्ष जयनरथ गिरीले जानकारी दिनुभयो । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा राहतस्वरूप खाद्य वितरण कार्य सुरु भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुन्दरहरैंचा मोरङले नगरपालिकाको विपद् व्यवस्थापन कोषलाई राहत हस्तान्तरण गरेको छ । प्याब्सन नगर समितिले ५ लाख १५ हजार ५ सय ५५ रुपियाँ बराबरको १२ हजार ६ सय ३८ किलो चामल हस्तान्तरण गरेको जनाएको छ ।

इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार इलामको सिङप्रिmङमा रहेको क्वारेन्टाइनबाट एक युवक चैत २५ गते बिहान २ बजे फरार भएका छन् । इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका-३, सुलुबुङका सरोज अधिकारी फरार भएको अस्पतालले जनाएको छ । क्वारेन्टाइनको झ्यालबाट फाल हानेर फरार भएको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले बताउनुभयो । भारतको सिलिगुडीबाट आएका अधिकारीलाई गत २३ गते क्वारेन्टाइनमा राखिएको इलाम नगरपालिकाले जनाएको छ । यो क्वारेन्टाइनमा रहेका १० जनाको सुरक्षार्थ १२ जना प्रहरी परिचालन गरिएपनि प्रहरीलाई छक्याएर उनी फरार भएको सूचना अधिकारी  शाहले बताउनुभयो । सुलुबुङ घर भएपनि अधिकारी कहिले इलाम नगरपालिका-५, बिब्ल्याँटेतिर, कहिले अरूतिरै बस्ने गरेको वडा-५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार चैत २५ गतेसम्म धनकुटामा नौ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरूमा कुनै समस्या नदेखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले बताउनु भयो । धनकुटामा विदेशबाट आएका १ सय ५४ जना भएपनि नौ जना बाहेकलाई १४ दिन क्वारेन्टाइनमा राखी घर पठाएको श्रेष्ठले बताउनुभयो ।

कोरोना भाइरस फैलन नदिनका लागि धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य संस्थालगायत सामाजिक संस्थाहरूलाई सूर्यबहादुर थापा प्रतिष्ठानले स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेको छ । प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री संविधान सभा सदस्य सुनिलबहादुर थापाले चैत २५ गते एयर डाईनेष्टिकको हेलिकोप्टरबाट धनकुटा जिल्लामा कोरोना विरूद्धका स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो । प्रतिष्ठानबाट आइसोलेशन एण्ड क्वारेन्टाइन धनकुटा औद्योगिक ग्राम, धनकुटा अस्पताललगायत ११ ओटा स्वास्थ्य संस्थाहरूका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ७४ थान, एम्बुलेन्स चालकका लागि २२ थान पञ्जा, २२ थान बाकस, सेनिटाइजर ३० थान र हृयाण्ड वास ७२ थान वितरण गरेको प्रतिष्ठानका अध्यक्ष थापाले बताउनु भयो । महालक्ष्मी नगरपालिकाले नगरबासीका लागि आवश्यक पर्ने  नियमित औषधिहरू घरघरमै उपलब्ध गराउने भएको छ । कोरोना सङ्क्रमणबाट जोगिन सरकारले लगाएको लकडाउनले स्थानीयलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । सुगर, प्रेसर, मुटु, बाथ लगायत रोगका औषधि नगरक्षेत्रमा नपाइने भएकाले बाहिरबाट ल्याएर घरघर पुर्‍याउने व्यवस्था मिलाएको नगरप्रमुख पर्शुराम नेपालले बताउनुभयो । औषधि सकिनु साताअघि बिरामीका परिवारले डाक्टरले दिएको प्रेस्क्कीप्सन र पैसा नगरपालिकामा बुझाउनु पर्नेछ । सोही अनुसार नगरपालिकाले औषधि ल्याएर वडा कार्यालयमार्फत घरमै औषधि पुर्‍याइने नगरपालिकाका कार्यकारी अधिकृत सूर्य सुवेदीले बताउनु भयो ।

धनकुटाका सुस्तमनस्थितिका विद्यार्थीहरूलाई कोरोना भाइरसबाट बच्नका लागि धनकुटा उद्योग बाणिज्य सङ्घले सुरक्षित स्वास्थ्य सामाग्री वितरण गरेको छ । धनकुटा उत्तरपानीका सुस्तमनस्थिति स्रोत केन्द्र आधारभूत विद्यालयका सुस्तमनस्थितिका विद्यार्थीहरूलाई स्वास्थ्य सम्बन्धी सुरक्षित सामग्री वितरण गरेको हो ।

झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत २५ गते सम्मको अवधिमा झापाका १५ ओटा पालिकाले २३ स्थानमा क्वारेन्टाइन निर्माण गरेका छन् । ६ सय ८ जना क्षमताको क्वारेन्टाइन झापामा निर्माण गरिएको छ । चैत २४ गतेसम्म झापमा १ सय ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा राखिएकाको सङ्ख्या १ हजार ४१ जना रहेको छ । आठ वेडको आइसोलेशनमा सात जनालाई राखिएको छ । सात जनाको स्वाब परीक्षण भएकोमा ६ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिर्पोट आउन बाँकी छ । झापामा ३० जना डाक्टर, १ सय ३३ जना नर्स, २२ जना ल्याब टेक्निसियन, १ सय २१ जना सहयोगी, ८७ ओटा सुरक्षा दल र ६३ जना स्वयम्सेवक खटाइएको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरूमध्ये आधाजति चैत २५ गते घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि घर फर्काएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । कोभिड-१९ को लक्षण देखा नपरेका कारण सरकारले तोके बमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर चैत २५ गते १ सय २ जना घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले झापामा स्थानीय तहले बनाएका २२ ओटा क्वारेन्टाइनमा २ सय ४० जना व्यक्ति बस्दै आएका थिए । आधाजति फर्किएपछि अब १ सय ३८ जना क्वारेन्टाइनमा रहेका छन् ।

झापामा भारतलगायत विदेशी मुलुकबाट चैत २५ गतेसम्म ५ सय ९४ जना स्वदेश फर्केका र उनीहरूका परिवारका सदस्यसहित १ हजार ३१ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला समन्वय समितिको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

झापामा आठ नगरपालिकासहित १५ ओटा स्थानीय तहले ४५ हजार परिवारलाई राहत वितरण गर्ने भएको छ । बिर्तामोड नगरपालिकामा ६ हजार ८ सय विपन्न परिवार रहेको बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो । झापा गाउँपालिकामा ५ हजार विपन्न परिवार रहेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनु भयो । भद्रपुर नगरपालिकामा ४ हजार २ सय परिवार विपन्न रहेको र शिवसताक्षी नगरपालिकामा पनि ४ हजार घर परिवार विपन्न रहेको बताइएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार ज्याला मजदुरी गरेर गुजारा चलाउनेका लागि अहिले समस्या भएको छ । उनीहरूलाई लक्षित गर्दै नगरले पहिलो चरणमा राहत वितरण गरेको हो । वडाको सिफारिसमा अहिले कनकाई नगरपालिकाले राहत वितरण गरिरहेको छ । अध्यक्ष पोखरेलले भन्नुभयो – यो राहतको पहिलो चरण हो । हामीकहाँ भएका विपन्न परिवारहरू अझैं थपघट हुन सक्छन् । हल्दीवारी गाउँपालिकाले भने आफ्नो गाउँपालिका भित्र तत्काल हातमुख जोड्न नै समस्या भइहाल्ने परिवार नभएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले हामी कोरोना भाइरस संक्रमणको पहिलो चरण पूरा गरेर दोस्रो चरणमा मात्रै प्रवेश गरेका छौं, यो तीन/चार चरणसम्म जान सक्छ, त्यसका लागि हामी पूर्व तयारीमा जुटेका छौं ।

झापाका स्थानीय तहले विपन्न परिवारको सङ्ख्या हेरेर न्यूनतम एक सातादेखि एक महिनासम्मका लागि राहत सामग्री उपलब्ध गराएका छन् । प्रतिपरिवार ४ केजीदेखि ५० केजीसम्म विपन्न परिवारका लागि राहत सामग्री उपलब्ध गराउँदै आएको पाइएको छ । दमक नगरपालिकाले परिवार हेरेर १० केजीदेखि ५० केजीसम्म राहतका सामग्री उपलब्ध गराउँदै आएको दमक नगरप्रमुख रोमनाथ ओलीले बताउनुभयो । बिर्तामोड नगरपालिकाले चारदेखि ३० केजीसम्म चामल वितरण गरिरहेको छ । नगरले एकद्वार प्रणाली अपनाएर प्रतिव्यक्ति चारकेजी चामल बढीमा ३० केजीसम्म, दुई जनाको परिवारलाई आधा केजी दाल, त्यो भन्दा बढी परिवारसङ्ख्या भए एक केजी दाल त्यस्तै एक केजी नून समेत प्रदान गर्दै आएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले लकडाउनको अवधि बढेसँगै आफ्ना सदस्यहरूलाई आर्थिक सङ्कट हुन नदिन निर्ब्याजी सापटी रकम बढाएर ५ हजार रुपियाँ पुर्‍याएको छ । यसअघि सदस्यलाई २ हजार रुपियाँ सापटी दिने निर्णय गरेकोमा सहकारीको सञ्चालक समितिका उपलब्ध पदाधिकारीहरूको चैत २५ गते बिहान काँकरभिट्टामा बसेको बैठकले सापटीको दायरा बढाउने निर्णय गरेको थियो ।

