गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालिन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माका अनुसार प्रयोगशाला व्यवस्थापन समितिले गण्डकी प्रदेशमै नमुना परीक्षणको प्रमाणिकरण सुरु गरेको छ । गण्डकी प्रदेशमा आज १८ वटा स्वाब नमुना संकलन गरि परीक्षण सुरु गरिएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लामा विदेशबाट घर फर्किएका ३८ जना अझै जिल्लाको विभिन्न स्थानमा तयार गरिएको क्वारेन्टाइन होममा रहेका छन् ।
आठ सय ७ जना मध्ये ६६ जना क्वारेन्टाइनमा बसेका थिए । २८ जना क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो । जिल्लामा विदेशबाट आएकाहरू नाम सहितको तथ्यांक पुनः अभिलेखिकरण भइरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाबाट एक जनालाई आज भरतपुरमा रहेको कोरना अस्पतालमा रिफर गरिएकोे छ । अस्पतालमा स्वास्थ्य परीक्षणपछि स्वाब परीक्षणको लागि पठाउने वा नपठाउने एकिन हुने उहाँले बताउनुभयो ।
परीक्षणकालागि गएकाहरू भरतपुर कोरना अस्पतालमा भर्ना हुने र रिपोर्टको आधारमा उनीहरू घर फिर्ता वा थप उपचार भन्ने टुंगो लाग्ने उहाँले बताउनुभयो ।
आज देवचुली नगरपालिकाले नगर क्षेत्रको विभिन्न स्थानमा किटनाशक औषधि छर्केको नगरपालिका उपप्रमुख पर्वता तिवारीले बताउनुभयो ।
जिल्लामा लकडाउनमा बजार क्षेत्रमा यसको कडाइ भइरहेको भएपनि ग्रामीण क्षेत्रमा कडाइकासाथ कार्यान्वयन हुन सकेको छैन ।
गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार बिहान र बेलुका भिड हुने तरकारी, खाद्यान्न, मेडिकल जस्ता अत्यावश्यक पसल अगाडि दुरि कायम गर्न रेखाङ्कन गरिएको छ । गोरखा नगरपालिका र प्रहरीले सदरमुकाम क्षेत्र अन्तर्गतका हरमटारी, बसपार्क लगायतका क्षेत्रमा सामाजिक दुरि कायम गर्न रेखाङ्कन गरेका हुन् ।
त्यस्तै गोरखा नगरपालिकाले सदरमुकाम क्षेत्रमा संचालित मेडिकल र पोलिक्लिनिकको अनुगमन गरेको छ । अनुगमनको क्रममा पाचँ ओटा औषधि पसल बन्द रहेको भेटिएको गोरखा नगरपालिकाका अधिकृत चेत प्रसाद अंगाइले बताउनुभयो । पसल खुले नखुलेको पुनः अनुगमन गरिने उहाँले बताउनुभयो ।
लकडाउनको बेला उपभोग्य सामाग्री सहज बनाउने नगरपालिकाले जनाएको छ ।
कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार आज साँझसम्ममा कास्कीमा १० जनाको नमुना संकलन गरिएको छ र रिर्पोट भोली बिहानै आउँछ ।
सरकारले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने भनेतापनि कास्कीमा लागू हुन सकिरहेको छैन । केही संस्था वा युवाहरुले आफ्नै ढंगबाट राहत वितरण गरिरहेका छन् ।
कास्कीको मादी गाउँपालिकाले लकडाउनका कारण प्रभावित विपन्न सात सय परिवारलाई राहत सामग्री दिने तयारी गरेको छ । गाउँपालिकाले पालिकाभित्रका विपन्न परिवारको सूची तयार गरी राहतस्वरुप २५ किलोग्राम चामल, तेल, नुन, दाललगायत रु दुई हजार बराबरको राहत वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाउँपालिकाको क्वारेन्टाइनमा हाल कोही पनि रहेका छैनन् ।
अन्नपूर्ण गाउँपालिकाले पनि राहत वितरणका लागि नाम संकलन गरिरहेको अध्यक्ष युवराज कुंवरले जानकारी दिनुभयो । कुंवरका अनुसार गाउँपालिकाको क्वारेन्टानमा हाल १२ जना रहेका छन् ।