एनएमसीले कोरोनाबाट चौतर्फी सङ्कट निम्तिरहेको बेला विपन्न समुदायलाई राहत दिन सहयोग पुगोस् भनेर झापाका नगरपालिका र गाउँपालिकाहरूलाई चामल दिने निर्णय गरेको छ । मेचीनगर र विर्तामोडलाई ४० क्वीन्टलका दरले र अन्य पालिकाहरूलाई २० क्वीन्टलका दरले चामल सहयोग दिने भएको हो ।

तेह्रथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार चैत २५ गतेसम्म जिल्लामा १ सय २० जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको छ ।  हालसम्म २६ जना क्वारेन्टाइनमा र १ सय १३ जनालाई होम क्वारन्टाइनमा राखिएको छ । म्याङलुङ नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा ११ जना, छथर गाउँपालिकामा २० जना होम क्वारेन्टाइनमा, फेदाप गाउँपालिकामा १५ जना क्वारेन्टाइनमा र १ सय १३ जना होम क्वारेन्टाइनमा राखिएको । मेन्छ्यायेम गाउँपालिकामा दुई जना र आठराई गाउँपालिकामा सात जना क्वारेन्टाइनमा राखिएको छ । जिल्ला अस्पतालमा निर्माण गरिएको १० वेडको आइसोलेशन कक्ष निर्माण गरिएकोमा दुई जनालाई राखिएको छ । उनीहरूको स्वाब परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकोमा नेगेटिभ रिपोर्ट आएको छ । क्वारेन्टाइनमा राखिएका दुई जनालाई घर पठाइएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमित तथा संक्रमण आशङ्का गरिएका बिरामीको उपचार तथा व्यवस्थापनका लागि फेदाप गाउँपालिका र आठराई गाउँपालिकामा गाउँपालिकाले कोष स्थापना गरेका छन् । फेदाप गाउँपालिकाको चैत २० गतेको कार्यपालिका बैठकले १० लाख रुपियाँ, आठराई गाउँपालिकाले १५ लाख रुपियाँ र मेन्छ्यायेम गाउँपालिकामा ८ लाख रुपियाँको कोष स्थापना गरिएको छ ।

पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार चैत २५ गते पाँचथरमा ११ महिला र ४५ जना पुरुष गरी ५६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । चैत २५ गते फिवर क्लिनिक मार्फत एक महिला र दुई जना पुरुष गरी जम्मा तीन जनाको ज्वरो मापन गरिएको छ । हालसम्म तीन महिला र ६ जना पुरुष गरी नौ जनाको स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

फालेलुङ गाउँपालिकाले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गरेको छ । कोषमा ४५ लाख रुपियाँ जम्मा गरिने सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले बताउनु भयो । कोरोना भाइरस रोकथाम गर्न गरिएको लकडाउनबाट जोखिममा परेका लक्षित परिवारलाई राहत उपलब्ध गराउन कोष स्थापना गरिएको अधिकृत चौहाने जानकारी दिनुभयो । फिदिम नगरपालिका- ७ ले ५० घरपरिवारलाई  १० देखि २५ केजीसम्म चामल, तेल, दाल र नुन वितरण गरेको सो वडाका अध्यक्ष गोपाल गुरुङले बताउनु भयो । पाँचथर उद्योग वाणिज्य संघले ‘खाद्यान्न बैंक’ मा चैत २५ गते वन पैदावर व्यावसायी सङ्घले ७ सय केजी चामल, तीन कार्टुन तेल र ७० केजी नुन जम्मा गरेको संघका अध्यक्ष दीपक नेपालले बताउनु भयो ।

व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) साथै थर्मल गन थोरै मात्र उपलब्ध हुँदा बिरामीहरूको स्वास्थ्य परीक्षणमा समस्या आएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । तेस्रो चरणको लकडाउन थप भएसँगै दैनिक उपभोग्य वस्तुको अभावले विपन्न मजदूरहरूको दैनिकी कष्टकर बन्दै गएको छ ।

ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार चैत २५ गतेसम्म जिल्लामा निर्माण गरिएको १ सय ७४ बेड क्षमताको क्वारेन्टाइनमा ११ जनालाई राखिएको छ । सिरीजंघा गाउँपालिकामा आठ जना, फक्ताङलुङ गाउँपालिकामा दुई जना र सिदिङ्वा गाउँपालिकामा एक जना गरी ११ जनालाई राखिएको छ । जिल्लामा १४ बेडको आइसोलेशन वार्ड निर्माण गरिएको छ । यहाँका एक नगरपालिकासहित आठ ओटा गाउँपालिकामध्ये सिरीजङ्घा गाउँपालिकामा चैत २० गते ६ जना र २१ गते थप दुई जना गरी आठ जनालाई राखिएको हो । सिदिङ्वा गाउँपालिकामा चैत १९ गते र फक्ताङलुङ गाउँपालिकामा चैत १७ गतेदेखि राखिएको हो । यसअघि चैत १२ गते फुङलिङ नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको क्वारेन्टाइनमा राखिएका तीन जनालाई चैत २० गते छाडिएको थियो । क्वारेन्टाइनमा राखिएका ११ जना नै पुरुष रहेका छन् । चैत २५ गते तीन जनाको स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । जिल्लाबाट पहिलो पटक स्वाब पठाइएको हो ।

जिल्लाको फुङलिङ नगरपालिका-४ र ७ ले वडाका आर्थिक अवस्था कमजोर परिवारलाई चैत २५ राहत वितरण गरेको छ । चार जनाभन्दा कम सङ्ख्या भएको परिवारलाई १५ केजी चामल, एक केजी नुन, दुई लिटर तेल वितरण गरेको छ । चार जनाभन्दा बढी सङ्ख्याको परिवारलाई २५ केजी चामल वितरण गरेको छ । नगरपालिका भित्रका वडा नं. २, ३, ९ र ११ बाहेक बाँकी सात वटा वडाले राहत वितरण गरेका छन् । जिल्लाका नौ ओटै स्थानीय तहले आर्थिक अवस्था कमजोर परिवारको तथ्याक सङ्कलन अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । स्थानीय तहमा खुलेको बैङ्कका शाखामा राहत कोष खोलेर रकम जम्मा गर्न थालेका छन् ।

ताप्लेजुङ र पाँचथर सीमा जोडिएको काबेली नदीमा चैत १३ गते हेल्थ डेस्क स्थापना गरिएको थियो । चैत २४ गतेसम्म ४ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेको जिल्ला प्रशासन कार्यालयले चैत २५ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तीमध्ये ताप्लेजुङमा प्रवेश गर्ने २ सय ४४ जना र यहाँबाट बाहिरिने २ सय ४३ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । उता चैत १७ गते संखुवासभा, ताप्लेजुङको सीमा जोडिएको जिल्लाको मैवाखोला गाउँपालिका-४ मिल्केमा स्थापित हेल्थ डेस्कबाट १४ महिला र ४७ जना पुरुष गरी ७१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । यसैगरी जिल्लाकै सिदिङमा गाउँपालिका-१ कालीखोलामा राखिएको हेल्थ डेस्कमा दुई जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको छ । कालीखोला पाँचथरको च्याङथापु र भारतको सिक्किमसँग सीमा जोडिएको छ ।

सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार चैत २५ गतेसम्मको अवधिमा सुनसरीका १२ ओटा पालिकाले १३ स्थानमा क्वारेन्टाइन निर्माण गरेका छन् । जिल्लामा १ हजार २ सय ४८ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । चैत २५ गतेसम्म सुनसरीमा ३ सय ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सुनसरीमा पछिल्लो अवस्था सम्ममा शंकास्पद मानिएका ४० जनाको स्वाब टेस्ट गरिएको छ । जसमध्ये ३६ जनामा कोरोनाको सङ्क्रमण पाइएको छैन् । बाँकी चार जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

होम क्वारेन्टाइनमा राखिएकाको सङ्ख्या १ हजार १ सय ४६ जना रहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० बेडको, इटहरी अस्पतालमा चार बेड र जिल्ला अस्पताल इनरुवामा चार बेडको आइसोलेशनमा तीन जनालाई राखिएको छ । ११ जना आइसोलेशनबाट डिस्चार्ज भएका छन् । सुनसरीमा ३५ जना डाक्टर, १ सय २० जना नर्स, २५ जना ल्याब टेक्निसियन, २ सय २५ जना सहयोगी, १ हजार नेपाल प्रहरी र ४ सय सशस्त्र प्रहरी खटाइएको छ ।

प्रदेश १ का लागि कोरोना सङ्क्रमितको पहिचान गर्न प्रयोगशाला निर्माण भएको र उपचार गर्ने काम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा व्यवस्था भएको छ । व्यवस्था अनुसार आइसोलेशन बेड थप गरी कोरोना उपचारका लागि तयारी गर्ने अस्पतालले जनाएको छ ।

गढी गाउँपालिका – ४ ले चैत २५ गते ८ सय २० विपन्न परिवारलाई राहत वितरण गरेको छ । प्रति परिवार २० केजी चामल, एक केजी दाल, एक केजी नुन, एक लिटर तेल, वितरण गरेको वडाध्यक्ष रामचन्द्र महतोले जानकारी दिनुभयो ।

त्यसैगरी देवानगञ्ज गाउँपालिकाले कोरोना भाइरस विपद् व्यवस्थापनका लागि ७० लाख रुपियाँको कोष स्थापना गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिकामा विपन्नको एकीन विवरण नभएकाले राहत वितरणमा ढिलाइ भएको छ । अहिले लकडाउनका कारणले सुनसरीका किसानले उत्पादन गरेको तरकारी समेत खेतमै कुहिन थालेको छ । इनरुवा सहित जिल्लाभरी र बढी भएको काठमाडौँको कालिमाटीसम्म पुग्ने गरेकोमा लकडाउनले बजार बन्द हुनु र अन्यत्र समेत बिक्री नभएपछि ठूलो लगानीमा उत्पादन गरिएको तरकारी कुहिएर खेर जाने अवस्था आएको किसान डुमरलाल मेहताले बताउन भयो ।

सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत २५ गते सम्म सङ्खुवासभामा होम क्वारेन्टाइनमा बस्ने सङ्ख्या शून्य रहेको छ । जिल्लामा शंकास्पद व्यक्ति नभएका कारण क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्ने सङ्ख्या शुन्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिनु भयो । जिल्लामा अहिलेसम्म १ सय १५ बेडको क्वारेन्टाइन र १६ बेडको आइसोलेशन बेड तयारी अवस्थामा छन् । २५ गते जिल्ला अस्पताल खाँदबारीमा ३८ महिला र २५ पुरुषले फिवर क्लिनीकमा जरो मापन गराएको जिल्ला अस्पतालले जनाएको छ । त्यस्तै सङ्खुवासभा जिल्लामा निर्माणधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम लकडाउनकै बीच सुरु भएको छ । लक डाउनका कारण रोकिएका ठूला आयोजनालाई सरकारले काम गर्न अनुमति दिएकाले सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समझदारी पछि आयोजनाको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनु भयो ।

सरकाले ठूला आयोजनाको काम गर्न दिने बाटो खोलेपछि क्याम्पमा रहेका कामदारबाट काम सुरु गरिएको एसजेभिएन कम्पनीका कार्यकारी निर्देशक अरून धिमानले बताउनु भयो । अरुण तेस्रो आयोजना स्थलमा रहेको करिब १ हजार ५ सय कामदारले काम गर्न सुरु गरेको आयोजनाले जनाएको छ । यस अघि आयोजनामा ३ हजार भन्दा बढी कामदारहरू रहेको भएपनि कोरोनाको त्रासले धेरैजसो कामदार घर गएको निर्माण कम्पनीले जनाएको छ । आयोजनामा अधिकांश कामदार भारतीय रहेका छन् ।

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा एक महिनासम्म पुग्ने खाद्यान्य स्टक भएको उद्योग बाणिज्य सङ्घका अध्यक्ष युवराज शाक्यले जानकारी दिनु भयो । उद्योग बाणिज्य सङ्घले खाद्यान्न ढुवानीका लागि २४ गतेबाट दुई ओटा ट्रकलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमति मागेको अध्यक्ष शाक्यले बताउनु भयो ।