रुपा गाउँपालिकाको चैत्र २३ गतेको कार्यपालिका बैठकबाट भोली राहत कोष खडा गर्ने निर्णय गरेको अध्यक्ष नवराज ओझाले बताउनुभयो ।
उहाँका अनुसार वडाबाट नाम लिने काम भैरहेतापनि तत्कालका लागि प्रत्येक वडामा १२ बोरा चामल अत्यावश्यक परेका वितरण गर्ने गरि पठाइएको छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ्गका अनुसार वडा तहबाट अति विपन्न परिवारको नामवाली संकलन भैरहेको छ । गाउँपालिकाले तत्कालका लागि दाल, चामल, नुन, मसला र साबुन प्रदान गर्ने तयारी गरेको गुरुङ्गले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रत्येक वडाबाट राहतका लागि नामसंकलन गरिहरहेका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो । महानगरले चैत्र २५ गते भित्रमा सबैवडामा राहत वितरण गरिसक्ने उहाँको भनाइ थियो । सरकारले एक स्थानिय तहबाट अर्को स्थानिय तहमा प्रवेश रोक लगाएपछि कास्कीमा पनि त्यसलाई कडाइका साथ लागू गरिएको जानकारी जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले दिनुभयो ।
पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार आज आठ जनाको स्वाब परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पर्वतमा लकडाउनलाई थप कडाइ गरिएको छ । सरकारको निर्णयको कार्यान्वयन गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पर्वतका सातवटै स्थानीय तहको सिमा क्षेत्र र छिमेकी जिल्ला बागलुङ, कास्की, म्याग्दी र स्याङजाका सिमा क्षेत्रमा पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा लकडाउनलाई व्यवस्थित बनाउने निर्णय भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
बागलङु जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार बागलुङ नगरपालिकाकी ६५ वर्षीय कोरोना सङ्क्रमित महिलाको प्रत्यक्ष सम्पर्कमा रहेका २२ जनाका व्यक्तिहरुको फलोअप गर्दा निजहरुको अवस्था सामान्य रहेको छ ।
विभिन्न नगरपालिका तथा गाँउपालिकामा विभिन्न वडाहरुमा रहेका मजदुर, सिमान्तकृत वर्ग आदिलाई नियमित रुपमा राहत वितरण भैरहेको बताउनुभयो ।
विभिन्न नगरपालिका तथा गाँउपालिकामा विभिन्न देशबाट आएका करिब ८१५ जनालाई नियमित फलोअप गरी होम क्वारेन्टाइनमा बसिरहन लगाएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
बडीगाड गाँउपालिकाले आफ्नो गाँउपालिका भरी कुनै पनि मानिसलाई आवत जावत गर्न निषेध गरेको छ र कुनै मानिस आएको थाहा पाएमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ ।
बडीगाड गाँउपालिकामा रहेको क्वारेन्टाइन खर्वाङमा भारतबाट आएका एक जना र भीमगिठेमा पोखरा र बागलुङबाट आएका २ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
बडीगाड गाँउपालिकाले आफनै श्रोतबाट पीपीइ खरिद गरि ७ वटा स्वास्थ्य चौकी ३ वटाका दरले ७ वटा सामुदायिक इकाइमा ११ वटाका दरले पीपीइ साथै सेनीटाइजर समेत वितरण गरेको छ ।
काठेखोला गाँउपालिकाले आफनै श्रोतबाट पीपीइ खरिद गरि ७ वटा स्वास्थ्य चौकी ३ वटाका दरले एकवटा सामुदायिक इकाइमा २ वटा दरले पीपीइ, २० वटाका दरले मास्क साथै सेनीटाइजर समेत वितरण गरेको छ ।
बागलुङ जिल्लामा समेत र्यापिड टेस्ट किट मार्फत् कोरोना भाइरसको जाँच गर्ने भनिएकोमा त्यसको तयारीका लागि स्वास्थ्य कार्यालय र अञ्चल अस्पतालमा भएका ल्याबमा कार्यरत कर्मचारीहरुको विवरण पठाइएको छ ।
तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँका स्थानीय तहले विपन्न घर परिवारलाई राहत वितरण सुरु गरेका छन् । कोरोना भाईरसको कारण सिर्जित समस्याबाट पीडित भएका विपन्न नागरिकलाई स्थानीय तहले राहत वितरण सुरु गरेका हुन् ।
सबै स्थानीय तहले विपन्न नागरिकको तथ्यांक संकलन गरि राहत वितरण सुरु गरेका हुन् । स्थानीय तहले संगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड–२०७६ बनाइ राहत वितरण सुरु गरेका हुन् ।
व्यास नगरपालिकाले ज्यालादारी मजदूर र विपन्न परिवारलाई खाद्यान्न वितरणका लागि तथ्याङ्क सङ्कलन सम्पन्न गरेको छ । प्रत्येक वडा कार्यालय मार्फत प्राप्त भएको करिब तीन हजार ५ सय विपन्न घर परिवारलाई खाद्यान्न वितरण सुरु गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
बन्दीपुर गाउँपालिकाले ६ वटै वडाका विपन्न परिवारको तथ्याङ्क संकलन गरी खाद्यान्न वितरण शुरु गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका असहाय, अपाङ्गता भएका तथा मजदूरका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
गाउँपालिकाले विभिन्न वडाका ५ सय १७ परिवारलाई खाद्यान्न वितरण गरेको छ । प्रतिपरिवार ३० किलो चामलको साथमा खाने तेल र नुन पनि वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
शुक्लागण्डकी नगरपालिकामा सबै वडाको तथ्यांक नआएपनि तथ्यांक संकलन गरिसकिएका वडामा राहत वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताउनु भयो ।
प्रति परिवारलाई ३० किलो चामल, दुइ किलो दाल, एक पोका नुन, एक लिटर खाने तेललगायत उपलब्ध गराईएको उहाँले बताउनुभयो ।
म्याग्दे गाउँपालिकाका ७ वटै वडा कार्यालय मार्फत सकलन गरिएका १ हजार ५ सय विपन्न परिवारलाई राहत वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनु भयो ।
राहत वितरणको कार्य चैत्र २५ गते भित्र सक्नेगरि काम गरिरहेको नागिलाले जानकारी दिनु भयो । अन्य स्थानीय तहले पनि विपन्नको लगत संकलन गर्दै राहत वितरण सुरु गरिएको सम्बन्धित स्थानीय तहका प्रमुखहरुले बताउनु भएको छ ।
म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार एउटा स्थानीय तहबाट अर्को स्थानिय तहमा प्रवेश गरेका नागरिकलाई पनि १४ दिन क्वारेन्टाइनमा बसाल्ने व्यवस्था जिल्लाका ६ वटै स्थानीय तहले मिलाएको छ ।
संघिय सरकारको योजना अनुसार म्याग्दीका स्थानीय तहमा रहेका ज्यालादारी तथा मजदुर परिवारको पहिचान तथा राहत वितरण थालिएको छ ।
बेनी नगरपालिकामा २ सय ६१, धवलागिरी गाउँपालिकामा एक सय, रघुगंगा गाउँपालिकामा एक सय ४३ परिवार गरी कुल पाँच सय चार परिवार राहतका लागि सूचिकृत भएका मा चार सय ४४ परिवारले राहत पाइ सकेका छन् । राहत वितरणका लाक्षितवर्गको पहिचान साथै राहत वितरण पनि सँगसँगै अगाडी बढाइएको छ ।
लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार आज दुई जनाको स्वाब सङ्कलन गरिएको र भोलि बिहान मात्रै नमूना परीक्षणको लागि पठाइने छ ।