लक डाउनका कारण समस्यामा परेका १४ सय ४३ विपन्न तथा ज्यालादारी मजदुरलाई खाँदबारी नगरपालिकाले राहत वितरण गरेको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनु भयो । कोरोना भाइसरको सङ्क्रमण फैलिन नदिनका लागि स्थानीय तहले आ-आफ्नो क्षेत्रका नाका बन्द गरेर नाकामा स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स स्थापना गरेका छन् ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोभिड -१९ को आशङ्कामा नमूना सङ्कलनमा पठाइएका उदयपुरका सबै जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । फ्रान्सबाट आएकी युवतीसँगै कतार एयलाइन्सको विमानबाट उदयपुर आएका लिम्चुङवाङ गाउँपालिकाका युवासहित स्वाब परीक्षणमा पठाइएका जिल्लाका १३ जनाकै रिर्पोट नेगेटिभ आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार कार्यालयको टोलीले सङ्कलन गरी पठाएको १२ जना र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको टोलीले बेलका नगरपालिकामा सङ्कलन गरेका एक युवासहित १३ जनाकै रिर्पोट नेगेटिभ आएको हो । स्वाब परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकामा आठ जना, लिम्चुङवाङ गाउँपालिकाबाट चार जना र बेलका नगरपालिकाबाट १ गरी १३ जनाको पठाइएको थियो । बिरामी सबैको नतिजा नेगेटिभ आएकाले हालसम्म जिल्लामा सङ्क्रमण देखा नपरेको प्रमुख सुवेदीले बताउनु भयो ।

कोरोना भाइरस (कोभिड- १९) रोकथामका लागि प्रदेश तथा स्थानीय सरकारले गरेका कामहरूको प्रदेश स्तरीय र्सवदलीय संयन्त्रले अनुगमन गरेको छ । १ नम्बर प्रदेशका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका प्रमुख तथा प्रतिनिधिहरूको टोलीले उदयपुर जिल्लामा रहेका क्वारेन्टाइनको निरीक्षण गरी रोकथामका प्रयास बारे जानकारी लिएको थियो । नेकपा १ नम्बर प्रदेश सहइन्चार्ज सावित्री काफ्ले, १ नम्बर प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला, उदयपुर क्षेत्र नं. २ का सङ्घीय सांसद सुरेश राई, प्रदेशसभा सदस्यद्वय हिमाल कार्की र विमल कार्की लगायतको टोलीले त्रियुगा नगरपालिकाको व्यवस्थापनमा रहेको मोतिगडास्थित क्वारेन्टाइन र नेपाली सेनाको कटारी नगरपालिकास्थित बेलसोत क्याम्पमा रहेको क्वारेन्टाइनको अनुगमन गरेको थियो ।

भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार भोजपुरमा चैत २५ गतेसम्म १० जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म १९ आइसोलेशन कक्ष निर्माण गरिएको छ । जिल्लामा क्वारेन्टाइनको सङ्ख्या ३ सय १० पुगेको छ । जिल्लाभर विभिन्न चौकीहरूमा ७६ वटा हेल्थडेक्स स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरले बजार अनुगमनका क्रममा खाद्यान्नको सङ्कट नरहेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो ।

सिद्धार्थ बैङ्क शाखा कार्यालय भोजपुरले आमचोक गाउँपालिकाको कोरोना राहात कोषलाई ३० हजार रुपियाँ हस्तानतरण गरेको छ । विश्वभर महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन देशभर लगाइएको लकडाउनका कारण ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्ने मजदूर भोकै नहुन भन्दै बैङ्कले खाद्यान्न वितरणका लागि गाउँपालिकालाई ३० हजार रुपियाँको चेक गाउँपालिकाका अध्यक्ष अशोक राईलाई हस्तान्तरण गरेको सिद्धार्थ बैङ्क शाखा कार्यालय आमचोकका अप्रेशन इन्चार्ज मेघराज भारतीले बताउनु भयो ।

कोरोना नियन्त्रणका लागि भोजपुर कारागारबाट दुई जना कैदीलाई रिहा गरिएको छ । महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको विषम परिस्थितिलाई मध्येनजर गर्दै जिल्ला कारागार कार्यालय भोजपुरका दुई जना कैदी छुटेका हुन ।

कोरोना भाइरस (कोभिड- १९) को सङ्क्रमण हुन नदिन अरुण गाउँपालिकामा क्रियाशील राजनीतिक दलले गाउँपालिकासँग सीमा नाका बन्द गर्न माग गरेका छन् । चैत २५ गते बसेको गाउँपालिकामा क्रियाशील राजनीतिक दलको सर्वदलीय बैठकले विश्वव्यापीरूपमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले आफ्नो गाउँपालिकामा समेत सचेत रहने र साझा कार्यक्रम अगाडि बढाउने निर्णय गरेका हुन् ।

अन्य

भिडियो